दावीदको मृत्युको समय नजिक आयो, तब तिनले आफ्ना छोरा सोलोमनलाई यो आदेश दिए। तिनले यसो भने, “म संसारको नियमअनुसार जान लागिरहेको छु। यसकारण तँ बलियो हुनू, र आफैँलाई पुरुषार्थी बनाउनू। याहवेह तेरा परमेश्वरले चाहनुभएका सबै कुरा पालन गर्नू: उहाँमा आज्ञाकारी हुनू, र मोशाको व्यवस्थामा लेखिएझैँ, उहाँका सबै उर्दीहरू र आदेशहरू, उहाँका नियमहरू अनि विधिहरू पालन गर्नू; ताकि तैँले जे गर्छस्, र तँ जहाँ जान्छस्, त्यहाँ तेरो उन्नति होस्। तब याहवेहले ‘तेरा सन्तानहरू होसियारीसाथ हिँडे भने र मेरो सामु आफ्ना सारा हृदय र प्राणले विश्वासयोग्य भएर हिँडे भने तँलाई इस्राएलको सिंहासनमाथि बस्ने मानिसको अभाव हुनेछैन’ भनी मसित गर्नुभएको प्रतिज्ञा उहाँले पूरा गर्नुहुनेछ। “सरूयाहका छोरा योआबले मलाई र इस्राएलका दुई सेनापति नेरका छोरा अबनेर र येतेरका छोरा अमासालाई के गर्यो, त्यो तँलाई थाहै छ। त्यसले लडाइँको समयमा जस्तै गरेर, शान्तिकै समयमा तिनीहरूको रगत बगाएर तिनीहरूलाई मार्यो अनि त्यो रगतले आफ्नो कम्मरपेटी र खुट्टाका जुत्ता रङ्गायो। त्यससित आफ्नो बुद्धिअनुसार व्यवहार गर्नू, तर त्यसको फुलेको कपाल शान्तिसित चिहानमा नजाओस्। “तर गिलादमा हुने बर्जिल्लैका छोराहरूप्रति दया देखाउनू र तिनीहरू तँसित तेरो टेबुलमा खानेहरूमध्येकै होऊन्। तेरा दाजु अब्शालोम मदेखि भागेर जाँदा तिनीहरू मेरो पक्षमा थिए। “यो याद राख्नू, म महनाइममा गएको दिन बहूरीमको बेन्यामीनी गेराको छोरा शिमीले मलाई सराप्नुसम्म सरापेको थियो। जब त्यो मलाई यर्दनमा भेट्न आयो, तब मैले त्यससित याहवेहको नाममा ‘म तँलाई तरवारले मार्नेछैनँ’ भनी शपथ खाएँ। तर अब त्यसलाई निर्दोष नठान्नू। तँ बुद्धिमान् मानिस होस्। त्यसलाई के गर्नुपर्छ, सो तैँले जान्नेछस्। त्यसको शिर रगतसितै चिहानमा जाओस्।” तब दावीद आफ्ना पुर्खाहरूसित विश्राममा सुते, र दावीदको सहरमा गाडिए। तिनले इस्राएलमाथि चालीस वर्षसम्म राज्य गरे—सात वर्ष हेब्रोनमा र तेत्तीस वर्ष यरूशलेममा। यसरी सोलोमन आफ्ना पिता दावीदको सिंहासनमा बसे, र तिनको शासन दृढतापूर्वक स्थापित भयो।
1राजाहरू 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1राजाहरू 2:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू