गिबोनमा याहवेह राति सपनामा सोलोमनकहाँ देखा पर्नुभयो, र परमेश्वरले भन्नुभयो, “तँलाई जे इच्छा लाग्छ माग्, म तँलाई दिनेछु।” सोलोमनले जवाफ दिए, “तपाईंले आफ्नो सेवक, मेरा पिता दावीदमाथि ठूलो दया देखाउनुभएको छ। किनकि उहाँ तपाईंप्रति विश्वासयोग्य, धर्मी र हृदयमा सोझो हुनुहुन्थ्यो। तपाईंले आजको दिन उहाँको सिंहासनमा बस्नलाई उहाँलाई एउटा छोरा दिनुभएर तपाईंले उहाँप्रतिको यो ठूलो दया कायम राख्नुभएको छ। “अब हे याहवेह मेरा परमेश्वर, तपाईंले मेरा पिता दावीदको ठाउँमा आफ्नो सेवकलाई राजा बनाउनुभएको छ। तर म त एउटा सानो बालक मात्र हुँ। अनि आफ्नो कर्तव्य कसरी पालन गर्ने, त्यो पनि जान्दिनँ। यहाँ म तपाईंका आफ्नै चुनिएका मानिसहरूको बीचमा छु। यो यस्तो एउटा विशाल जाति हो, जो असंख्य छन्, तिनीहरूलाई गणना गर्न सकिँदैन। यसकारण तपाईंको सेवकलाई ठिक र बेठीक छुट्याउन सक्ने तपाईंको जातिलाई सही शासन गर्ने समझदार हृदय दिनुहोस्। किनकि कसले तपाईंको यो महान् जातिलाई शासन गर्न सक्छ र?” सोलोमनले यो कुरा मागेकोमा प्रभु तिनीसँग प्रसन्न हुनुभयो। यसकारण परमेश्वरले भन्नुभयो, “तैँले आफ्नो लागि जीवन, धन वा आफ्ना शत्रुहरूको मृत्यु मागिनस्, तर न्याय प्रशासनमा ठिक र बेठीक छुट्याउने हृदय मागिस्। तैँले मागेको कुरा म पूरा गर्नेछु। म तँलाई बुद्धि र ठिक र बेठीक छुट्याउने हृदय दिनेछु, ताकि तेरो अगि न कोही थिए; न त तेरो पछि कहिल्यै तेरो बराबरी अरू कोही हुनेछ। यसबाहेक तैँले नमागेको कुरा पनि म तँलाई दिनेछु, अर्थात् धन र सम्मान दुवै दिनेछु। यसरी तेरो जीवनकालमा तेरो बराबरीका राजा कोही पनि हुनेछैन। यदि तँ मेरा मार्गहरूमा हिँडिस् र तेरा पिताले झैँ मेरा उर्दीहरू र आज्ञाहरू पालन गरिस् भने म तँलाई दीर्घायु तुल्याउनेछु।” तब सोलोमन बिउँझेँ; अनि यो त सपना रहेछ भनी थाहा पाए। तिनी यरूशलेममा फर्के, र प्रभुको करारको सन्दुकको सामु खडा भए। अनि होमबलि र मेलबलि चढाए। त्यसपछि तिनले आफ्ना सबै भारदारहरूलाई भोज खुवाए।
1राजाहरू 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1राजाहरू 3:5-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू