YouVersion लोगो
खोज आइकन

1 शमूएल 2:1-26

1 शमूएल 2:1-26 NCV

तब हन्‍नाले प्रार्थना गरेर यसो भनिन्: “मेरो हृदय याहवेहमा रमाउँदछ; याहवेहमा मेरो सिङ उच्‍च पारिएको छ। मेरो मुखले मेरा शत्रुहरूमाथि सेखी गर्दछ, किनकि म तपाईंको छुटकारामा हर्षित छु। “याहवेहझैँ पवित्र अरू कोही छैन; तपाईंबाहेक अरू कोही छैन; हाम्रा परमेश्‍वरजस्तै चट्टान अरू कोही छैन। “घमण्डले फुलेर धेरै बोल्न बन्द गर, अर्थात् तेरो मुखले त्यस्तो अहङ्कारको कुरा ननिकालोस्; किनकि याहवेह परमेश्‍वर सर्वज्ञानी हुनुहुन्छ, अनि उहाँले नै सबै कामको न्याय गर्नुहुन्छ। “योद्धाहरूका धनुहरू भाँचिएका छन्, तर ठेस खाएर लड्नेहरूचाहिँ बलिया भएका छन्। एक समयमा भरिपूर्ण भएकाहरू भोजनको निम्ति आफैँलाई बेच्दछन्; तर भोकभोकै डुल्नेहरू फेरि भोकाउने छैनन्। ती बाँझी स्त्रीले सात जना बच्‍चाहरू जन्माएकी छिन्; तर धेरै छोराहरू भएकी आमा दुःखी भएकी छिन्। “याहवेहले मृत्यु ल्याउनुहुन्छ, र फेरि जीवित पार्नुहुन्छ; उहाँले नै चिहानसम्म झार्नुहुन्छ, र पुनर्जीवित पार्नुहुन्छ। याहवेहले नै गरिबी र धनसम्पत्ति पठाउनुहुन्छ; उहाँले नम्र तुल्याउनुहुन्छ, र उहाँले नै उच्‍च पार्नुहुन्छ। उहाँले गरिबहरूलाई धुलोबाट उठाउनुहुन्छ, अनि खाँचोमा परेकाहरूलाई खरानीको राशबाट उचाल्नुहुन्छ; उहाँले तिनीहरूलाई राजकुमारहरूसित बसाउनुहुन्छ, अनि तिनीहरूलाई आदरको सिंहासन दिनुहुन्छ। “किनकि पृथ्वीका जगहरू याहवेहकै हुन्; त्यही जगमाथि नै उहाँले पृथ्वीलाई बसाल्नुभएको छ। उहाँले आफ्ना विश्‍वासयोग्य सन्तहरूका खुट्टाहरूलाई सुरक्षित राख्नुहुन्छ, तर दुष्‍टहरूलाई चाहिँ अन्धकारमा चुप गराइन्छ। “कुनै पनि मानिस बलले मात्र सफल हुन सक्दैन; याहवेहको विरोध गर्नेहरू चकनाचुर पारिनेछन्, तिनीहरूका विरुद्धमा सर्वोच्‍च स्वर्गबाट गर्जनुहुनेछ; याहवेहले पृथ्वीको अन्त्यसम्म नै न्याय गर्नुहुनेछ। “उहाँले आफ्नो राजालाई सामर्थ्य दिनुहुनेछ, र आफ्नो अभिषिक्त जनको सिङ उच्‍च पार्नुहुनेछ।” त्यसपछि एल्काना आफ्नो घर रामामा गए, तर बालक शमूएलचाहिँ एली पुजारीको अधीनमा याहवेहको सामु सेवा गर्दैरहे। एलीका छोराहरू बदमास थिए। याहवेहप्रति तिनीहरूमा कुनै श्रद्धाभाव थिएन। पुजारीहरूले गर्नुपर्ने प्रचलन यस्तो थियो, कि जब कसैले बलि चढाउँथे, तब मासु पाकिरहेको बेलामा पुजारीका सेवक हातमा तीन सुइरे काँटा लिएर आउँथे; अनि त्यो काँटालाई भाँडामा अर्थात् कराहीमा डुबाउँथे। तब त्यस काँटाले उठाएर जे जति मासु निकाल्थ्यो, त्यो सबै पुजारीले आफ्ना निम्ति लिन्थे। शीलोमा बलिदान चढाउन आउने सबै इस्राएलीहरूलाई तिनीहरूले त्यसै गर्थे। त्यतिमात्रै होइन, बोसो जलाइनुअगि नै पुजारीका सेवक आएर बलिदान चढाइरहेको मानिसलाई भन्थ्यो, “पुजारीले पोलेर खानको निम्ति केही मासु देऊ; किनकि तिनले तिमीहरूबाट पकाएको मासु होइन, तर काँचो मासु मात्र लिन्छन्।” यदि त्यस मानिसले सेवकलाई यसरी भन्यो भने, “पहिले बोसो जलिसकोस्, र तिमीले चाहेको जति लैजाऊ,” तब त्यस सेवकले जवाफ दिन्थ्यो, “होइन, अहिले नै देऊ। यदि तिमीले दिएनौ भने म जबरजस्ती खोसेर लैजानेछु।” ती जवान मानिसहरूको पाप याहवेहको दृष्‍टिमा अत्यन्त ठूलो थियो; किनकि तिनीहरूले याहवेहको बलिलाई अपमान गरेका थिए। तर शमूएलचाहिँ सुती कपडाको एपोद लगाएर याहवेहको सामु सेवा गर्थे। प्रत्येक वर्ष तिनकी आमाले तिनका निम्ति एउटा सानो लबेदा बनाउँथिन्, र उनी आफ्नो पतिसित वार्षिक बलिदान चढाउन शिलोमा जाँदा त्यो तिनलाई लगिदिन्थिन्। पुजारी एलीले एल्काना र तिनकी पत्नीलाई यसरी आशीर्वाद दिन्थे, “यी स्त्रीले याहवेहसँग छोराका निम्ति प्रार्थना गरेर त्यसलाई याहवेहकहाँ अर्पण गरेको सट्टामा याहवेहले यस स्त्रीद्वारा तिमीलाई अरू सन्तानहरू देऊन्।” त्यसपछि तिनीहरू घर फर्कन्थे। अनि याहवेहले हन्‍नामाथि निगाह गर्नुभयो; उनी गर्भवती भएर तीन छोरा र दुई छोरीहरू जन्माइन्। अनि बालक शमूएल याहवेहको उपस्थितिमा बढ्दै गए। अब एली अति नै वृद्ध भइसकेका थिए। एलीले आफ्ना छोराहरूले सारा इस्राएलसँग के कस्तो व्यवहार गर्दैछन् र भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्ने स्त्रीहरूसँग कसरी सहबास गर्दैछन् भन्‍ने कुरा सुने। यसकारण एलीले उनीहरूलाई भने, “तिमीहरू किन यस्ता कामहरू गर्छौ? म सबै मानिसहरूबाट तिमीहरूका यस्ता दुष्‍ट कामहरूको बारेमा सुन्दैछु। हे मेरा छोराहरू हो, यस्तो हुनुहुँदैन! याहवेहका मानिसहरूको बीचमा फैलिरहेको यस्ता कुराहरू असल होइन। यदि कुनै मानिसले अर्को मानिसको विरुद्धमा पाप गर्‍यो भने परमेश्‍वरले त्यसका निम्ति मध्यस्थता गर्न सक्नुहुन्छ। तर यदि कुनै मानिसले याहवेहको विरुद्धमा पाप गर्‍यो भने त्यसको पक्षमा कसले अन्तर्बिन्ती गरिदिने?” तरै पनि तिनका छोराहरूले आफ्नो बुबाको हप्काइलाई सुनेनन्। किनकि याहवेहले तिनीहरूलाई मार्ने निर्णय गरिसक्नुभएको थियो। अनि बालक शमूएलचाहिँ शारीरिक रूपमा याहवेह र मानिसहरूको निगाहमा बढ्दै गए।

1 शमूएल 2 पढ्नुहोस्