तब अदोनियाह, जसकी आमा हग्गित थिइन्, सोलोमनकी आमा बतशेबाकहाँ गए। तिनले भनिन्, “राम्रै मनले भेट्न आएको होला नि!”
“हो,” उनले भने, “मेरो तपाईंसित एउटा बिन्ती छ।”
“कस्तो बिन्ती?” तिनले सोधिन्।
अदोनियाहले जवाफ दिए, “तपाईंलाई थाहा छ कि म राजा हुनुपर्थ्यो र इस्राएलका सबै मानिसहरूले त्यस्तो आशा गरेका थिए। तर कुरा अर्कै भयो र मेरा भाइ राजा भए। परमप्रभुको त्यही इच्छा थियो। र अब मेरो एउटा बिन्ती छ, कृपा गरी हुँदैन नभन्नु होला।”
“कस्तो बिन्ती भन त,” बतशेबाले भनिन्।
उनले भने, “शूनम्मीबाट आएकी केटी अबीशगलाई मेरी स्वास्नी हुन सोलोमन राजासित बिन्ती गरिदिनुहोस्। तपाईंलाई उनले ‘नाइँ’ भन्नेछैनन्, त्यो म जान्दछु।”
“हुन्छ, म राजासित तिम्रो बारेमा कुरा गरूँला,” तिनले उत्तर दिइन्।
यसकारण अदोनियाहबारे कुरा गर्न बतशेबा राजाकहाँ गइन्। आमालाई स्वागत गर्दै राजा उभिए र आमालाई ढोगे। तब उनी आफ्नो सिंहासनमा बसे र अर्को सिंहासन ल्याउन लाएर त्यसमा आफ्नी आमालाई दाहिनेपट्टि बस्न लाए। आमाले भनिन्, “मेरो एउटा सानो बिन्ती छ, अस्वीकार नगर है।”
“कस्तो बिन्ती, आमा?” उनले सोधे, “म अस्वीकार गर्दिन।”
तिनले भनिन्, “तिम्रा दाजु अदोनियाहलाई अबीशगसित विवाह गर्न देऊ।”
राजाले सोधे, “किन अबीशग उनलाई दे भन्नुहुन्छ? बरु उनलाई सिंहासन नै दिइहाल् भन्नुहोस् न। आखिर उनी मेरा ठूल्दाइ हुन् र अबियाथार पूजाहारी र योआब उनीपट्टि लागेका छन्।” त्यसपछि सोलोमनले परमप्रभुको नाउँमा गम्भीर प्रतिज्ञा गरे, “यो कुरा मागेको कारणले त्यसको दाम आफ्नो प्राण दिएर अदोनियाहलाई तिर्न लाइन भने परमेश्वरले मलाई मारून्! अब मलाई स्थिर गर्नुहुने र मलाई मेरा पिता दाऊदको सिंहासनमा बसाल्नुहुने र आफ्नो प्रतिज्ञाअनुसार मेरो वंश खडा गर्नुहुने जीवित परमप्रभुलाई साक्षी राखी दृढतासाथ म भन्दछु कि आज नै अदोनियाह मारिनेछ!”
तब सोलोमन राजाले बनायाहलाई आज्ञा गरे र गएर उनले अदोनियाहलाई मारे।
त्यसपछि सोलोमन राजाले अबियाथार पूजाहारीलाई भने, “आफ्नो गाउँ अनातोतको घरमा जाऊ। तिमी मारिनु उचित छ तर म अहिले तिम्रो प्राण लिनेछैनँ किनभने मेरा पिता दाऊदसित छँदा तिमीले परमप्रभुको करारको सन्दुकको जिम्मावारी लिएका थियौ र उनका सबै दु:ख-कष्टमा भाग लिएका थियौ।” तब सोलोमनले अबियाथारलाई परमप्रभुको पूजाहारीको कामबाट खारेज गरिदिए र यसरी शीलोमा पूजाहारी एली र उनका सन्तानहरूबारे परमप्रभुले भन्नुभएको वचन पूरा भयो।
त्यसको खबर योआबले पाए। (उनले अदोनियाहको पक्ष लिएका थिए तर अब्शालोमको चाहिँ होइन) यसकारण उनी भागेर परमप्रभुको पवित्र पालमा गए र वेदीका दुई कुनाका चोसाहरू समातेर उभिए। योआब भागेर परमप्रभुको पवित्र पालमा गई वेदीछेउ बसेको छ भन्ने खबर सोलोमन राजाकहाँ पुग्यो। सोलोमन राजाले योआबलाई मार्न बनायाहलाई पठाए। उनले परमप्रभुको पवित्र पालमा गई योआबलाई भने, “राजाले तिमीलाई बाहिर आउने आज्ञा गरेका छन्।”
योआबले उत्तर दिए, “अँहँ, म यहीँ मर्नेछु।”
बनायाह राजाकहाँ फर्किगए र योआबले भनेका कुरा सुनाइदिए।
सोलोमनले भने, “योआबले भनेझैँ गर। त्यसलाई मारेर गाडिदेऊ। त्यसो भएपछि योआबले निर्दोष मानिसहरू मारेर गरेको दोषको निम्ति म वा दाऊदका अरू कुनै सन्तान अब उसो जिम्मावार रहनेछैन। मेरा पिता दाऊदलाई थाहै नदिई योआबले गरेको हत्याको कारणले परमप्रभुले उसलाई दण्ड दिनुहुनेछ। योआबले आफूभन्दा असल दुई जना निर्दोष मानिसहरू इस्राएली सेनाका सेनापति अबनेर र यहूदाका सेनापति अमासालाई मारेको थियो। तिनीहरूको हत्याको लागि योआब र त्यसका सन्तानले सधैँभरि दण्ड पाउनेछन्। तर दाऊदका सन्तान, जो उनको सिंहासनमा बस्नेछन्, उनीहरूलाई परमप्रभुले सधैँ भलाइ गर्नुहुनेछ।”
यसकारण बनायाहले परमप्रभुको पवित्र पालमा गएर योआबलाई मारे र उसलाई खुला मैदानमा उसकै घरनिर गाडे। राजाले बनायाहलाई योआबको स्थानमा सेनापति र सादोकलाई अबियाथारको स्थानमा पूजाहारी बनाए।
त्यसपछि राजाले शिमीलाई बोलाएर भने, “यहाँ यरूशलेममा आफ्नो लागि एउटा घर बनाऊ। त्यहाँ बास गर्नू र सहर छोडेर नजानू। सहर छोडेर किद्रोनको खोल्सा नाघेर पारि गयौ भने तिमी निश्चय मारिनेछौ र त्यसको लागि तिमी आफैं जिम्मेवार हुनेछौ।”
“जो आज्ञा महाराज,” शिमीले जवाफ दिए, “हजुरको आज्ञा म पालन गर्नेछु।” र धेरै दिनसम्म ती यरूशलेममा रहे।
तीन वर्षपछि शिमीका दुई कमाराहरू गातका राजा माकाका छोरा आकीशकहाँ भागेर गए। ती दुई गातमा छन् भनी शिमीले सुने। तिनीहरूलाई खोज्न आफ्नो गधा कसी त्यसमा सवार भई शिमी गातमा आकीश राजाकहाँ गए। ती दुईलाई भेट्टाएर शिमीले घर फर्काएर ल्याए। शिमीले त्यसो गरेको सुनेर सोलोमनले तिनलाई बोलाएर भने, “यरूशलेम नछोड्न मैले तिमीलाई परमप्रभुको नाउँमा प्रतिज्ञा गर्न लाएथें र मैले यस्तो चेतावनी पनि दिएथें कि यरूशलेम छोडी गयौ भने तिमी निश्चय मारिनेछौ। के तिमी त्यस कुरामा राजी भएका होइनौ र? मेरा कुरा मान्छु भनी भनेका होइनौ? किन आफ्नो प्रतिज्ञा तोड्यौ र मेरो आज्ञा भङ्ग गर्यौ? मेरा पिता दाऊदसित कस्तो दुष्ट्याइँ गरेका थियौ, त्यो तिमीलाई राम्ररी थाहा छ। त्यसको निम्ति परमप्रभुले तिमीलाई सजाय दिनुहुनेछ। तर उहाँले मलाई आशीर्वाद दिनुहुनेछ र सदाकालको निम्ति दाऊदको राज्यलाई सुरक्षित राख्नुहुनेछ।”
त्यसपछि राजाले बनायाहलाई आज्ञा गरे र उनले गएर शिमीलाई मारे। तब सबै अधिकार सोलोमनका हातमा आयो।