YouVersion लोगो
खोज आइकन

१ राजा 3:5-15

१ राजा 3:5-15 सरल नेपाली

त्‍यस रात परमप्रभुले उनलाई सपनामा दर्शन दिनुभयो र सोध्‍नुभयो, “म तँलाई के दिऊँ? तँ के चाहन्‍छस्?” सोलोमनले उत्तर दिए, “तपाईंले आफ्‍नो सेवक मेरा पिता दाऊदलाई सधैँ औधी माया देखाउनुभयो। उहाँ पनि तपाईंसितको सम्‍बन्‍धमा असल, भक्त र इमानदार हुनुहुन्थ्यो र तपाईंले उहाँलाई एउटा छोरो दिनुभयो, जसले आज उहाँको सट्टामा राज्‍य गर्दै छ र त्‍यसरी उहाँलाई आफ्‍नो महान् र अटुट प्रेम देखाइरहनुभएको छ। हे परमप्रभु परमेश्‍वर! म सानै उमेरको र राजकाज गर्न नजान्‍ने भए पनि तपाईंले मलाई मेरा पिताको सट्टामा राजा बन्‍न दिनुभयो। यहाँ म तपाईंले आफ्‍नो निज प्रजा चुन्‍नुभएको जनका माझमा छु, जसको सङ्‍ख्‍या यति धेरै छ कि तिनीहरूको लेखा लिन सकिँदैन। यसकारण तपाईंका प्रजालाई न्‍यायसित राज्य गर्ने बुद्धि मलाई दिनुहोस्, र त्यसले असल र खराब छुट्ट्याउन सकोस्। नत्र कसरी म यो तपाईंको महान् जातिलाई शासन गर्न सकूँला?” सोलोमनको त्‍यस्‍तो प्रार्थना सुनेर परमप्रभु खुसी हुनुभयो र उनलाई भन्‍नुभयो, “तैँले आफ्‍नो लागि दीर्घायु वा धन-सम्‍पत्ति वा आफ्‍ना शत्रुको नाश मागिनस्; तर न्‍यायसित राज्‍य गर्ने बुद्धि मागिस्। म तैँले मागेअनुसार गर्नेछु। अघि कसैले नपाएको र पछि पनि कसैले पाउन नसक्‍ने बुद्धि र समझ-शक्ति म तँलाई दिनेछु। तैँले नमागेको कुरा पनि म तँलाई दिनेछु। तेरो जीवनभरि अरू सबै राजाका भन्दा बढी धन-सम्‍पत्ति र इज्‍जत तैँले पाउनेछस्। तैँले तेरा पिता दाऊदले झैँ मेरा आज्ञा, नियमहरू र आदेशहरू पालन गरिस् भने म तँलाई दीर्घायु बनाउनेछु।” सोलोमन ब्‍यूँझे। परमेश्‍वरले मसित सपनामा कुरा गर्नुभएको रहेछ भनी उनले थाहा पाए। तब उनी यरूशलेममा गए र परमप्रभुको करारको सन्‍दुकअघि खडा भएर परमप्रभुलाई होमबलि र मेलबलिहरू चढाए। त्‍यसपछि उनले आफ्‍ना भारदारहरूलाई भोज दिए।

१ राजा 3 पढ्नुहोस्