YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 7:1-15

1 कोरिन्थी 7:1-15 NCV

अब यी कुराहरू तिमीहरूले लेखेको विषयमा छ: “पुरुषले स्त्रीलाई स्पर्श नगरेकै असल हो।” तर पनि यौन अनैतिकता धेरै भइरहेको कारण हरेक पुरुषले आफ्नै पत्नीसँग यौन सम्बन्ध राखोस्, र हरेक स्त्रीले पनि आफ्नै पतिसँग यौन सम्बन्ध राखोस्। पतिले आफ्नो पत्नीसँगको वैवाहिक कर्तव्य पूरा गरोस्। यसरी नै पत्नीले पनि पतिसँगको वैवाहिक कर्तव्य पूरा गरोस्। पत्नीको आफ्नै शरीरमाथि अधिकार हुँदैन, तर पतिको अधिकारमा हुन्छ। यसरी नै पतिको पनि आफ्नै शरीरमाथि अधिकार हुँदैन, तर पत्नीको अधिकारमा हुन्छ। पति-पत्नीले आफ्नो यौन सम्बन्धमा एक-अर्कालाई इन्कार नगर। तर पारस्परिक सहमतिअनुसार र केही समय प्रार्थनाको लागि बाहेक अलग नहोओ; ताकि तिमीहरू प्रार्थनाको लागि समर्पित हुन सक। त्यसपछि फेरि तिमीहरू एकसाथ होओ; ताकि तिमीहरूका आत्मसंयमको अभावको कारण शैतानले तिमीहरूलाई परीक्षामा नपारोस्। म यो तिमीहरूलाई आज्ञाको रूपमा होइन, तर अनुमतिको रूपमा भन्दैछु। तिमीहरू सबै जना मजस्तै रहेको म चाहन्छु; तर परमेश्‍वरबाट तिमी हरेकले आफ्नै प्रकारको वरदान पाएका छौ; एउटासँग एक प्रकारको वरदान छ भने अर्कोसँग अर्कै प्रकारको वरदान छ। अब अविवाहित र विधवाहरूलाई म यो भन्‍न चाहन्छु: तिनीहरूले मजस्तै विवाह नगरी बसेको असल हुन्छ। तर यदि तिनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने तिनीहरूले विवाह गरून्; किनकि कामवासनामा जल्नुभन्दा त विवाह गर्नु असल हुन्छ। विवाहितहरूलाई म यो आज्ञा दिन्छु; मबाट होइन, तर प्रभुबाट: पत्नी आफ्ना पतिबाट अलग भएर नबसोस्। तर यदि अलग बस्‍न चाहन्छिन् भने विवाह नगरी बसोस्; नत्रता फेरि पतिसँग मिलाप गरेर बसोस्। अनि पतिले पनि आफ्नी पत्नीसँग सम्बन्ध-विच्छेद नगरोस्। अरू बाँकी रहेकाहरूलाई म यो भन्‍न चाहन्छु; प्रभुबाट होइन, तर म आफैँबाट: यदि ख्रीष्‍टमा कुनै विश्‍वासी भाइको विश्‍वास नगर्ने पत्नी छ, र पतिसँग बस्‍न चाहन्छे भने उसले पत्नीसँग सम्बन्ध-विच्छेद नगरोस्। अनि यदि ख्रीष्‍टमा कुनै विश्‍वासी स्त्रीको विश्‍वास नगर्ने पति छ, र पत्नीसँग बस्‍न चाहन्छ भने उसले पतिसँग सम्बन्ध-विच्छेद नगरोस्। किनकि विश्‍वास नगर्ने पति पत्नीद्वारा पवित्र तुल्याइएको हुन्छ र विश्‍वास नगर्ने पत्नी उसको विश्‍वासी पतिद्वारा पवित्र तुल्याइएकी हुन्छे। नत्रता तिनीहरूका सन्तान अशुद्ध हुनेथिए; तर अब तिनीहरू पवित्र छन्। तर यदि अविश्‍वासी पति वा पत्नी अलग रहन चाहन्छन् भने ती अलग रहन सक्छन्। यस्तो परिस्थितिमा विश्‍वास गर्ने पुरुष वा स्त्री कुनै बन्धनमा रहँदैनन्; परमेश्‍वरले हामीलाई शान्तिमा रहन बोलाउनुभएको छ।

1 कोरिन्थी 7 पढ्नुहोस्