एक दिन हग्गीतको छोरा अदोनियाह सोलोमनकी आमा बतशेबाकहाँ गए। बतशेबाले तिनलाई सोधिन्, “के तिमी शान्तिपूर्वक आएका हौ?”
तिनले जवाफ दिए, “हजुर, शान्तिपूर्वक आएको हुँ।” तब तिनले अझ भने, “मैले तपाईंसित केही कुरा भन्नु छ।”
तिनले जवाफ दिइन्, “अँ, भन!”
तिनले भने, “यो राज्य मेरो थियो भनी तपाईं जान्नुहुन्छ। सारा इस्राएलले मलाई आफ्नो राजाको रूपमा हेरेका थिए। तर कुरा बदलियो र राज्य मेरो भाइ सोलोमनको हातमा गयो। किनकि यो त याहवेहबाटै तिनीकहाँ आएको हो। अब मैले तपाईंसित एउटा बिन्ती गर्दछु, मलाई अस्वीकार नगर्नुहोला।”
तिनले भनिन्, “अँ, भन न।”
यसकारण तिनले भन्न थाले, “तपाईं शूनम्मी अबीशगलाई मेरी पत्नी हुनलाई मलाई दिइयोस् भनी राजा सोलोमनलाई भनिदिनुहोस्। किनकि उनले तपाईंलाई इन्कार गर्न सक्दैनन्।”
बतशेबाले जवाफ दिइन्, “हुन्छ, म तिम्रा निम्ति राजासित कुरा गर्नेछु।”
जब तिनी अदोनियाहको निम्ति राजा सोलोमनसित कुरा गर्न गइन्, तब राजा तिनलाई भेट्न उठे। अनि तिनलाई दण्डवत् गरे, र सिंहासनमा बसे। तिनले राजाकी आमाका निम्ति एउटा सिंहासन ल्याउन लगाए, अनि बतशेबा तिनको दाहिने हातपट्टि बसिन्।
तब तिनले भनिन्, “म तिमीसित एउटा सानो बिन्ती गर्दछु, मलाई इन्कार नगरिदेऊ!”
राजाले जवाफ दिए, “भन्नुहोस्, मेरी आमा! म तपाईंलाई इन्कार गर्नेछैनँ।”
यसकारण तिनले भनिन्, “शूनम्मी अबीशगलाई तिम्रा दाजु अदोनियाहसित विवाह हुन देऊ।”
तब राजा सोलोमनले आफ्नी आमालाई जवाफ दिए, “तपाईंले शूनम्मी अबीशगलाई अदोनियाहको निम्ति किन बिन्ती गर्नुहुन्छ? तपाईंले तिनका लागि राज्य पनि माग्न सक्नुहुन्छ। किनकि जे भए तापनि तिनी मेरो ठूलो दाजु हुन्। तिनका निम्ति अनि पुजारी अबीयाथार र सरूयाहका छोरा योआबका निम्ति पनि माग्न सक्नुहुन्छ!”
तब राजा सोलोमनले याहवेहको नाममा यसरी शपथ खाए: “यस बिन्तीको निम्ति अदोनियाहले आफ्नो प्राण गुमाएनन् भने परमेश्वरले मसित कठोर व्यवहार गरून्! यसकारण अब म शपथ खान्छु, जसले मलाई आफ्ना पिता दावीदको सिंहासनमा दृढतासाथ स्थापित गर्नुभयो र आफूले प्रतिज्ञा गर्नुभएझैँ, मेरा निम्ति एउटा वंश स्थापित गर्नुहुने जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, अदोनियाह आजै मारिनेछ!” यसकारण राजा सोलोमनले यहोयादाका छोरा बनायाहलाई हुकुम दिए। अनि तिनले अदोनियाहलाई प्रहार गरे, र तिनको मृत्यु भयो।
तब पुजारी अबीयाथारलाई राजाले भने, “तपाईं आफ्नो खेत अनातोतमा फर्केर जानुहोस्। तपाईं मारिने योग्यका हुनुहुन्छ; तर म अहिले तपाईंलाई मार्दिनँ। किनकि तपाईंले मेरा पिता दावीदको सामु सर्वशक्तिमान् याहवेहको सन्दुक बोक्नुभएको थियो। मेरा पिताका सबै सङ्कष्टमा साथ दिनुभएको थियो।” यसकारण सोलोमनले अबीयाथारलाई याहवेहको पुजारी पदबाट हटाइदिए। यसरी याहवेहले शीलोमा एलीको घरानाको विषयमा भन्नुभएको कुरा पूरा गरे।
जब यो खबर योआबकहाँ पुग्यो, जसले पहिले अब्शालोमसित त होइन, तर अदोनियाहसित मिलेर षड्यन्त्र गरेका थिए। तब योआब याहवेहको पालमा भागेर गए; अनि वेदीका सिङहरू समाते। योआब पालमा भागेर गई वेदीको छेउमा बसेको कुरा राजा सोलोमनलाई बताइयो। तब सोलोमनले यहोयादाका छोरा बनायाहलाई “जाऊ गएर तिनलाई मार” भनेर आज्ञा दिए।
यसकारण बनायाहले याहवेहको पालमा गएर योआबलाई भने, “राजा भन्नुहुन्छ, ‘बाहिर आऊ!’ ”
तर तिनले जवाफ दिए, “होइन, म यहीँ मर्नेछु।”
बनायाहले राजालाई योआबले भनेका कुरा भनिदिए।
तब राजाले बनायाहलाई हुकुम दिए, “तिनले भनेझैँ गर। तिनलाई मारेर गाडिदेऊ, र म र मेरा पिताका घरानालाई योआबले बगाएको निर्दोष रगतको दोषबाट शुद्ध गरिदेऊ। याहवेहले तिनले बगाएको रगतको साटो फेर्नुहुनेछ। किनकि मेरा पिता दावीदको जानकारीविना नै तिनले दुई जना मानिसहरूमाथि आक्रमण गरेर तिनीहरूलाई तरवारले मारे। ती दुवैलाई अर्थात् इस्राएलको फौजका सेनापति नेरका छोरा अबनेर अनि येतेरका छोरा, यहूदाको फौजका सेनापति अमासा, जो तिनीभन्दा असल र सोझा मानिसहरू थिए। तिनीहरूको रगतको दोष सदाका निम्ति योआब र त्यसका सन्ततिमाथि रहोस्। तर दावीद र तिनका सन्तति, तिनका घराना र तिनको सिंहासनमाथि चाहिँ सदाको निम्ति याहवेहको शान्ति होइरहोस्।”
यसकारण यहोयादाका छोरा बनायाह माथि गए, र योआबलाई प्रहार गरेर मारे। अनि तिनलाई मरुभूमिमा तिनकै जमिनमा गाडिदिए। राजाले योआबको ठाउँमा यहोयादाका छोरा बनायाहलाई आफ्नो फौजको जिम्मा सुम्पिदिए। अनि अबीयाथारको स्थानमा पुजारी सादोकलाई राखिदिए।
त्यसपछि राजाले शिमीलाई बोलाए, र तिनलाई भने, “आफ्ना लागि यरूशलेममा घर बनाऊ, र त्यहीँ बस, अरू कुनै ठाउँमा नजानू। किद्रोनको बेँसी पार गरेको दिन तिमी अवश्य मर्नेछौ। तिम्रो रगत तिम्रै शिरमाथि पर्नेछ।”
शिमीले राजालाई जवाफ दिए, “तपाईंले भन्नुभएको कुरा असल हो। हजुरको सेवकले मेरा मालिक राजाले भन्नुभएझैँ गर्नेछ।” अनि शिमी धेरै समयसम्म यरूशलेममा बसे।
तर तीन वर्षपछि शिमीका दुई जना दासहरू गातका राजा माकाको छोरा आकीशकहाँ भागेर गए। शिमीलाई यसो भनियो, “तपाईंका दासहरू गातमा छन्।” यो सुनेर तिनी आफ्नो गधामा काठी कसेर आफ्ना दासहरूलाई खोज्न आकीशकहाँ गातमा गए। यसरी शिमीले आफ्ना दासहरूलाई गातबाट फर्काइल्याए।
जब सोलोमनलाई शिमी यरूशलेमबाट गातमा गएर फर्केको कुरा बताइयो, तब राजाले शिमीलाई बोलाउन पठाए, र तिनलाई भने, “के मैले तिमीलाई याहवेहको नाममा शपथ खान लगाएर ‘तिमी आफ्नो ठाउँ छोडेर अरू ठाउँमा गएको दिन निश्चय नै मर्नेछौ’ भनेर चेतावनी दिएको थिइनँ? त्यस बेला तिमीले ‘तपाईंले भन्नुभएको कुरा असल हो। म यसलाई पालन गर्नेछु’ भनेर मलाई भन्यौ। तर अहिले किन तिमीले याहवेहसितको तिम्रो शपथ पालन गरेनौ र मैले तिमीलाई दिएको हुकुम सुनेनौ?”
राजाले शिमीलाई यो पनि भने, “तिमीले मेरा पिता दावीदप्रति गरेका सबै कुकर्महरू तिमीलाई थाहै छ। अब याहवेहले तिम्रा सबै कुकर्महरूको साटो लिनुहुनेछ। तर राजा सोलोमनले भने आशिष् पाउनेछन्, र दावीदको सिंहासन याहवेहको सामु सदा सुरक्षित रहनेछ।”
तब राजाले यहोयादाका छोरा बनायाहलाई हुकुम दिए। अनि तिनले शिमीलाई प्रहार गरेर मारे।
यसरी राज्य सोलोमनको हातमा स्थापित भयो।