YouVersion लोगो
खोज आइकन

१ शमूएल 2:1-26

१ शमूएल 2:1-26 पवित्र बाइबल (NERV)

हन्नाले प्रार्थना गरिन्, “परमप्रभुमा, म खुशी छु! परमप्रभुमा म विजयको अनुभव गर्छु। तपाईंको मुक्तिमा म खुशी छु, अनि मेरो शत्रुहरू माथि धाक जमाउँछु। परमप्रभु जस्तो पवित्र कोही छैन। तपाईं बाहेक कोही परमेश्वर छैन। हाम्रो परमेश्वर बाहेक यहाँ अरू कुनै आश्रय छैन। अब अहंकार हुदैन! अहंकारपूर्ण वचनहरू अब छैन, कारण परमप्रभु परमेश्वर सर्वज्ञानी हुनुहुन्छ। परमेश्वरले मानिसका कार्यहरू तौलनु हुन्छ। शूरबीर र योद्धाहरूका धनु भाँचिएका छन् अनि दुर्बलहरू बलिया भएका छन्। विगतमा धेरै भोजन प्राप्त गर्नेहरू अब काम नगरी भोजन नपाउने भएका छन्। तर विगतमा जो भोक-भोकै थिए, तिनीहरू अहिले भोजन खाएर मोटाएका छन्। आमा बन्ने सौभाग्य नपाएकी स्त्रीहरू अहिले सातवटाकी आमा बन्न सफल छिन्! तर जुन स्त्रीका धेरै सन्तानहरू थिए, तिनीहरू सबै गएकाले ती स्त्री दुःखी छिन्। परमप्रभुले कुनै मानिसहरूलाई मृत्युमा पार्नुहुन्छ, अनि परमप्रभुले नै कुनैलाई जीवन दिनुहुन्छ। उहाँले कोही मानिसलाई तल पातालमा पठाउनुहुन्छ अनि अरू कोहीलाई जीउनको निम्ति उठाउनुहुन्छ र जीवन दिनुहुन्छ। परमप्रभुले मानिसहरूलाई गरीब तुल्याउनु हुन्छ, अनि उहाँले नै धनी बनाउनुहुन्छ, परमप्रभुले मानिसहरूलाई तल पार्नु हुन्छ र फेरि उच्च आसनमा बसाउनुहुन्छ। परमप्रभुले कंगालहरूलाई धूलोबाट उठाउँनुहुन्छ, अनि दुःख हटाई दिनुहुन्छ। परमप्रभुले कंगालीहरूलाई राजा सँग-सँगै बसाउनुहुन्छ। परमप्रभुले कंगालीहरूलाई सम्मानको सिंहासनमा राख्नुहुन्छ। परमप्रभु उनी हुन जसले संसारको जग बसाल्नु भयो अनि त्यसमाथि संसार बनाउनु भयो। परमप्रभुले आफ्ना पवित्र मानिसहरूको रक्षा गर्नुहुन्छ, ठेस लागेर लड्नबाट उनीहरूलाई बँचाउनु हुन्छ, तर पापीहरू अन्धकारमा नष्ट भएर डुब्ने छन्। तिनीहरूका शक्ति विजय प्राप्त गर्न सहायक सिद्ध हुनेछैन। परमप्रभुले आफ्ना शत्रुहरूलाई नष्ट पार्नुहुन्छ। सर्वोच्च परमेश्वर स्वर्गबाट उहाँको दुश्मनहरूका विरूद्ध गर्जनुहुन्छ। उहाँले सारा पृथ्वीको न्याय गर्नुहुन्छ, परमप्रभुले आफ्ना राजालाई बलियो पार्नुहुन्छ। उहाँले चुनेका राजालाई बलियो पार्नुहुन्छ।” एल्काना र तिनका परिवारका सदस्यहरू सबै रामामा आफ्नो घर फर्के, तर त्यो बालक चाहिँ शीलोमा नै परमप्रभुको सेवा गर्न पूजाहारीको रेखदेखमा रह्यो। एलीका छोराहरू दुष्ट थिए। परमप्रभु प्रति तिनीहरूको कुनै वास्ता थिएन। यसरी तिनीहरूले मानिसहरूलाई दुर्व्यवहार गर्थे। पूजाहारीहरूको कर्त्तव्य यो थियोः जब कोही मानिस बलिदान चढाउँथ्यो तब पूजाहारीले एउटा भाँडाको उम्लीएको पानीमा मासु पकाउनु पर्थ्यो। तब पूजाहारीको सेवकले त्रिशूल लिनु पर्थ्यो। पूजाहारीको सेवकले हातमा तिखो त्रिशूल लिएर भाँडाको मासुलाई काँटाले घोच्नु पर्थ्यो। सेवकहरूले काँटाले घोचे जतिमात्र मासु पूजाहारीको भाग हुन्थ्यो। पूजाहारीले उनै इस्राएलीहरूका निम्ति यसो गर्नुपर्थ्यो जो शीलोमा बलिदान चढाउन आउँथे। तर एलीका छोराहरूले यसो गरेनन्। बोसोलाई वेदीमा जलाउनु अघि नै पूजाहारीका सेवक आएर बलिदानको पवित्र भेटि यसरी भनेर सोध्ने गर्थ्यो, “पूजाहारीको लागि पकाउनलाई केहि मासु देऊ, पूजाहारीले पकाएको मासु ग्रहण गर्दैनन् खाली काँचो मासु मात्र।” बलि चढाउने मानिसले भन्थ्यो, “पहिले बोसोलाई जलाउँ त्यसपछि तिमीलाई चाहिए जति लैजाऊ।” यदि यस्तो परिस्थितिमा भने पूजाहारीको सेवकले भन्थ्यो, “होइन, त्यो मलाई अहिले नै मासु दिइहाल, यदि दिंदैनौ भने म खोसेर लैजानेछु।” यस्तो प्रकारले ती दुइ पूजाहारी होप्नी र पीनहासले परमप्रभु प्रति चढाइएको बलिदानहरूमा श्रद्धा देखाएनन्। तिनीहरूले परमप्रभुको विरूद्धमा महा-पाप गरे। तर शमूएलले एउटा सहयोगीको रूपमा परमप्रभुको सेवा गर्थ्यो। शमूएलले एउटा विशेष प्रकारको मलमलको पोशाक लगाउथ्यो जसलाई एपोद भनिन्छ। प्रत्येक बर्ष शमूएलकी आमाले उसलाई एउटा सानो भोटो बनाइ दिन्थिन्। प्रत्येक बर्ष लोग्नेसित जब बलि चढाउन शीलो जान्थिन् त्यो भोटो शमूएलाई पुर्याइ दिन्थिन्। एलीले एल्काना र तिनकी पत्नीलाई आशीर्वाद दिन्थे। एलीले भने, “परमप्रभुले यो बालक जसलाई तिमीले परमप्रभुको सेवाको लागि माग्यौ यसको ठाउँमा अरू धेरै नानीहरू परमप्रभु तिनीहरूका साथ आशिष दिउन्।” एल्काना र हन्ना घर फर्किए अनि परमप्रभुको निगाह हन्ना माथि थियो। तिनले तीनवटा छोरा र दुइवटी छोरी जन्माइन्। शमूएल भने परमप्रभुको सामुन्ने बढ्न थाल्यो। एली साह्रै वृद्ध भएका थिए। उसले आफ्ना छोराहरू बार-बार शीलोमा इस्राएलीहरूसित गरेका व्यवहार सुने। भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीहरूसँग तिनीहरूले सहवास गरेको कुरा पनि एलीले सुने। एलीले आफ्ना छोराहरूलाई भने, “तिमीहरूले गरेका दुष्ट कार्य मानिसहरूले मलाई सुनाउँछन्। त्यस्ता दुष्ट कार्य किन गर्छौ? छोरा हो, त्यस्तो खराब कार्य नगर। परमप्रभुका मानिसहरूले तिमीहरूका बारेमा नराम्रो कुरा गर्दैछन्। मानिसले मानिसको विरूद्धमा दुष्ट कार्य गरेकोमा परमेश्वरले त्यसको न्याय गर्नु हुनेछ। तर कसैले परमप्रभुको विरूद्धमा पाप गर्छ भने, कसले उसलाईं परमेश्वरसित सहायता गर्नेछ?” तर एलीका दुष्ट छोराहरूले पिताका कुरा सुन्न अस्वीकार गरे। तर परमेश्वरले पहिले नै निर्णय लिइसक्नु भएको थियो कि तिनीहरू मर्ने थिए। बालक शमूएल भने दिन दिनै ठूलो हुँदै गयो। उसले परमेश्वर र मानिसहरूलाई प्रसन्न पार्थ्यो।

शेयर गर्नुहोस्
१ शमूएल 2 पढ्नुहोस्

१ शमूएल 2:1-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब हन्‍नाहले यो प्रार्थना चढ़ाइन्‌: “मेरो हृदयले परमप्रभुमा आनन्‍द गर्दछ, परमप्रभुमा म मेरो सीङ उच्‍च पार्दछु। मेरो मुख मेरा शत्रुहरूप्रति धाकले भरिएको छ, तपाईंले मलाई उद्धार गर्नुभएकोले म हर्षित भएकी छु। “परमप्रभुबाहेक पवित्र अरू कोही छैन, तपाईंजस्‍तै अरू कोही छैन, हाम्रा परमेश्‍वरजस्‍तै अरू कुनै चट्टान छैन। “तेरो घमण्‍ड बन्‍द गर्, अहङ्कारको वचन तेरो मुखबाट ननिकाल्‌। किनभने परमप्रभु सबै कुराको ज्ञाता हुनुहुन्‍छ। उहाँद्वारा सबै काम जोखिन्‍छ। “शूरवीरहरूका धनु भाँचिएका छन्, तर ठेस खाएर लड़ेकाहरूले बल प्राप्‍त गरेका छन्, भरिपूर्ण हुनेहरू भोजनको निम्‍ति आफैलाई बेच्‍छन्, तर भोकाएकाहरू फेरि भोकाउनेछैनन्‌। बाँझी स्‍त्रीले सात जना बच्‍चाहरू जन्‍माएकी छे, तर धेरै छोराहरूकी आमा शिथिल हुन्‍छे। “परमप्रभुले मृत्‍यु ल्‍याउनुहुन्‍छ र जीवन दिनुहुन्‍छ, उहाँले नै चिहानमा पठाउनुहुन्‍छ र मरेकालाई जीवित पार्नुहुन्‍छ। परमप्रभुले दरिद्रता र धन-सम्‍पत्ति पठाउनुहुन्‍छ। उहाँले नम्र तुल्‍याउनुहुन्‍छ, र उहाँले उच्‍च पार्नुहुन्‍छ। राजकुमारहरूसित बसाल्‍नलाई तथा सम्‍मानको आसनको उत्तराधिकारी बनाउनलाई उहाँले दुर्बललाई धूलोबाट र दरिद्रलाई घुरानबाट उठाउनुहुन्‍छ। “किनभने पृथ्‍वीका जगहरू परमप्रभुकै हुन्, उहाँले संसारलाई तीमाथि बसाल्‍नुभएको हो। उहाँले आफ्‍ना पवित्र जनहरूका खुट्टालाई रक्षा गर्नुहुनेछ, तर दुष्‍टहरू अन्‍धकारमा मौन गराइएका हुनेछन्‌।” “केवल बलले मात्र मानिस प्रबल हुन सक्‍दैन। परमप्रभुको विरोध गर्नेहरू चकनाचूर पारिनेछन्‌। उहाँ स्‍वर्गबाट तिनीहरूको विरुद्धमा गर्जनुहुनेछ, पृथ्‍वीको पल्‍लो छेउसम्‍मै परमप्रभुले न्‍याय गर्नुहुनेछ। “उहाँले आफ्‍ना राजालाई शक्ति दिनुहुनेछ, र आफ्‍नो अभिषिक्त जनको सीङ उच्‍च पार्नुहुनेछ।” तब एल्‍काना रामामा आफ्‍नो घरमा फर्के, तर त्‍यो बालकचाहिँ पूजाहारी एलीको अधीनमा परमप्रभुको सेवा गर्नलाई त्‍यहीँ नै बस्‍यो। एलीका छोराहरू दुष्‍ट थिए, परमप्रभुको निम्‍ति तिनीहरूमा श्रद्धा थिएन। मानिसहरूप्रति पूजाहारीहरूले गर्नुपर्ने व्‍यवहारको रीति यस्‍तो थियो: जब कुनै मानिसले बलिदान चढ़ाउँथ्‍यो तब मासु उम्‍लिरहँदा पूजाहारीको सेवक त्रिशूल लिएर आउँथ्‍यो, र त्रिशूलले कराही वा ताप्‍के वा तसला वा खड्‌कुँलोमा भएको मासु घोच्‍थ्‍यो, र त्‍यसरी आएको जतिचाहिँ पूजाहारीले लाने गर्थे। शीलोमा बलिदान चढ़ाउनलाई आएका सबै इस्राएलीहरूसित तिनीहरूले त्‍यस्‍तै व्‍यवहार गर्थे। बोसो जलाउन अघि नै पूजाहारीको सेवक आएर बलिदान चढ़ाउने मानिसलाई भन्‍थ्‍यो, “पूजाहारीको लागि पकाउनलाई मलाई मासु देऊ। अघिबाटै उमालेको मासु तिनी लिँदैनन्, केवल काँचो मासु मात्र लिन्‍छन्‌।” “पहिले बोसो जलाउन देऊ, र तिमीले मागेको जति लैजाऊ” भनी यदि कुनै मानिसले जवाफ दियो भने त्‍यस सेवकले यसो भन्‍थ्‍यो, “होइन, त्‍यो मलाई अहिले नै देऊ, नत्रता म जबरजस्‍ती खोसेर लैजानेछु।” ती जवान मानिसहरूको पाप परमप्रभुको दृष्‍टिमा साह्रै बढ्‌ता भयो, किनभने तिनीहरूले परमप्रभुको बलिदानलाई अवहेलना गरे। तर बालक शमूएल मलमलको एपोद लगाएर परमप्रभुको सेवामा निरन्‍तर लागिरहे। हरेक साल तिनकी आमाले तिनलाई एउटा सानो कुर्ता बनाइदिन्थिन्, र तिनका पतिसँग वार्षिक बलिदान चढ़ाउन जाँदा शमूएलको निम्‍ति त्‍यो लगिदिन्‍थिन्‌। एलीले एल्‍काना र उनकी पत्‍नीलाई आशीर्वाद दिएर भन्‍थे, “तिमीले मागेको यस छोराको सट्टामा परमप्रभुले तिमीलाई यस स्‍त्रीबाट छोराछोरीहरू देऊन्।” त्‍यसपछि तिनीहरू आफ्‍नो घर फर्कन्‍थे। परमप्रभुले हन्‍नाहमाथि अनुग्रह गर्नुभयो, र तिनी गर्भवती भएर तीन छोरा र दुई छोरी जन्‍माइन्‌। उता बालक शमूएल परमप्रभुको सामुन्‍ने बढ्‌न लाग्‍यो। एली अब साह्रै वृद्ध भएका थिए, र उनका छोराहरूले सारा इस्राएलमाथि कस्‍तो व्‍यवहार गर्दछन्‌ भनी उनले सुने। भेट हुने पालको ढोकामा सेवा गर्ने स्‍त्रीहरूसँग सहवास गरेका कुरा पनि उनले सुने। यसकारण उनले तिनीहरूलाई भने, “तिमीहरू किन यस्‍तो काम गर्दछौ? तिमीहरू दुष्‍ट व्‍यवहार गर्दैछौ भन्‍ने कुरा म सबै मानिसहरूका मुखबाट सुन्‍दैछु। होइन, मेरा छोरा हो, जे म सुन्‍दैछु, परमप्रभुका मानिसहरूका बीचमा फैलिएको यस्‍तो कुरो असल छैन। यदि मानिसले मानिसको विरुद्धमा पाप गर्‍यो भने परमेश्‍वरले हस्तक्षेप गर्नुहोला। तर यदि मानिसले परमेश्‍वरको विरुद्धमा पाप गर्‍यो भने त्‍यसको पक्षमा कसले बोलिदिने?” यी सबै कुरा सुने तापनि तिनीहरूले आफ्‍ना पिताका कुरामा ध्‍यान दिएनन्, किनभने तिनीहरूलाई मार्ने परमप्रभुको इच्‍छा थियो। अनि बालक शमूएल कदमा तथा परमप्रभु र मानिसहरूका निगाहमा बढ्‌दैगए।

शेयर गर्नुहोस्
१ शमूएल 2 पढ्नुहोस्

१ शमूएल 2:1-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब हन्‍नाले प्रार्थना गरेर यसो भनिन्: “मेरो हृदय याहवेहमा रमाउँदछ; याहवेहमा मेरो सिङ उच्‍च पारिएको छ। मेरो मुखले मेरा शत्रुहरूमाथि सेखी गर्दछ, किनकि म तपाईंको छुटकारामा हर्षित छु। “याहवेहझैँ पवित्र अरू कोही छैन; तपाईंबाहेक अरू कोही छैन; हाम्रा परमेश्‍वरजस्तै चट्टान अरू कोही छैन। “घमण्डले फुलेर धेरै बोल्न बन्द गर, अर्थात् तेरो मुखले त्यस्तो अहङ्कारको कुरा ननिकालोस्; किनकि याहवेह परमेश्‍वर सर्वज्ञानी हुनुहुन्छ, अनि उहाँले नै सबै कामको न्याय गर्नुहुन्छ। “योद्धाहरूका धनुहरू भाँचिएका छन्, तर ठेस खाएर लड्नेहरूचाहिँ बलिया भएका छन्। एक समयमा भरिपूर्ण भएकाहरू भोजनको निम्ति आफैँलाई बेच्दछन्; तर भोकभोकै डुल्नेहरू फेरि भोकाउने छैनन्। ती बाँझी स्त्रीले सात जना बच्‍चाहरू जन्माएकी छिन्; तर धेरै छोराहरू भएकी आमा दुःखी भएकी छिन्। “याहवेहले मृत्यु ल्याउनुहुन्छ, र फेरि जीवित पार्नुहुन्छ; उहाँले नै चिहानसम्म झार्नुहुन्छ, र पुनर्जीवित पार्नुहुन्छ। याहवेहले नै गरिबी र धनसम्पत्ति पठाउनुहुन्छ; उहाँले नम्र तुल्याउनुहुन्छ, र उहाँले नै उच्‍च पार्नुहुन्छ। उहाँले गरिबहरूलाई धुलोबाट उठाउनुहुन्छ, अनि खाँचोमा परेकाहरूलाई खरानीको राशबाट उचाल्नुहुन्छ; उहाँले तिनीहरूलाई राजकुमारहरूसित बसाउनुहुन्छ, अनि तिनीहरूलाई आदरको सिंहासन दिनुहुन्छ। “किनकि पृथ्वीका जगहरू याहवेहकै हुन्; त्यही जगमाथि नै उहाँले पृथ्वीलाई बसाल्नुभएको छ। उहाँले आफ्ना विश्‍वासयोग्य सन्तहरूका खुट्टाहरूलाई सुरक्षित राख्नुहुन्छ, तर दुष्‍टहरूलाई चाहिँ अन्धकारमा चुप गराइन्छ। “कुनै पनि मानिस बलले मात्र सफल हुन सक्दैन; याहवेहको विरोध गर्नेहरू चकनाचुर पारिनेछन्, तिनीहरूका विरुद्धमा सर्वोच्‍च स्वर्गबाट गर्जनुहुनेछ; याहवेहले पृथ्वीको अन्त्यसम्म नै न्याय गर्नुहुनेछ। “उहाँले आफ्नो राजालाई सामर्थ्य दिनुहुनेछ, र आफ्नो अभिषिक्त जनको सिङ उच्‍च पार्नुहुनेछ।” त्यसपछि एल्काना आफ्नो घर रामामा गए, तर बालक शमूएलचाहिँ एली पुजारीको अधीनमा याहवेहको सामु सेवा गर्दैरहे। एलीका छोराहरू बदमास थिए। याहवेहप्रति तिनीहरूमा कुनै श्रद्धाभाव थिएन। पुजारीहरूले गर्नुपर्ने प्रचलन यस्तो थियो, कि जब कसैले बलि चढाउँथे, तब मासु पाकिरहेको बेलामा पुजारीका सेवक हातमा तीन सुइरे काँटा लिएर आउँथे; अनि त्यो काँटालाई भाँडामा अर्थात् कराहीमा डुबाउँथे। तब त्यस काँटाले उठाएर जे जति मासु निकाल्थ्यो, त्यो सबै पुजारीले आफ्ना निम्ति लिन्थे। शीलोमा बलिदान चढाउन आउने सबै इस्राएलीहरूलाई तिनीहरूले त्यसै गर्थे। त्यतिमात्रै होइन, बोसो जलाइनुअगि नै पुजारीका सेवक आएर बलिदान चढाइरहेको मानिसलाई भन्थ्यो, “पुजारीले पोलेर खानको निम्ति केही मासु देऊ; किनकि तिनले तिमीहरूबाट पकाएको मासु होइन, तर काँचो मासु मात्र लिन्छन्।” यदि त्यस मानिसले सेवकलाई यसरी भन्यो भने, “पहिले बोसो जलिसकोस्, र तिमीले चाहेको जति लैजाऊ,” तब त्यस सेवकले जवाफ दिन्थ्यो, “होइन, अहिले नै देऊ। यदि तिमीले दिएनौ भने म जबरजस्ती खोसेर लैजानेछु।” ती जवान मानिसहरूको पाप याहवेहको दृष्‍टिमा अत्यन्त ठूलो थियो; किनकि तिनीहरूले याहवेहको बलिलाई अपमान गरेका थिए। तर शमूएलचाहिँ सुती कपडाको एपोद लगाएर याहवेहको सामु सेवा गर्थे। प्रत्येक वर्ष तिनकी आमाले तिनका निम्ति एउटा सानो लबेदा बनाउँथिन्, र उनी आफ्नो पतिसित वार्षिक बलिदान चढाउन शिलोमा जाँदा त्यो तिनलाई लगिदिन्थिन्। पुजारी एलीले एल्काना र तिनकी पत्नीलाई यसरी आशीर्वाद दिन्थे, “यी स्त्रीले याहवेहसँग छोराका निम्ति प्रार्थना गरेर त्यसलाई याहवेहकहाँ अर्पण गरेको सट्टामा याहवेहले यस स्त्रीद्वारा तिमीलाई अरू सन्तानहरू देऊन्।” त्यसपछि तिनीहरू घर फर्कन्थे। अनि याहवेहले हन्‍नामाथि निगाह गर्नुभयो; उनी गर्भवती भएर तीन छोरा र दुई छोरीहरू जन्माइन्। अनि बालक शमूएल याहवेहको उपस्थितिमा बढ्दै गए। अब एली अति नै वृद्ध भइसकेका थिए। एलीले आफ्ना छोराहरूले सारा इस्राएलसँग के कस्तो व्यवहार गर्दैछन् र भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्ने स्त्रीहरूसँग कसरी सहबास गर्दैछन् भन्‍ने कुरा सुने। यसकारण एलीले उनीहरूलाई भने, “तिमीहरू किन यस्ता कामहरू गर्छौ? म सबै मानिसहरूबाट तिमीहरूका यस्ता दुष्‍ट कामहरूको बारेमा सुन्दैछु। हे मेरा छोराहरू हो, यस्तो हुनुहुँदैन! याहवेहका मानिसहरूको बीचमा फैलिरहेको यस्ता कुराहरू असल होइन। यदि कुनै मानिसले अर्को मानिसको विरुद्धमा पाप गर्‍यो भने परमेश्‍वरले त्यसका निम्ति मध्यस्थता गर्न सक्नुहुन्छ। तर यदि कुनै मानिसले याहवेहको विरुद्धमा पाप गर्‍यो भने त्यसको पक्षमा कसले अन्तर्बिन्ती गरिदिने?” तरै पनि तिनका छोराहरूले आफ्नो बुबाको हप्काइलाई सुनेनन्। किनकि याहवेहले तिनीहरूलाई मार्ने निर्णय गरिसक्नुभएको थियो। अनि बालक शमूएलचाहिँ शारीरिक रूपमा याहवेह र मानिसहरूको निगाहमा बढ्दै गए।

शेयर गर्नुहोस्
१ शमूएल 2 पढ्नुहोस्

१ शमूएल 2:1-26 पवित्र बाइबल (NERV)

हन्नाले प्रार्थना गरिन्, “परमप्रभुमा, म खुशी छु! परमप्रभुमा म विजयको अनुभव गर्छु। तपाईंको मुक्तिमा म खुशी छु, अनि मेरो शत्रुहरू माथि धाक जमाउँछु। परमप्रभु जस्तो पवित्र कोही छैन। तपाईं बाहेक कोही परमेश्वर छैन। हाम्रो परमेश्वर बाहेक यहाँ अरू कुनै आश्रय छैन। अब अहंकार हुदैन! अहंकारपूर्ण वचनहरू अब छैन, कारण परमप्रभु परमेश्वर सर्वज्ञानी हुनुहुन्छ। परमेश्वरले मानिसका कार्यहरू तौलनु हुन्छ। शूरबीर र योद्धाहरूका धनु भाँचिएका छन् अनि दुर्बलहरू बलिया भएका छन्। विगतमा धेरै भोजन प्राप्त गर्नेहरू अब काम नगरी भोजन नपाउने भएका छन्। तर विगतमा जो भोक-भोकै थिए, तिनीहरू अहिले भोजन खाएर मोटाएका छन्। आमा बन्ने सौभाग्य नपाएकी स्त्रीहरू अहिले सातवटाकी आमा बन्न सफल छिन्! तर जुन स्त्रीका धेरै सन्तानहरू थिए, तिनीहरू सबै गएकाले ती स्त्री दुःखी छिन्। परमप्रभुले कुनै मानिसहरूलाई मृत्युमा पार्नुहुन्छ, अनि परमप्रभुले नै कुनैलाई जीवन दिनुहुन्छ। उहाँले कोही मानिसलाई तल पातालमा पठाउनुहुन्छ अनि अरू कोहीलाई जीउनको निम्ति उठाउनुहुन्छ र जीवन दिनुहुन्छ। परमप्रभुले मानिसहरूलाई गरीब तुल्याउनु हुन्छ, अनि उहाँले नै धनी बनाउनुहुन्छ, परमप्रभुले मानिसहरूलाई तल पार्नु हुन्छ र फेरि उच्च आसनमा बसाउनुहुन्छ। परमप्रभुले कंगालहरूलाई धूलोबाट उठाउँनुहुन्छ, अनि दुःख हटाई दिनुहुन्छ। परमप्रभुले कंगालीहरूलाई राजा सँग-सँगै बसाउनुहुन्छ। परमप्रभुले कंगालीहरूलाई सम्मानको सिंहासनमा राख्नुहुन्छ। परमप्रभु उनी हुन जसले संसारको जग बसाल्नु भयो अनि त्यसमाथि संसार बनाउनु भयो। परमप्रभुले आफ्ना पवित्र मानिसहरूको रक्षा गर्नुहुन्छ, ठेस लागेर लड्नबाट उनीहरूलाई बँचाउनु हुन्छ, तर पापीहरू अन्धकारमा नष्ट भएर डुब्ने छन्। तिनीहरूका शक्ति विजय प्राप्त गर्न सहायक सिद्ध हुनेछैन। परमप्रभुले आफ्ना शत्रुहरूलाई नष्ट पार्नुहुन्छ। सर्वोच्च परमेश्वर स्वर्गबाट उहाँको दुश्मनहरूका विरूद्ध गर्जनुहुन्छ। उहाँले सारा पृथ्वीको न्याय गर्नुहुन्छ, परमप्रभुले आफ्ना राजालाई बलियो पार्नुहुन्छ। उहाँले चुनेका राजालाई बलियो पार्नुहुन्छ।” एल्काना र तिनका परिवारका सदस्यहरू सबै रामामा आफ्नो घर फर्के, तर त्यो बालक चाहिँ शीलोमा नै परमप्रभुको सेवा गर्न पूजाहारीको रेखदेखमा रह्यो। एलीका छोराहरू दुष्ट थिए। परमप्रभु प्रति तिनीहरूको कुनै वास्ता थिएन। यसरी तिनीहरूले मानिसहरूलाई दुर्व्यवहार गर्थे। पूजाहारीहरूको कर्त्तव्य यो थियोः जब कोही मानिस बलिदान चढाउँथ्यो तब पूजाहारीले एउटा भाँडाको उम्लीएको पानीमा मासु पकाउनु पर्थ्यो। तब पूजाहारीको सेवकले त्रिशूल लिनु पर्थ्यो। पूजाहारीको सेवकले हातमा तिखो त्रिशूल लिएर भाँडाको मासुलाई काँटाले घोच्नु पर्थ्यो। सेवकहरूले काँटाले घोचे जतिमात्र मासु पूजाहारीको भाग हुन्थ्यो। पूजाहारीले उनै इस्राएलीहरूका निम्ति यसो गर्नुपर्थ्यो जो शीलोमा बलिदान चढाउन आउँथे। तर एलीका छोराहरूले यसो गरेनन्। बोसोलाई वेदीमा जलाउनु अघि नै पूजाहारीका सेवक आएर बलिदानको पवित्र भेटि यसरी भनेर सोध्ने गर्थ्यो, “पूजाहारीको लागि पकाउनलाई केहि मासु देऊ, पूजाहारीले पकाएको मासु ग्रहण गर्दैनन् खाली काँचो मासु मात्र।” बलि चढाउने मानिसले भन्थ्यो, “पहिले बोसोलाई जलाउँ त्यसपछि तिमीलाई चाहिए जति लैजाऊ।” यदि यस्तो परिस्थितिमा भने पूजाहारीको सेवकले भन्थ्यो, “होइन, त्यो मलाई अहिले नै मासु दिइहाल, यदि दिंदैनौ भने म खोसेर लैजानेछु।” यस्तो प्रकारले ती दुइ पूजाहारी होप्नी र पीनहासले परमप्रभु प्रति चढाइएको बलिदानहरूमा श्रद्धा देखाएनन्। तिनीहरूले परमप्रभुको विरूद्धमा महा-पाप गरे। तर शमूएलले एउटा सहयोगीको रूपमा परमप्रभुको सेवा गर्थ्यो। शमूएलले एउटा विशेष प्रकारको मलमलको पोशाक लगाउथ्यो जसलाई एपोद भनिन्छ। प्रत्येक बर्ष शमूएलकी आमाले उसलाई एउटा सानो भोटो बनाइ दिन्थिन्। प्रत्येक बर्ष लोग्नेसित जब बलि चढाउन शीलो जान्थिन् त्यो भोटो शमूएलाई पुर्याइ दिन्थिन्। एलीले एल्काना र तिनकी पत्नीलाई आशीर्वाद दिन्थे। एलीले भने, “परमप्रभुले यो बालक जसलाई तिमीले परमप्रभुको सेवाको लागि माग्यौ यसको ठाउँमा अरू धेरै नानीहरू परमप्रभु तिनीहरूका साथ आशिष दिउन्।” एल्काना र हन्ना घर फर्किए अनि परमप्रभुको निगाह हन्ना माथि थियो। तिनले तीनवटा छोरा र दुइवटी छोरी जन्माइन्। शमूएल भने परमप्रभुको सामुन्ने बढ्न थाल्यो। एली साह्रै वृद्ध भएका थिए। उसले आफ्ना छोराहरू बार-बार शीलोमा इस्राएलीहरूसित गरेका व्यवहार सुने। भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीहरूसँग तिनीहरूले सहवास गरेको कुरा पनि एलीले सुने। एलीले आफ्ना छोराहरूलाई भने, “तिमीहरूले गरेका दुष्ट कार्य मानिसहरूले मलाई सुनाउँछन्। त्यस्ता दुष्ट कार्य किन गर्छौ? छोरा हो, त्यस्तो खराब कार्य नगर। परमप्रभुका मानिसहरूले तिमीहरूका बारेमा नराम्रो कुरा गर्दैछन्। मानिसले मानिसको विरूद्धमा दुष्ट कार्य गरेकोमा परमेश्वरले त्यसको न्याय गर्नु हुनेछ। तर कसैले परमप्रभुको विरूद्धमा पाप गर्छ भने, कसले उसलाईं परमेश्वरसित सहायता गर्नेछ?” तर एलीका दुष्ट छोराहरूले पिताका कुरा सुन्न अस्वीकार गरे। तर परमेश्वरले पहिले नै निर्णय लिइसक्नु भएको थियो कि तिनीहरू मर्ने थिए। बालक शमूएल भने दिन दिनै ठूलो हुँदै गयो। उसले परमेश्वर र मानिसहरूलाई प्रसन्न पार्थ्यो।

शेयर गर्नुहोस्
१ शमूएल 2 पढ्नुहोस्

१ शमूएल 2:1-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हन्‍नाहले यसरी प्रार्थना गरिन्– “परमप्रभुले मेरो हृदय आनन्‍दले भर्नुभएको छ। उहाँले गर्नुभएको कामले गर्दा म अति खुसी छु! म मेरा शत्रुहरूमाथि हाँस्‍दछु; परमेश्‍वरले मलाई मद्दत गर्नुभएको कारणले म हर्षित छु! “परमप्रभुजस्‍तो पवित्र कोही पनि छैनन्; उहाँजस्‍तो कोही पनि छैनन्, हाम्रा परमेश्‍वरजस्‍तो रक्षा गर्नुहुने कोही पनि छैनन्। तिम्रा ठूल्‍ठूला घमण्‍डका स्‍वर बन्‍द गर; तिम्रा अहङ्कारका शब्‍दहरू ननिकाल किनभने परमप्रभु सर्वज्ञानी परमेश्‍वर हुनुहुन्‍छ र उहाँले मानिसहरूका सबै काममाथि न्‍याय गर्नुहुन्‍छ। बलिया सिपाहीहरूका धनुहरू भाँचिएका छन्, तर दुर्बलहरू बलिया हुन्‍छन्। एक समय मीठा-मीठा खाना खाने मानिसहरू अहिले खाना खानलाई ज्‍यालामा काम गर्छन्, तर जो भोका थिए ती अब भोका छैनन्। नि:‍सन्‍तान स्‍वास्‍नीले सात वटा छोरा-छोरी पाइन्, तर धेरै जनाकी आमासित एउटै पनि बालक छैन। परमप्रभुले मार्नुहुन्‍छ र फेरि जीवन दिनुहुन्‍छ; उहाँले नै मानिसहरूलाई मृत्‍यु-लोकमा पठाउनुहुन्‍छ, अनि तिनीहरूलाई फेरि जीवित पार्नुहुन्‍छ। उहाँले नै कसैलाई गरीब र अरू कसैलाई धनी बनाउनुहुन्‍छ; उहाँले कसैलाई नम्र बनाउनुहुन्‍छ र अरू कसैलाई महान् बनाउनुहुन्‍छ। उहाँले गरीबलाई धूलोबाट उठाउनुहुन्‍छ, अभावमा परेकाहरूलाई तिनका कष्‍टदेखि उचाल्‍नुहुन्‍छ। उहाँले तिनीहरूलाई राजकुमारहरूका साथी बनाउनुहुन्‍छ, र आदरका स्‍थानहरूमा राख्‍नुहुन्‍छ। पृथ्‍वीका जगहरू परमप्रभुकै हुन्; तीमाथि उहाँले संसार बसाल्‍नुभएको छ। “उहाँले आफ्‍ना विश्‍वासयोग्‍य जनहरूको जीवन रक्षा गर्नुहुन्‍छ, तर दुष्‍टहरू अन्‍धकारमा हराएर जानेछन्; कुनै मानिसले आफ्‍नो शक्तिले जित्‍न सक्‍दैन। परमप्रभुका शत्रुहरू नाश भएर जानेछन्; उहाँ तिनीहरूका विरुद्धमा स्‍वर्गबाट गर्जनुहुन्‍छ। परमप्रभुले सारा संसारको न्‍याय गर्नुहुन्‍छ, उहाँले आफ्‍नो राजालाई शक्ति दिनुहुनेछ, उहाँले आफूले चुनेका राजालाई विजयी बनाउनुहुन्‍छ।” त्‍यसपछि एल्‍काना आफ्‍नो घर रामामा गए; तर बालक शमूएल शीलोमा बसे र पूजाहारी एलीको अधीनमा परमप्रभुको सेवा गर्न लागे। एलीका छोराहरू बदमाश थिए। तिनीहरू परमप्रभुबारे अथवा पूजाहारीहरूले मानिसहरूबाट के कुरा लिन सक्‍थे, त्‍यसका नियमहरूबारे केही ध्‍यान दिंदैनथे। त्‍यसका सट्टामा कुनै मानिसले बलि चढाउँदा पूजाहारीको चाकर एउटा काँटा लिएर आउँथ्‍यो र मासु पाक्‍दै गरेको भाँडोमा काँटाले रोप्‍थ्‍यो र काँटामा जति मासु आउँथ्‍यो, त्‍यो पूजाहारीको हुन्‍थ्‍यो। शीलोमा बलि चढाउन आउने सबै इस्राएलीहरूसित त्‍यस्‍तै व्‍यवहार गरिन्‍थ्‍यो। त्‍यसमाथि बोसो उठाएर जलाउनुभन्दा अघि नै पूजाहारीको चाकर आएर बलि चढाउने मानिसलाई यसो भन्‍थ्‍यो, “पूजाहारीको निम्‍ति पकाउन मलाई केही मासु देऊ। तिमीबाट उनले उमालिसकेको मासु लिँदैनन्, खालि काँचो मासु मात्र लिन्‍छन्।” त्‍यस मानिसले “हामी जे कुरा ठीक छ, त्‍यो गरौं पहिले बोसो जलाऔं र त्‍यसपछि तिमी जे चाहन्‍छौ, त्‍यो लिन सक्‍छौ,” भन्‍यो भने पूजाहारीका चाकरले यसो भन्‍थ्‍यो, “होइन! मलाई मासु अहिले नै देऊ, होइन भने मैले जबरजस्‍ती गरेर लैजानुपर्नेछ।” एलीका छोराहरूको पाप परमप्रभुको दृष्‍टिमा अत्‍यन्‍त डरलाग्‍दो थियो किनभने परमप्रभुलाई चढाएका बलिहरूलाई तिनीहरूले यस्‍तो अनादर गर्थे। त्‍यस बेला बालक शमूएलचाहिँ परमप्रभुको सेवामा लागिरहे। तिनले आफ्‍नो अघिल्तिर ढाकेर एउटा सुतीको लुगा लगाउँथे। हरेक वर्ष तिनकी आमाले एउटा सानो वस्‍त्र बनाउँथिन् र आफ्‍ना लोग्‍नेसित वार्षिक बलि चढाउन जाँदा वस्‍त्र तिनलाई पुर्‍याउँथिन्। त्‍यति बेला एलीले एल्‍काना र तिनकी स्‍वास्‍नीलाई आशीर्वाद दिन्थे र एल्‍कानालाई यसो भन्‍थे, “तिमीहरूले परमप्रभुलाई अर्पण गरेका बालकको सट्टामा उहाँले तिमीलाई यस स्‍त्रीद्वारा अरू बालकहरू देऊन्।” त्‍यसपछि तिनीहरू घर फर्कन्‍थे। परमप्रभुले हन्‍नाहलाई आशिष् दिनुभयो र तिनले अरू तीन छोराहरू र दुई छोरीहरू जन्‍माइन्। बालक शमूएल परमेश्‍वरको सेवामा बढ्दै गए। एली अब धेरै बुढो भएका थिए। आफ्‍ना छोराहरूले इस्राएलीहरूसित गरेका हरेक काम अनि परमप्रभुको पवित्र पालको ढोकामा काम गर्ने आइमाईहरूसित तिनीहरू सुतेका कुरासमेत एलीले सुनिबस्‍थे। उनले छोराहरूलाई भने, “किन यी सबै काम तिमीहरू गर्दछौ? तिमीहरूले गरेका दुष्‍ट कामबारे सबैले मलाई भन्‍दछन्। छोराहरू हो, ती बन्‍द गर! परमप्रभुका जनहरूले तिमीहरूका बारेमा गरेका यी कुरा अत्‍यन्‍त नराम्रा छन्। यदि एक जना मानिसले अर्को मानिसको विरुद्धमा पाप गर्‍यो भने परमेश्‍वरले त्‍यसको रक्षा गर्न सक्‍नुहुन्‍छ; तर परमप्रभुको विरुद्धमा नै पाप गर्ने मानिसलाई कसले रक्षा गर्न सक्‍छ?” तर तिनीहरूले आफ्‍ना बुबाका कुरा सुनेनन् किनभने परमप्रभुले तिनीहरूलाई मार्ने निर्णय गरिसक्‍नुभएको थियो। बालक शमूएल बढिरहे अनि परमप्रभु र मानिस दुवैका कृपा पाउँदै गए।

शेयर गर्नुहोस्
१ शमूएल 2 पढ्नुहोस्

१ शमूएल 2:1-26

१ शमूएल 2:1-26 NNRV
शेयर गर्नुहोस्
Read Full Chapter