१ राजाहरू 2:13-46
१ राजाहरू 2:13-46 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब हग्गीतका छोरा अदोनियाह सोलोमनकी आमा बतशेबाकहाँ आए। बतशेबाले उनलाई सोधिन्, “के तिमी शान्तिसितै आएका हौ?” उनले जवाफ दिए, “हजूर।” तब उनले अझै भने, “मैले तपाईंलाई केही भन्नु छ।” तिनले भनिन्, “भन।” अदोनियाहले भने, “तपाईंलाई थाहै छ, कि राज्य त मेरै थियो। सबै इस्राएलले म नै राजा हुनेछु भनी सोचिरहेका थिए। तर सबै थोक उल्टियो। राज्य मेरा भाइको भयो। किनकि परमप्रभुको इच्छाअनुसार त्यो तिनको नै थियो। अब मैले तपाईंलाई एउटा बिन्ती चढ़ाउनुपरेको छ। त्यो इन्कार नगर्नुहोला।” तिनले भनिन्, “त्यो के हो?” उनले भने, “मैले शूनम्मी अबीशगलाई विवाह गर्न पाऊँ भनी सोलोमन राजालाई बिन्ती गरिदिनुहोस्।” बतशेबाले जवाफ दिइन्, “हुन्छ, तिम्रो निम्ति म राजासँग कुरा गरिदिनेछु।” जब अदोनियाहको निम्ति कुरा गरिदिनलाई बतशेबा राजाकहाँ गइन्, तब राजा तिनलाई स्वागत गर्नलाई उठे र तिनलाई दण्डवत् गरे अनि सिंहासनमा बसे। राजाकी आमाको निम्ति सोलोमनले एउटा सिंहासन ल्याउने हुकुम दिए, र तिनी राजाको दाहिनेपट्टि बसिन्। तिनले भनिन्, “मैले एउटा सानो बिन्ती तिमीसँग गर्नुपरेको छ। त्यो मलाई इन्कार नगर।” राजाले जवाफ दिए, “के भन्नु छ, आमा? म तपाईंलाई त्यो इन्कार गर्नेछैनँ।” तिनले भनिन्, “शूनम्मी अबीशगको विवाह तिम्रा दाजु अदोनियाहसँग गरिदेऊ।” राजा सोलोमनले आफ्नी आमालाई जवाफ दिए, “शूनम्मी अबीशगलाई अदोनियाहसँग विवाह गरिदिनलाई तपाईं किन बिन्ती गर्नुहुन्छ? तपाईंले राज्य नै माग्नुभए पनि हुन्थ्यो, किनभने उनी मेरा दाज्यै हुन्— हो, अबियाथार पूजाहारी र सरूयाहका छोरा योआबका निम्ति पनि।” तब सोलोमन राजाले परमप्रभुको नाउँमा शपथ खाएर भने, “यस बिन्तीको निम्ति अदोनियाहले आफ्नो ज्यान गुमाएनन् भने परमेश्वरले मसँग कठोरभन्दा कठोर व्यवहार गरून्। अब मलाई मेरा पिता दाऊदको सिंहासनमा नियुक्त गर्नुहुने र आफ्नो प्रतिज्ञाअनुसार मेरो वंश खड़ा गर्नुहुने जीवित परमप्रभुको नाउँमा म भन्छु, कि आज नै अदोनियाह मारिनेछ!” तब सोलोमन राजाले यहोयादाका छोरा बनायाहलाई हुकुम गरे, र तिनले अदोनियाहलाई हिर्काएर मारे। अबियाथार पूजाहारीलाई राजाले भने, “अनातोतमा तिम्रो आफ्नै जग्गाजमिनमा जाऊ। तिमी त मारिन योग्यका छौ, तर म अहिले तिमीलाई मार्नेछैनँ, किनभने तिमीले मेरा पिता दाऊदको सामुन्ने परमप्रभुको सन्दूक बोक्ने गर्थ्यौ, र उहाँले सहनुभएका सबै दु:खमा तिमी सहभागी भएका थियौ।” यसैले सोलोमनले अबियाथारलाई परमप्रभुका पूजाहारीको कामबाट खारिज गरिदिए। यसरी नै शीलोमा एलीका घरानाको विषयमा परमप्रभुले दिनुभएको वचन पूरा भयो। जब यो समाचार योआबकहाँ पुग्यो, जसले अब्शालोमसँग होइन, तर अदोनियाहसँग षड्यन्त्र रचेको थियो, तब उनी परमप्रभुको पालमा भागेर गए, र वेदीका सीङहरू समातेर बसे। योआब परमप्रभुको पालमा भागेर वेदीको छेउमा बसेका छन् भन्ने कुरा जब राजा सोलोमनले सुने, तब तिनले यहोयादाका छोरा बनायाहलाई योआबलाई हिर्काएर मार्ने हुकुम दिएर पठाए। यसैले बनायाह परमप्रभुको पालमा पसे र योआबलाई भने, “राजा भन्नुहुन्छ, ‘बाहिर आऊ’।” तर योआबले जवाफ दिए, “अँहँ, म यहीँ नै मर्छु।” बनायाहले राजालाई योआबको कुरा सुनाए। तब राजाले बनायाहलाई हुकुम गरे, “त्यसले भनेअनुसार नै गर। त्यसलाई मारेर गाड़िदेऊ, र यसरी योआबले निर्दोष रगत बगाएको दोष म र मेरा पिताको घरानाबाट क्षमा गरिदेऊ। त्यसले बगाएको रगतको सट्टा परमप्रभुले त्यसलाई नै लिनुहुनेछ, किनभने मेरा पिता दाऊदले थाहै नपाई त्यसले आफूभन्दा अझ असल र सोझा दुई जना निर्दोष मानिसहरूलाई— इस्राएलका सेनापति नेरका छोरा अबनेर र यहूदाका सेनापति येतेरका छोरा अमासालाई— आक्रमण गरेर तरवारले मारेका थिए। तिनीहरूका रगतको दोष योआब र त्यसका सन्तानमाथि सधैँभरि रहोस्। तर दाऊद र उहाँका सन्तान, उहाँका घराना र उहाँको सिंहासनमाथि परमप्रभुबाटको शान्ति सदासर्वदा रहोस्।” यसैले यहोयादाका छोरा बनायाह वेदीमा उक्लेर गए, र योआबलाई हिर्काएर मारे, र मरुभूमिमा भएको उनको जमिनमा उनलाई गाड़े। राजाले यहोयादाका छोरा बनायाहलाई योआबको सट्टामा सेनापति नियुक्त गरे, र अबियाथारको सट्टामा सादोकलाई पूजाहारी नियुक्त गरे। त्यसपछि राजाले शिमीलाई बोलाइपठाए, र उनलाई भने, “यरूशलेममा आफ्नो निम्ति एउटा घर बनाएर त्यहीँ नै बस।” सहर छोड़ेर अरू कुनै ठाउँमा तिमी नजानू। सहर छोड़ेर किद्रोन खोल्सा पार गर्यौ भने तिमी मर्नेछौ। त्यसो गरे तिम्रो रगतको दोष तिमीमाथि नै पर्नेछ।” शिमीले राजालाई जवाफ दिए, “हजूरले जे भन्नुहुन्छ, त्यो असलै छ। मेरा प्रभु महाराजाले आफ्नो सेवकलाई भन्नुभएझैँ म गर्नेछु।” अनि धेरै समयसम्म शिमी यरूशलेममा बसे। तर तीन वर्षपछि उनका दुई जना दासहरू गातका राजा माकाका छोरा आकीशकहाँ भागेर गए। जब शिमीले “तिम्रा दासहरू गातमा छन्” भनी सुने, तब उनी आफ्नो गधामा जीनकाठी कसेर आफ्ना दासहरूलाई खोज्न गातमा आकीशकहाँ गए। यसरी शिमी गएर गातबाट आफ्ना दासहरूलाई ल्याए, जब सोलोमन राजालाई शिमी यरूशलेमबाट गातमा गएर फर्केका समाचार सुनाइयो, तब तिनले शिमीलाई बोलाइपठाए, र भने, “के मैले तिमीलाई परमप्रभुको नाउँमा शपथ खान लगाई यसो भनेर चेताउनी दिएको थिइनँ: ‘जुन दिन अन्त कहीँ जानलाई यो ठाउँ छोड़्यौ भने तिमी निश्चय नै मर्नेछौ’? त्यस बेला तिमीले मलाई भन्यौ, ‘हजूरले जे भन्नुभयो त्यो असलै छ। म हजूरको हुकुम पालन गर्नेछु’। परमप्रभुको भाकल र मैले दिएको हुकुम तिमीले किन पालन गरेनौ?” तब राजाले शिमीलाई यसो पनि भने, “मेरा पिता दाऊदलाई गरेका सबै दुष्ट्याइँ तिमीलाई आफ्नो हृदयमा थाहै छ। अब परमप्रभुले त्यस दुष्ट्याइँको साटो लिनुहुन्छ। तर सोलोमन राजा आशिषित हुनेछन्, र परमप्रभुको सामुन्ने दाऊदको सिंहासन सदासर्वदै सुरक्षित रहनेछ।” तब राजाले यहोयादाका छोरा बनायाहलाई हुकुम दिए, र तिनी बाहिर गए, र शिमीलाई हिर्काएर मारे। यसरी अब सोलोमन राजाको राज्य सुदृढ़साथ स्थापित भयो।
१ राजाहरू 2:13-46 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एक दिन हग्गीतको छोरा अदोनियाह सोलोमनकी आमा बतशेबाकहाँ गए। बतशेबाले तिनलाई सोधिन्, “के तिमी शान्तिपूर्वक आएका हौ?” तिनले जवाफ दिए, “हजुर, शान्तिपूर्वक आएको हुँ।” तब तिनले अझ भने, “मैले तपाईंसित केही कुरा भन्नु छ।” तिनले जवाफ दिइन्, “अँ, भन!” तिनले भने, “यो राज्य मेरो थियो भनी तपाईं जान्नुहुन्छ। सारा इस्राएलले मलाई आफ्नो राजाको रूपमा हेरेका थिए। तर कुरा बदलियो र राज्य मेरो भाइ सोलोमनको हातमा गयो। किनकि यो त याहवेहबाटै तिनीकहाँ आएको हो। अब मैले तपाईंसित एउटा बिन्ती गर्दछु, मलाई अस्वीकार नगर्नुहोला।” तिनले भनिन्, “अँ, भन न।” यसकारण तिनले भन्न थाले, “तपाईं शूनम्मी अबीशगलाई मेरी पत्नी हुनलाई मलाई दिइयोस् भनी राजा सोलोमनलाई भनिदिनुहोस्। किनकि उनले तपाईंलाई इन्कार गर्न सक्दैनन्।” बतशेबाले जवाफ दिइन्, “हुन्छ, म तिम्रा निम्ति राजासित कुरा गर्नेछु।” जब तिनी अदोनियाहको निम्ति राजा सोलोमनसित कुरा गर्न गइन्, तब राजा तिनलाई भेट्न उठे। अनि तिनलाई दण्डवत् गरे, र सिंहासनमा बसे। तिनले राजाकी आमाका निम्ति एउटा सिंहासन ल्याउन लगाए, अनि बतशेबा तिनको दाहिने हातपट्टि बसिन्। तब तिनले भनिन्, “म तिमीसित एउटा सानो बिन्ती गर्दछु, मलाई इन्कार नगरिदेऊ!” राजाले जवाफ दिए, “भन्नुहोस्, मेरी आमा! म तपाईंलाई इन्कार गर्नेछैनँ।” यसकारण तिनले भनिन्, “शूनम्मी अबीशगलाई तिम्रा दाजु अदोनियाहसित विवाह हुन देऊ।” तब राजा सोलोमनले आफ्नी आमालाई जवाफ दिए, “तपाईंले शूनम्मी अबीशगलाई अदोनियाहको निम्ति किन बिन्ती गर्नुहुन्छ? तपाईंले तिनका लागि राज्य पनि माग्न सक्नुहुन्छ। किनकि जे भए तापनि तिनी मेरो ठूलो दाजु हुन्। तिनका निम्ति अनि पुजारी अबीयाथार र सरूयाहका छोरा योआबका निम्ति पनि माग्न सक्नुहुन्छ!” तब राजा सोलोमनले याहवेहको नाममा यसरी शपथ खाए: “यस बिन्तीको निम्ति अदोनियाहले आफ्नो प्राण गुमाएनन् भने परमेश्वरले मसित कठोर व्यवहार गरून्! यसकारण अब म शपथ खान्छु, जसले मलाई आफ्ना पिता दावीदको सिंहासनमा दृढतासाथ स्थापित गर्नुभयो र आफूले प्रतिज्ञा गर्नुभएझैँ, मेरा निम्ति एउटा वंश स्थापित गर्नुहुने जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, अदोनियाह आजै मारिनेछ!” यसकारण राजा सोलोमनले यहोयादाका छोरा बनायाहलाई हुकुम दिए। अनि तिनले अदोनियाहलाई प्रहार गरे, र तिनको मृत्यु भयो। तब पुजारी अबीयाथारलाई राजाले भने, “तपाईं आफ्नो खेत अनातोतमा फर्केर जानुहोस्। तपाईं मारिने योग्यका हुनुहुन्छ; तर म अहिले तपाईंलाई मार्दिनँ। किनकि तपाईंले मेरा पिता दावीदको सामु सर्वशक्तिमान् याहवेहको सन्दुक बोक्नुभएको थियो। मेरा पिताका सबै सङ्कष्टमा साथ दिनुभएको थियो।” यसकारण सोलोमनले अबीयाथारलाई याहवेहको पुजारी पदबाट हटाइदिए। यसरी याहवेहले शीलोमा एलीको घरानाको विषयमा भन्नुभएको कुरा पूरा गरे। जब यो खबर योआबकहाँ पुग्यो, जसले पहिले अब्शालोमसित त होइन, तर अदोनियाहसित मिलेर षड्यन्त्र गरेका थिए। तब योआब याहवेहको पालमा भागेर गए; अनि वेदीका सिङहरू समाते। योआब पालमा भागेर गई वेदीको छेउमा बसेको कुरा राजा सोलोमनलाई बताइयो। तब सोलोमनले यहोयादाका छोरा बनायाहलाई “जाऊ गएर तिनलाई मार” भनेर आज्ञा दिए। यसकारण बनायाहले याहवेहको पालमा गएर योआबलाई भने, “राजा भन्नुहुन्छ, ‘बाहिर आऊ!’ ” तर तिनले जवाफ दिए, “होइन, म यहीँ मर्नेछु।” बनायाहले राजालाई योआबले भनेका कुरा भनिदिए। तब राजाले बनायाहलाई हुकुम दिए, “तिनले भनेझैँ गर। तिनलाई मारेर गाडिदेऊ, र म र मेरा पिताका घरानालाई योआबले बगाएको निर्दोष रगतको दोषबाट शुद्ध गरिदेऊ। याहवेहले तिनले बगाएको रगतको साटो फेर्नुहुनेछ। किनकि मेरा पिता दावीदको जानकारीविना नै तिनले दुई जना मानिसहरूमाथि आक्रमण गरेर तिनीहरूलाई तरवारले मारे। ती दुवैलाई अर्थात् इस्राएलको फौजका सेनापति नेरका छोरा अबनेर अनि येतेरका छोरा, यहूदाको फौजका सेनापति अमासा, जो तिनीभन्दा असल र सोझा मानिसहरू थिए। तिनीहरूको रगतको दोष सदाका निम्ति योआब र त्यसका सन्ततिमाथि रहोस्। तर दावीद र तिनका सन्तति, तिनका घराना र तिनको सिंहासनमाथि चाहिँ सदाको निम्ति याहवेहको शान्ति होइरहोस्।” यसकारण यहोयादाका छोरा बनायाह माथि गए, र योआबलाई प्रहार गरेर मारे। अनि तिनलाई मरुभूमिमा तिनकै जमिनमा गाडिदिए। राजाले योआबको ठाउँमा यहोयादाका छोरा बनायाहलाई आफ्नो फौजको जिम्मा सुम्पिदिए। अनि अबीयाथारको स्थानमा पुजारी सादोकलाई राखिदिए। त्यसपछि राजाले शिमीलाई बोलाए, र तिनलाई भने, “आफ्ना लागि यरूशलेममा घर बनाऊ, र त्यहीँ बस, अरू कुनै ठाउँमा नजानू। किद्रोनको बेँसी पार गरेको दिन तिमी अवश्य मर्नेछौ। तिम्रो रगत तिम्रै शिरमाथि पर्नेछ।” शिमीले राजालाई जवाफ दिए, “तपाईंले भन्नुभएको कुरा असल हो। हजुरको सेवकले मेरा मालिक राजाले भन्नुभएझैँ गर्नेछ।” अनि शिमी धेरै समयसम्म यरूशलेममा बसे। तर तीन वर्षपछि शिमीका दुई जना दासहरू गातका राजा माकाको छोरा आकीशकहाँ भागेर गए। शिमीलाई यसो भनियो, “तपाईंका दासहरू गातमा छन्।” यो सुनेर तिनी आफ्नो गधामा काठी कसेर आफ्ना दासहरूलाई खोज्न आकीशकहाँ गातमा गए। यसरी शिमीले आफ्ना दासहरूलाई गातबाट फर्काइल्याए। जब सोलोमनलाई शिमी यरूशलेमबाट गातमा गएर फर्केको कुरा बताइयो, तब राजाले शिमीलाई बोलाउन पठाए, र तिनलाई भने, “के मैले तिमीलाई याहवेहको नाममा शपथ खान लगाएर ‘तिमी आफ्नो ठाउँ छोडेर अरू ठाउँमा गएको दिन निश्चय नै मर्नेछौ’ भनेर चेतावनी दिएको थिइनँ? त्यस बेला तिमीले ‘तपाईंले भन्नुभएको कुरा असल हो। म यसलाई पालन गर्नेछु’ भनेर मलाई भन्यौ। तर अहिले किन तिमीले याहवेहसितको तिम्रो शपथ पालन गरेनौ र मैले तिमीलाई दिएको हुकुम सुनेनौ?” राजाले शिमीलाई यो पनि भने, “तिमीले मेरा पिता दावीदप्रति गरेका सबै कुकर्महरू तिमीलाई थाहै छ। अब याहवेहले तिम्रा सबै कुकर्महरूको साटो लिनुहुनेछ। तर राजा सोलोमनले भने आशिष् पाउनेछन्, र दावीदको सिंहासन याहवेहको सामु सदा सुरक्षित रहनेछ।” तब राजाले यहोयादाका छोरा बनायाहलाई हुकुम दिए। अनि तिनले शिमीलाई प्रहार गरेर मारे। यसरी राज्य सोलोमनको हातमा स्थापित भयो।
१ राजाहरू 2:13-46 पवित्र बाइबल (NERV)
तब हग्गीतको छोरा अदोनियाह सुलेमानकी आमा बतशेबा समक्ष गए। बतशेबाले उनलाई सोधिन्, “के तिमी शान्त मन लिएर आएका हौ?” अदोनियाहले जवाफ दिए, “ज्यू, यो शान्तिपूर्ण भेट नै हो। मैले तपाईंलाई केही भन्नु छ।” बतशेबाले, “भन भनिन्।” अदोनियाहले भने, “तपाईंलाई सम्झना छ कुनै समय राज्य मेरो थियो। इस्राएलका सबै जनगण मलाई राजा ठान्दै थिए। तर स्थिति बदलियो। अहिले मेरो भाइ राजा भएको छ परमेश्वरले उसलाई राजाको रूपमा चुन्नुभयो। यसर्थ अहिले म तपाईंसँग एक कुरा सोध्न चाहन्छु। कृपया मलाई हुँदैन नभन्नु होला।” बतशेबाले भनिन्, “तिमी के चाहन्छौ?” अदोनियाहले भने, “मलाई थाहा छ तपाईंले भनेको कुनै पनि कुरा राजा सुलेमान मान्नु हुन्छ। कृपया शूनम्मी युवती अबीशगसँग विवाह गर्ने अनुमति मलाई उनीबाट दिलाई दिनुहोस्।” तब बतशेबाले भनिन्, “ठीक छ, म तिम्रो लागि राजासँग कुरा गर्नेछु।” यसकारण बतशेबा राजा सुलेमानसँग कुराकानी गर्न गइन्। राजा सुलेमानले उनलाई देखे अनि उनीसँग कुरा गर्न उभिए। तब उनले निहुरिएर ढोग भेट गरे अनि सिंहासनमा बसे। उनले चाकरहरूलाई आमाका लागि अर्को सिंहासन ल्याउन भने। तब तिनी उनको दाहिने पट्टि बसिन्। बतशेवाले उनलाई भनिन्, “म तँलाई एउटा सानो कुराका भन्छु। कृपया मलाई हुदैन नभन्नु।” राजाले भने, “आमा, तपाईंले चाहेको कुनै पनि कुरा माग्न सक्नु हुनेछ। म तपाईंलाई नाइनास्ति गर्ने छैन।” यसर्थ बतशेबाले भनिन्, “शूनम्मी अबीशगसँग विवाह गर्ने अनुमति तेरो दाजु अदोनियाहलाई दे।” राजा सुलेमानले आफ्नी आमालाई जवाफ दिए, “तपाईं किन मसित अबीशगलाई दिन माग्नु हुँदैछ? यो मलाई उसलाई राज्य देऊ भनी माग्नु जस्तैं नै हो। जे भए ता पनि उनी मेरो ठूला दाज्यू हुन्। पूजाहारी एबीयातार र सरूथाहका छोरो योआबले उनलाई सघाउने छन्!” तब राजा सुलेमानले परमप्रभुको नाउँमा शपथ गरे। उसले भने, “यदि मैले यसका लागि अदोनियाहलाई दण्ड दिइन भने परमेश्वरसित मलाई नराम्रो गर्नुहोस् भनी प्रार्थना गर्नेछु अनि उसले आफ्नो जीवनद्वारा मूल्य चुकाउनु पर्नेछ। परमप्रभुले मलाई इस्राएलको राजा बनाउनुभयो। उहाँले मलाई मेरा पिता दाऊदको राज-सिंहासन दिनुभएकोछ परमेश्वरले आफ्नो वचन पूरा गर्नुभयो अनि राज्य म र मेरो परिवारलाई दिनुभयो। जसरी साँच्चैनै परमप्रभु जीवित हुनुहुन्छ भने अदोनिया आजनै मर्नेछ।” राजा सुलेमानले यहोदाका छोरा बनायाहलाई आदेश दिए। बनायाह बाहिर निस्किए अनि अदोनियाहलाई मारे। तब राजा सुलेमानले पूजाहारी एबीयातारलाई भने, “मैले तँलाई मार्नु पर्थ्यो, तर म तँलाई आफ्नो घर अनातोत फर्किने मौका दिन्छु। म तँलाई अहिले मार्ने छैन् किनभने तैंले परमप्रभु हाम्रा मालिकको पवित्र सन्दूक मेरो पिताको राजा दाऊदको निम्ति बोकेको थिइस् अनि मेरो पिताको सबै कष्ट विभाजन गरेको थिइस्।” सुलेमानले एबीयातारलाई परमेश्वरको पूजाहारीको रूपमा सेवा गर्न नपाउने कुरा बताए। यो यसरी नै भयो जसरी परमेश्वरले बताउनु भएको थियो। परमेश्वरले पूजाहारी एली अनि उनको परिवारको विषयमा शीलोमा बताउनु भएको थियो। एबीयातार एली परिवारका थिए। योआबले यस विषयमा सुने अनि डराए। उनले अदोनियाहको समर्थन गरेका थिए, तर अब्शालोमले गरेनन्। योआब परमेश्वरको पालतिर दगुरे अनि वेदीको सींग समात्न पुगे। कसैले राजा सुलेमानलाई बताए योआब परमेश्वरको पालको वेदीमा छ। यस कारण सुलेमानले यहोयादाका छोरा बनायाहलाई गएर उसलाई मार्ने आदेश दिए। बनायाह परमेश्वरको पालमा गए अनि योआबलाई भने, “राजाको आदेश छ, ‘बाहिर आइज!’” तर योआबले जवाफ दिए, “होइन, म यहीं नै मर्छु।” यसकारण बनायाह फर्केर राजा कहाँ आए अनि उनलाई योआबले भनेको कुरा बताए। तब राजाले बनायाहलाई आदेश दिए, “ऊ जसो भन्छ त्यसै गर! उसलाई त्यहीं मार अनि गाडिदे। तब मेरो परिवार अनि म योआबको दोषबाट मुक्त हुनेछौं। योआबले निर्दोष मानिसहरूको हत्या गरेको हुनाले यो दोष सृष्टि भएको थियो। योआबले ऊ भन्दा धेरै निर्दोष मानिसहरूको हत्या गर्यो। तिनीहरू नेरका छोरा अबनेर अनि येतेरका छोरा अमासा थिए। अबनेर इस्राएलको सेनाका सेनापति थिए अनि अमासा यहूदाको सेनाका सेनापति थिए। मेरो पिता दाऊद यहाँ थिएनन् तिनीहरू योआबद्वारा मारिएको हो भनि यसकारण परमप्रभुले योआबलाई उसले मारेका मानिसहरूको दण्ड दिनुहुनेछ। तिनीहरूको मृत्युका लागि ऊ अपराधी हुनेछ अनि उसको परिवार पनि सदाका लागि दोषी हुनेछ। तर परमेश्वरले दाऊद, उनका सन्तानहरू, उनको राज परिवार र उनको राज्यलाई सदा नै शान्ति दिनु हुनेछ।” यसै कारण यहोयादाका छोरा बनायाहले योआबलाई मारे। योआबलाई मरुभूमिमा उनको घरको नजिकै नै गाडीयो। तब सुलेमानले यहोयादाका छोरा बनायाहलाई योआबको ठाउँमा सेनाको सेनापति बनाए। सुलेमानले एबीयातारको ठाउँमा सादोकलाई नयाँ पूजाहारीको पदमा नियुक्त पनि गरे। त्यसपछि राजाले शिमीलाई बोलाए। राजाले उनलाई भने, “यहाँ यरूशलेममा आफ्नोलागि एउटा घर बनाऊ। त्यस घरमा बस अनि शहर नछोड। यदि तिमी शहर छोडछौ अनि किद्रोनको खोल्सा पारी जान्छौ भने तिमीलाई मारिने छ अनि यो नै तिम्रो आफ्नो दोष हुनेछ।” यसकारण शिमीले जवाफ दिए, “महाराज, ठीकै छ। म तपाईंको आदेश पालन गर्नेछु।” यस कारण शिमी लामो अवधिसम्म यरूशलेममा बसे। तर तीन बर्षपछि शिमीका दुइ जना दासहरू भागे। तिनीहरू गातका राजा, माकाका छोरा आकीश कहाँ गए। शिमीले सुने, उनका दासहरू गातमा छन्। यसर्थ शिमीले आफ्नो जिन खच्चडमाथि राखे अनि गातमा राजा आकी शसमक्ष आफ्ना दासहरू लिन गएका थिए। उनले तिनीहरूलाई त्यहाँ भेटे अनि घर फर्काए। तर कसैले सुलेमानलाई सुनायो, शिमी यरूशलेमबाट गात गए अनि फर्केर आए। यस कारण सुलेमानले उनलाई बोलाए। सुलेमानले भने, “मैले परमेश्वरको नाउँमा तँ सित शपथ गराएको यदि तैंले यरूशलेम छाडिस भने तँ मर्ने छस्। मैले चेताउनी दिएको थिएँ, यदि तँ कत्तै गइस् भने तँ मारिने छस् अनि त्यो तेरो आफ्नै दोष हुनेछ जे भनेको थिंए त्यसमा तँ समहत भइस् तैंले भनिस् तैंले मेरो आज्ञा पालन गर्नेछु। परमप्रभुको नाउँमा तैंले गरेको प्रतिज्ञा किन उलंघन गरिस्? किन तैंले मेरो आज्ञा पालन गरिनस्? तँलाई थाहा छ तैंले मेरा पिताको विरूद्धमा धेरै भूल कामहरू गरेको थिइस्। अब ती भूल कामका लागि परमेश्वरले तँलाई दण्ड दिनु हुनेछ। तर परमेश्वरले मलाई आशीर्वाद दिनु हुनेछ। उहाँले दाऊदको राज्यलाई सधैँ नै सुरक्षित राख्ननु हुनेछ।” तब राजा सुलेमानले यहोयादको छोरा बनायाहलाई शिमीको हत्या गर्ने हुकूम दिए अनि उनले त्यसै पालन गरे। अब राज्यमा सुलेमानको पूर्ण नियन्त्रण थियो।
१ राजाहरू 2:13-46 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब अदोनियाह, जसकी आमा हग्गित थिइन्, सोलोमनकी आमा बतशेबाकहाँ गए। तिनले भनिन्, “राम्रै मनले भेट्न आएको होला नि!” “हो,” उनले भने, “मेरो तपाईंसित एउटा बिन्ती छ।” “कस्तो बिन्ती?” तिनले सोधिन्। अदोनियाहले जवाफ दिए, “तपाईंलाई थाहा छ कि म राजा हुनुपर्थ्यो र इस्राएलका सबै मानिसहरूले त्यस्तो आशा गरेका थिए। तर कुरा अर्कै भयो र मेरा भाइ राजा भए। परमप्रभुको त्यही इच्छा थियो। र अब मेरो एउटा बिन्ती छ, कृपा गरी हुँदैन नभन्नु होला।” “कस्तो बिन्ती भन त,” बतशेबाले भनिन्। उनले भने, “शूनम्मीबाट आएकी केटी अबीशगलाई मेरी स्वास्नी हुन सोलोमन राजासित बिन्ती गरिदिनुहोस्। तपाईंलाई उनले ‘नाइँ’ भन्नेछैनन्, त्यो म जान्दछु।” “हुन्छ, म राजासित तिम्रो बारेमा कुरा गरूँला,” तिनले उत्तर दिइन्। यसकारण अदोनियाहबारे कुरा गर्न बतशेबा राजाकहाँ गइन्। आमालाई स्वागत गर्दै राजा उभिए र आमालाई ढोगे। तब उनी आफ्नो सिंहासनमा बसे र अर्को सिंहासन ल्याउन लाएर त्यसमा आफ्नी आमालाई दाहिनेपट्टि बस्न लाए। आमाले भनिन्, “मेरो एउटा सानो बिन्ती छ, अस्वीकार नगर है।” “कस्तो बिन्ती, आमा?” उनले सोधे, “म अस्वीकार गर्दिन।” तिनले भनिन्, “तिम्रा दाजु अदोनियाहलाई अबीशगसित विवाह गर्न देऊ।” राजाले सोधे, “किन अबीशग उनलाई दे भन्नुहुन्छ? बरु उनलाई सिंहासन नै दिइहाल् भन्नुहोस् न। आखिर उनी मेरा ठूल्दाइ हुन् र अबियाथार पूजाहारी र योआब उनीपट्टि लागेका छन्।” त्यसपछि सोलोमनले परमप्रभुको नाउँमा गम्भीर प्रतिज्ञा गरे, “यो कुरा मागेको कारणले त्यसको दाम आफ्नो प्राण दिएर अदोनियाहलाई तिर्न लाइन भने परमेश्वरले मलाई मारून्! अब मलाई स्थिर गर्नुहुने र मलाई मेरा पिता दाऊदको सिंहासनमा बसाल्नुहुने र आफ्नो प्रतिज्ञाअनुसार मेरो वंश खडा गर्नुहुने जीवित परमप्रभुलाई साक्षी राखी दृढतासाथ म भन्दछु कि आज नै अदोनियाह मारिनेछ!” तब सोलोमन राजाले बनायाहलाई आज्ञा गरे र गएर उनले अदोनियाहलाई मारे। त्यसपछि सोलोमन राजाले अबियाथार पूजाहारीलाई भने, “आफ्नो गाउँ अनातोतको घरमा जाऊ। तिमी मारिनु उचित छ तर म अहिले तिम्रो प्राण लिनेछैनँ किनभने मेरा पिता दाऊदसित छँदा तिमीले परमप्रभुको करारको सन्दुकको जिम्मावारी लिएका थियौ र उनका सबै दु:ख-कष्टमा भाग लिएका थियौ।” तब सोलोमनले अबियाथारलाई परमप्रभुको पूजाहारीको कामबाट खारेज गरिदिए र यसरी शीलोमा पूजाहारी एली र उनका सन्तानहरूबारे परमप्रभुले भन्नुभएको वचन पूरा भयो। त्यसको खबर योआबले पाए। (उनले अदोनियाहको पक्ष लिएका थिए तर अब्शालोमको चाहिँ होइन) यसकारण उनी भागेर परमप्रभुको पवित्र पालमा गए र वेदीका दुई कुनाका चोसाहरू समातेर उभिए। योआब भागेर परमप्रभुको पवित्र पालमा गई वेदीछेउ बसेको छ भन्ने खबर सोलोमन राजाकहाँ पुग्यो। सोलोमन राजाले योआबलाई मार्न बनायाहलाई पठाए। उनले परमप्रभुको पवित्र पालमा गई योआबलाई भने, “राजाले तिमीलाई बाहिर आउने आज्ञा गरेका छन्।” योआबले उत्तर दिए, “अँहँ, म यहीँ मर्नेछु।” बनायाह राजाकहाँ फर्किगए र योआबले भनेका कुरा सुनाइदिए। सोलोमनले भने, “योआबले भनेझैँ गर। त्यसलाई मारेर गाडिदेऊ। त्यसो भएपछि योआबले निर्दोष मानिसहरू मारेर गरेको दोषको निम्ति म वा दाऊदका अरू कुनै सन्तान अब उसो जिम्मावार रहनेछैन। मेरा पिता दाऊदलाई थाहै नदिई योआबले गरेको हत्याको कारणले परमप्रभुले उसलाई दण्ड दिनुहुनेछ। योआबले आफूभन्दा असल दुई जना निर्दोष मानिसहरू इस्राएली सेनाका सेनापति अबनेर र यहूदाका सेनापति अमासालाई मारेको थियो। तिनीहरूको हत्याको लागि योआब र त्यसका सन्तानले सधैँभरि दण्ड पाउनेछन्। तर दाऊदका सन्तान, जो उनको सिंहासनमा बस्नेछन्, उनीहरूलाई परमप्रभुले सधैँ भलाइ गर्नुहुनेछ।” यसकारण बनायाहले परमप्रभुको पवित्र पालमा गएर योआबलाई मारे र उसलाई खुला मैदानमा उसकै घरनिर गाडे। राजाले बनायाहलाई योआबको स्थानमा सेनापति र सादोकलाई अबियाथारको स्थानमा पूजाहारी बनाए। त्यसपछि राजाले शिमीलाई बोलाएर भने, “यहाँ यरूशलेममा आफ्नो लागि एउटा घर बनाऊ। त्यहाँ बास गर्नू र सहर छोडेर नजानू। सहर छोडेर किद्रोनको खोल्सा नाघेर पारि गयौ भने तिमी निश्चय मारिनेछौ र त्यसको लागि तिमी आफैं जिम्मेवार हुनेछौ।” “जो आज्ञा महाराज,” शिमीले जवाफ दिए, “हजुरको आज्ञा म पालन गर्नेछु।” र धेरै दिनसम्म ती यरूशलेममा रहे। तीन वर्षपछि शिमीका दुई कमाराहरू गातका राजा माकाका छोरा आकीशकहाँ भागेर गए। ती दुई गातमा छन् भनी शिमीले सुने। तिनीहरूलाई खोज्न आफ्नो गधा कसी त्यसमा सवार भई शिमी गातमा आकीश राजाकहाँ गए। ती दुईलाई भेट्टाएर शिमीले घर फर्काएर ल्याए। शिमीले त्यसो गरेको सुनेर सोलोमनले तिनलाई बोलाएर भने, “यरूशलेम नछोड्न मैले तिमीलाई परमप्रभुको नाउँमा प्रतिज्ञा गर्न लाएथें र मैले यस्तो चेतावनी पनि दिएथें कि यरूशलेम छोडी गयौ भने तिमी निश्चय मारिनेछौ। के तिमी त्यस कुरामा राजी भएका होइनौ र? मेरा कुरा मान्छु भनी भनेका होइनौ? किन आफ्नो प्रतिज्ञा तोड्यौ र मेरो आज्ञा भङ्ग गर्यौ? मेरा पिता दाऊदसित कस्तो दुष्ट्याइँ गरेका थियौ, त्यो तिमीलाई राम्ररी थाहा छ। त्यसको निम्ति परमप्रभुले तिमीलाई सजाय दिनुहुनेछ। तर उहाँले मलाई आशीर्वाद दिनुहुनेछ र सदाकालको निम्ति दाऊदको राज्यलाई सुरक्षित राख्नुहुनेछ।” त्यसपछि राजाले बनायाहलाई आज्ञा गरे र उनले गएर शिमीलाई मारे। तब सबै अधिकार सोलोमनका हातमा आयो।