1 कोरिन्थी 6
6
विश्वासीहरूका बीचमा मुद्दा-मामिला
1यदि तिमीहरूमध्ये कसैको अर्को व्यक्तिसँग विवाद छ भने, के तिमीहरूले न्यायको निम्ति प्रभुका जनहरूकहाँ नगएर सांसारिक न्यायाधीशकहाँ जाने आँट गर्दछौ? 2प्रभुका जनहरूले संसारको न्याय गर्नेछन् भन्ने के तिमीहरू जान्दैनौ? अनि यदि तिमीहरूद्वारा संसारको न्याय हुन्छ भने के तिमीहरूमा यस्तो ससाना मुद्दा-ममिलाहरूको न्याय गर्ने क्षमता छैन र? 3के तिमीहरू यो कुरा जान्दैनौ, हामीहरूले स्वर्गदूतहरूको न्याय गर्नेछौं? त्यसो भए हाम्रो जीवनमा हुने यी कुराहरू कति नै ठूला हुन् र? 4यसकारण यदि तिमीहरूमा यस्ता विवादका मुद्दाहरू छन् भने मण्डलीमा कुनै असल गवाही नभएकाहरूलाई न्यायको निम्ति विन्ती गर्छौ र? 5मैले तिमीहरूलाई लाज लागोस् भनेर यो कुरा भनेको हुँ। के तिमीहरूका बीचमा विश्वासीहरू बीचको वाद-विवाद मिलाउन सक्ने बुद्धिमान् व्यक्ति कोही छैन? 6तर यसको सट्टामा एउटा भाइ अर्को भाइको विरुद्धमा अदालतमा जान्छौ, र त्यो पनि अविश्वासीहरूको सामु!
7तिमीहरूका बीचमा मुद्दा-मामिला हुनुको मतलब तिमीहरूको हार पूर्ण रूपमा पहिले नै भइसकेको छ। बरु तिमीहरूले अन्याय किन सहँदैनौ? बरु आफू ठगिएर नै किन बस्दैनौ? 8तर यसको सट्टामा तिमीहरू स्वयम् अन्याय गर्दछौ, र ठग्दछौ अनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई त्यही गर्दछौ। 9के तिमीहरूलाई थाहा छैन दुष्ट काम गर्नेहरू परमेश्वरको राज्यको उत्तराधिकारी हुनेछैनन्? धोखामा नपर: यौन अनैतिक व्यक्तिहरू, न मूर्तिपूजकहरू, न व्यभिचारीहरू, न पुरूष स्त्री समलिङ्गीहरू, 10न चोरहरू, न लोभीहरू, न मतवालाहरू, न निन्दा गर्नेहरू, न ता लुटाहाहरू परमेश्वरको राज्यको हकदार हुनेछन्। 11अनि तिमीहरूमध्ये कतिजना यस्तै थियौ। तर तिमीहरू हाम्रा परमेश्वरको आत्माद्वारा र प्रभु येशू ख्रीष्टको नाउँमा धोइएका छौ; तिमीहरू पवित्र पारिएका छौ र निर्दोष ठहराइएका छौ।
यौन अनैतिकता
12“मेरो लागि सबै कुरा उचित छन्” तिमी भन्दछौ—तर सबै कुरा लाभदायक छैनन्। “मेरो लागि सबै कुरा उचित छन्”—तर म कुनै कुराको पनि सेवक हुनेछैनँ। 13तिमी भन्दछौ, “पेटको निम्ति भोजन र भोजनको निम्ति पेट, तर परमेश्वरले यी दुवैलाई नष्ट गर्नुहुनेछ।” हाम्रो शरीर यौन अनैतिकताको निम्ति होइन, तर प्रभुको सेवाको निम्ति हो, र प्रभुले हाम्रो शरीरको वास्ता गर्नुहुन्छ। 14परमेश्वरले आफ्नो शक्तिद्वारा प्रभु येशूलाई मृत्युबाट पुनर्जीवित पार्नुभयो, र उहाँले आफ्नो शक्तिद्वारा हामीलाई पनि जीवित पार्नुहुनेछ। 15के तिमीहरूलाई थाहा छैन, कि तिमीहरूका शरीर ख्रीष्टका अङ्गहरू हुन्? त्यसो भए के म ख्रीष्टका अङ्गहरूलाई लिएर वेश्यासँग एक बनाउने त? कदापि हुँदैन! 16के तिमीहरूलाई थाहा छैन, कि जसले आफूलाई वेश्यासँग जोड्छ, ऊ त्यो वेश्यासँग शरीरमा पनि एक हुन्छ? किनकि यसरी लेखिएको छ, “यी दुई अब एउटै शरीर हुनेछन्।”#6:16 उत्प 2:24 17तर जसले आफूलाई प्रभुसँग जोडिएको हुन्छ, त्यो आत्मामा उहाँसँग एक भएको हुन्छ।
18तिमीहरू यौन अनैतिकताबाट अलग बस। अरू सबै पापहरू मानिसले आफ्नो शरीर बाहिर गर्छ, तर जसले यौन सम्बन्धमा पाप गर्छ, त्यसले आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ। 19के तिमीहरू जान्दैनौ, कि तिमीहरूका शरीर पवित्र आत्माको मन्दिर हो, उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ र उहाँलाई तिमीहरूले परमेश्वरबाट प्राप्त गरेका छौ? तिमीहरू आफ्नै होइनौ; 20तिमीहरू त मोल तिरेर किनिएका हौ। यसकारण आफ्ना शरीरद्वारा परमेश्वरको आदर गर।
अहिले सेलेक्ट गरिएको:
1 कोरिन्थी 6: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.