गिबोनमा परमप्रभु परमेश्वर राती सपनामा देखा परेर तिनलाई भन्नुभयो, “तिमी मसित जे माग्छौ, त्यो दिनेछु।” सोलोमनले जवाफ दिए, “तपाईंले आफ्नो दास मेरा पिता दाऊदलाई ठूलो दया देखाउनुभयो, किनभने उहाँ तपाईंप्रति विश्वासयोग्य हुनुहुन्थ्यो, र धार्मिक र हृदयमा ठीक हुनुहुन्थ्यो। तपाईंले उहाँप्रति यो ठूलो दया कायम नै गरिरहनुभएको छ, र अब उहाँपछि सिंहासनमा बस्नलाई तपाईंले उहाँलाई आज यो दिन एक जना छोरो दिनुभएको छ। “अब हे परमप्रभु मेरा परमेश्वर, तपाईंले आफ्नो दासलाई मेरा पिता दाऊदको सट्टामा राजा तुल्याउनुभएको छ। तर म त सानै बालक मात्र छु र मेरो कर्तव्य म जान्दिनँ। म तपाईंको दास, यहाँ तपाईंले चुन्नुभएको तपाईंका प्रजाको बीचमा छु, जो असंख्य र अनगिन्ती छ। यसकारण तपाईंको प्रजालाई ठीकसित शासन गर्नलाई बुझ्ने मन आफ्नो दासलाई दिनुहोस्, र त्यसले असल र खराबको भेद छुट्ट्याउन सकोस्। किनकि तपाईंको यस ठूलो प्रजालाई कसले शासन गर्न सक्छ र?” सोलोमनले यो कुरा मागेकामा परमप्रभु प्रसन्न हुनुभयो। यसकारण परमेश्वरले तिनलाई भन्नुभयो, “तैंले यो कुरा मागेकोले, र तैंले आफ्नो निम्ति लामो आयु अथवा धन-सम्पत्ति वा तेरा शत्रुहरूको प्राण नमागेको, तर ठीकसित न्यायको निधो गर्नलाई बुद्धि मागेको कारणले, तैंले मागेको म पूरा गर्नेछु। म तँलाई बुद्धिमान् र निधो गर्न सक्ने मन दिनेछु, कि तेरो अघि तँजस्तो कहिले कोही भएको छैन, न तेरो पछि कहिल्यै अरू कोही हुनेछ। यसबाहेक तैंले नमागेका ती कुराहरू, अर्थात् धन-सम्पत्ति र मान पनि म तँलाई दिनेछु, यहाँसम्म कि तेरो जीवनकालमा राजाहरूमध्ये कुनै पनि तेरो बराबरी हुनेछैन। अनि तेरो पिता दाऊदले गरेझैँ यदि तँ मेरा मार्गमा हिँड़िस् र मेरा धर्म-विधिहरू र आज्ञाहरू पालन गरिस् भने, म तँलाई दीर्घायु तुल्याउनेछु।” तब सोलोमन ब्यूँझे, र यो त सपना रहेछ भनी तिनले थाहा पाए। त्यसपछि तिनी यरूशलेममा फर्के, र परमप्रभुका करारको सन्दूकको सामु खड़ा भए, र होमबलि र मेलबलि चढ़ाए। तब तिनले आफ्ना सबै भारदारहरूलाई भोज दिए।
१ राजाहरू 3 पढ्नुहोस्
सुन्नुहोस् १ राजाहरू 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजाहरू 3:5-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू