जब दाऊदको मर्ने बेला नजिक आयो, तब तिनले आफ्ना छोरा सोलोमनलाई यो आखिरी जिम्मा दिए। “संसारको रीतझैँ म पनि मर्दैछु,” तिनले भने। “यसैले तिमीचाहिँ साहसी होऊ, र आफूलाई मर्दझैँ देखाऊ, र परमप्रभु आफ्ना परमेश्वरतिरको आफ्नो कर्तव्य पूरा गर। उहाँका मार्गमा हिँड़। मोशाको व्यवस्थामा लेखेका उहाँका विधिहरू र आज्ञाहरू, उहाँका नियमहरू र आदेशहरू पालन गर, ताकि तिमीले जे-जे गर्छौ र तिमी जहाँकहीँ जान्छौ, त्यसमा तिम्रो उन्नति होस्, र परमप्रभुले यसो भनेर मलाई गर्नुभएको प्रतिज्ञा पूरा होस्: ‘यदि तेरा सन्तानले आफू कसरी रहनुपर्छ भनी ध्यान गरे र यदि तिनीहरू आफ्ना पूरा हृदय र प्राणले मेरो दृष्टिमा विश्वासपूर्वक हिँड़े भने, इस्राएलको सिंहासनमा विराजमान हुनलाई तँलाई उत्तराधिकारीको कहिल्यै अभाव हुनेछैन’। “सरूयाहको छोरो योआबले मलाई के गर्यो— इस्राएलका दुई सेनापतिहरू नेरका छोरा अबनेर र येतेरका छोरा अमासालाई त्यसले के गर्यो यो कुरा तिमी आफैलाई थाहै छ। लड़ाइँको समयमा झैँ शान्तिकै अवस्थामा छँदा पनि त्यसले तिनीहरू दुवैलाई मार्यो। त्यही रगतले आफ्ना पटुका र खुट्टाका जुत्तालाई कलङ्कित पार्यो। तिम्रो बुद्धिले जे-जस्तो बताउँछ, त्यहीअनुसार त्यससित व्यवहार गर, तर त्यसको फुलेको कपाल शान्तिसित चिहानमा नजाओस्। “तर गिलादका बर्जिल्लैका छोराहरूमाथि दया देखाऊ, र तिनीहरू तिम्रो टेबिलमा खानेहरूमध्ये होऊन्। तिम्रो दाजु अब्शालोमबाट म भागी हिँड्दा तिनीहरू मसितै रहिरहे। “अनि तिमीसँग भएको बहूरीमको बेन्यामीनी गेराको छोरो शिमीलाई याद राख्नू। म महनोममा गएको दिन त्यसले मलाई खूबै सरापेको थियो। जब त्यो यर्दन नदीमा मलाई भेट्न आयो, तब ‘म तँलाई तरवारले मार्नेछैनँ’ भनी मैले परमप्रभुको नाउँमा शपथ खाएँ। तर अब त्यसलाई तिमीले निर्दोष नसम्झ। तिमी बुद्धिमान् मानिस छौ र त्यसलाई कस्तो व्यवहार गर्नुपर्छ सो तिमीले जान्नेछौ। त्यसको फुलेको कपाल चिहानमा रगतैसँग जाओस्।” तब दाऊद आफ्ना पित्रहरूसित सुत्न गए, र दाऊदको सहरमा गाड़िए। तिनले इस्राएलमा चालीस वर्षसम्म राज्य गरे— सात वर्ष हेब्रोनमा र तेत्तीस वर्ष यरूशलेममा। अनि सोलोमन आफ्ना पिता दाऊदको सिंहासनमा बसे, र तिनको शासन सुदृढ़सित स्थापित भयो।
१ राजाहरू 2 पढ्नुहोस्
सुन्नुहोस् १ राजाहरू 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजाहरू 2:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू