YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 15

15
ख्रीष्‍ट पुनर्जीवित हुनुभएको
1अब दाजुभाइ-दिदीबहिनीहरूहो, म तिमीहरूलाई मैले प्रचार गरेको सुसमाचारको सम्झना दिलाउन चाहन्छु, जो तिमीहरूले ग्रहण गर्‍यौ र त्यसमा तिमीहरू स्थिर रहेका छौ। 2यदि तिमीहरू मैले प्रचार गरेको वचनमा स्थिर रह्‍यौ भने, यही सुसमाचारद्वारा तिमीहरूको उद्धार हुन्छ; नत्र ता तिमीहरूले व्यर्थैमा विश्‍वास गरेका छौ।
3किनकि मैले जे वचन पाएँ त्यसलाई सबैभन्दा महत्त्वपूर्ण ठानी तिमीहरूलाई सुम्पिदिएँ: धर्मशास्त्रअनुसार ख्रीष्‍ट हाम्रा पापको निम्ति मर्नुभयो, 4अनि उहाँ गाडिनुभयो र धर्मशास्त्रअनुसार तेस्रो दिनमा पुनर्जीवित हुनुभयो, 5अनि उहाँ केफासकहाँ र त्यसपछि बाह्रजना चेलाहरूकहाँ देखा पर्नुभयो। 6त्यसपछि उहाँ पाँच सयभन्दा बढी दाजुभाइ-दिदीबहिनीहरूकहाँ एकै समयमा देखा पर्नुभयो, जसमध्ये धेरैजना अझै पनि जीवित छन् र कत्तिचाहिँ मरेर गए। 7तब उहाँ याकोबकहाँ देखा पर्नुभयो, त्यसपछि सबै प्रेरितहरूकहाँ देखा पर्नुभयो। 8अनि सबैभन्दा अन्तिममा मजस्तो अस्वभाविक रूपमा जन्मिएको व्यक्‍तिकहाँ पनि देखा पर्नुभयो।
9किनकि म ता सबै प्रेरितहरू भन्दा तुच्छ हुँ, र मलाई प्रेरित भन्‍न पनि सुहाउँदैन, किनभने मैले परमेश्‍वरको मण्डलीलाई सताएको थिएँ। 10तर म आज जे छु, परमेश्‍वरको अनुग्रहको कारण नै छु; अनि उहाँको अनुग्रह ममा व्यर्थै भएको छैन। मैले अरू प्रेरितहरू भन्दा बढी कडा परिश्रम गरेको छु। तैपनि मैले होइनँ, तर ममा भएको परमेश्‍वरको अनुग्रहको कारणले हो। 11यसैकारण मैले होस् अथवा अरू प्रेरितहरूले, जसले भए तापनि हामीले प्रचार गरेका सन्देश यही हो, र तिमीहरूले विश्‍वास गरेको पनि यही नै हो।
मरेकाहरूको पुनर्जीवन
12तर यदि मरेकाहरूबाट ख्रीष्‍ट पुनर्जीवित#15:12 अरू नेपाली अनुवादहरूमा पुनरुत्थान हुनुभयो भन्‍ने प्रचार भएको छ भने, तिमीहरू कतिले कसरी मरेकाहरू पुनर्जीवित हुँदैनन् भन्छौ? 13यदि मरेकाहरू पुनर्जीवित हुँदैनन् भने ख्रीष्‍ट पनि पुनर्जीवित हुनुभएको होइन। 14अनि यदि ख्रीष्‍ट पुनर्जीवित हुनुभएको होइन भने ता, हाम्रो प्रचार र तिमीहरूको विश्‍वास पनि व्यर्थ हो। 15त्योभन्दा बढी हामी परमेश्‍वरका झूटा साक्षीहरू ठहरिनेछौं, किनकि हामीले परमेश्‍वरले ख्रीष्‍टलाई मरेकाहरूबाट पुनर्जीवित पार्नुभएको छ भन्‍ने गवाही दिएका छौं। तर यदि उहाँले ख्रीष्‍टलाई पुनर्जीवित पार्नुभएको होइन भने वास्तवमा मरेकाहरू पुनर्जीवित हुँदैनन्। 16किनकि यदि मरेकाहरू पुनर्जीवित हुँदैनन् भने ता ख्रीष्‍ट पनि पुनर्जीवित हुनुभएको छैन। 17अनि यदि ख्रीष्‍ट पुनर्जीवित हुनुभएको छैन भने तिमीहरूको विश्‍वास व्यर्थ भयो; अनि तिमीहरू अझै पनि आफ्ना पापहरूमै छौ। 18त्यसो भए ख्रीष्‍टमा विश्‍वास गरेपछि मरेकाहरू पनि नष्‍ट भए। 19यदि ख्रीष्‍टमा भएको आशा यस जीवनको लागि मात्र हो भने हामी सबै मानिसहरूभन्दा बढी दयनीय छौं।
20तर वास्तवमै ख्रीष्‍ट मरेकाहरूमध्ये पहिलो फलको रूपमा पुनर्जीवित हुनुभएको हो। 21किनकि मृत्यु एकजना मानिसद्वारा आयो, त्यसरी नै मरेकाहरूको पुनर्जीवन पनि एकैजना मानिसद्वारा आउँछ। 22जसरी आदमद्वारा सबै मरे, त्यसरी नै ख्रीष्‍टद्वारा सबैलाई जीवित पारिनेछ। 23तर हरेक आफ्नो क्रमानुसार: ख्रीष्‍ट पहिलो फल, त्यसपछि उहाँको पुनरागमनमा उहाँका आफ्नैहरू जति सबै जीवित पारिनेछन्। 24त्यसपछि अन्त्य आउनेछ; जब उहाँले दुष्‍टका सबै शासन, अधिकार र शक्‍तिलाई नाश गरेर आफ्ना पिता परमेश्‍वरलाई राज्य सुम्पनुहुनेछ। 25किनकि ख्रीष्‍टले आफ्ना सबै शत्रुहरूलाई आफ्नो पाउमुनि नराखुन्जेल उहाँले राज्य गर्नैपर्छ। 26अन्तिममा नाश गरिने शत्रुचाहिँ मृत्यु हो। 27किनकि परमेश्‍वरले “सबै कुरा उहाँको पाउमुनि राख्नुभएको छ।”#15:27 भजन 8:6 यो स्पष्‍ट छ कि, “सबै कुरा” भन्‍नाले सबै कुरा ख्रीष्‍टको अधीनमा गराउनुहुने परमेश्‍वर आफैचाहिँ त्यस अधीनतामा हुनुहुन्‍न। 28जब परमेश्‍वरले सबै कुरा ख्रीष्‍टको अधीनमा गराउनुहुन्छ, तब पुत्र आफै पनि पिताको अधीनमा हुनुहुनेछ, जसले सबै कुरा ख्रीष्‍टको अधीनतामा राखिदिनुभएको छ, ताकि परमेश्‍वर सबै कुरामा सर्वेसर्वा होऊन्।
29यदि पुनर्जीवित नहुने भए, मरेकाहरूका निम्ति बप्‍तिस्मा लिनुको के आवश्यकता हुनेछ? यदि मरेकाहरू पुनर्जीवित हुँदै-हुँदैनन् भए, किन मानिसहरूले तिनीहरूका लागि बप्‍तिस्मा लिन्छन्? 30अनि हाम्रो विषयमा, हामीले आफूलाई हर घडी किन जोखिममा पार्छौं? 31म दिनहुँ मृत्युको सामना गर्छु—हो, मेरो भन्‍नुको मतलब, हाम्रा प्रभु ख्रीष्‍ट येशूमा म तिमीहरूको कारण गर्व गर्दछु। 32यदि मानवीय दृष्‍टिकोणले मात्र मैले एफिससमा जङ्गली जनावरहरूसँग जस्तै मानिसहरूसँग लडाइँ गरेको हुन्थें भने मलाई लाभ हुन्थ्यो र? यदि मरेकाहरू पुनर्जीवित नहुने भए त,
“हामी खाऔं र पिऔं,
किनकि भोलि ता हामी मरिहाल्छौं।”#15:32 यशै 22:13
33भ्रममा नपर: “खराब सङ्गतले असल चरित्रलाई नष्‍ट पार्छ।” 34होशमा आओ, पाप गर्न छोड। म यो तिमीहरूलाई शर्ममा पार्नलाई भन्दैछु, किनकि तिमीहरूमध्ये कतिले परमेश्‍वरलाई चिनेकै छैनौ।
पुनर्जीवित भएको शरीर
35तर कतिले सोध्लान्, “मरेकाहरू कसरी पुनर्जीवित हुन्छन्? तिनीहरू कस्तो किसिमको शरीरमा आउनेछन्?” 36हे मूर्ख! तिमीले जे छर्दछौ, त्यो नमरेसम्म सजीव हुँदैन। 37जब तिमी छर्दछौ, तब तिमीले पछि आउने शरीर ता रोप्दैनौ, तर एउटा बीउ मात्र छर्दछौ, चाहे त्यो गहुँको होस् वा अरू केहीको होस्। 38तर परमेश्‍वरले त्यसलाई आफ्नो इच्छाअनुसारको एउटा शरीर दिनुहुन्छ, र हरेक किसिमको बीउलाई त्यसको आफ्नै शरीर दिनुहुन्छ। 39सबैको शरीर एकै प्रकारको हुँदैन: मानिसको एक प्रकारको शरीर हुन्छ, जनावरहरूको अर्कै प्रकारको, चराहरूको अर्कै प्रकारको र माछाहरूको अर्कै प्रकारको शरीर हुन्छ। 40स्वर्गीय शरीरहरू पनि हुन्छन् र सांसारिक शरीरहरू पनि हुन्छन्; तर स्वर्गीय शरीरहरूको तेज एक किसिमको हुन्छ, अनि सांसारिक शरीरहरूको तेज अर्कै किसिमको हुन्छ। 41सूर्यको तेज एक किसिमको हुन्छ, चन्द्रमाको अर्कै किसिमको, ताराहरूको अर्कै किसिमको, एउटा ताराको तेज अर्को ताराको तेजभन्दा भिन्दै प्रकारको हुन्छ।
42मरेकाहरूको पुनर्जीवित हुने पनि यस्तै किसिमको हुनेछ। जुन शरीर विनाशमा गाडिन्छ, त्यो अविनाशी रूपमा पुनर्जीवित पारिनेछ। 43त्यो अनादरमा गाडिन्छ, तर महिमामा पुनर्जीवित पारिनेछ; त्यो दुर्बलतामा गाडिन्छ, तर सामर्थ्यमा पुनर्जीवित पारिनेछ। 44त्यो प्राकृतिक शरीरमा रोपिन्छ, तर आत्मिक शरीरमा पुनर्जीवित पारिनेछ।
यदि प्राकृतिक शरीर छ भने, आत्मिक शरीर पनि हुन्छ। 45यसकारण यसरी लेखिएको छ: “पहिलो मानिस आदम जीवित प्राणी भयो”#15:45 उत्प 2:7; अन्तिम आदमचाहिँ जीवन दिने आत्मा हुनुभयो। 46पहिला आत्मिक शरीर आएन, तर पहिला प्राकृतिक शरीर आयो, त्यसपछि आत्मिक शरीर आयो। 47पहिलो मानिस पृथ्वीको धूलोबाट बनेको थियो; दोस्रो मानिसचाहिँ स्वर्गबाट हुनुहुन्छ। 48माटोबाट बनेको मानिसजस्तो थियो, पृथ्वीका मानिसहरू त्यस्तै छन्; स्वर्गीय मानिसजस्ता छन्, स्वर्गका अरूहरू पनि त्यस्तै हुन्छन्। 49जसरी हामीले माटोले बनेको मानिसको स्वरूप धारण गरेका छौं, त्यसरी नै हामीले स्वर्गीय मानिसको स्वरूप पनि धारण गर्नेछौं।
50दाजुभाइ-दिदीबहिनीहरूहो, म तिमीहरूलाई घोषणा गर्दछु, कि शरीर र रगत परमेश्‍वरको राज्यको हकदार हुन सक्दैन, न ता विनाशी शरीर अविनाशी कुराको हकदार हुन सक्दछ। 51सुन, म तिमीहरूलाई एउटा रहस्य भन्छु: हामी सबैजना सुतिजानेछैनौं, तर हामी सबै परिवर्तन हुनेछौं; 52एकै क्षणमा, आँखाको एक निमिषमा, तुरहीको आखिरी आवाजमा। जब तुरही बज्नेछ, मरेकाहरू अविनाशी रूपमा पुनर्जीवित हुनेछन् र हामीचाहिँ परिवर्तन हुनेछौं। 53किनकि विनाशीले अविनाशी रूप धारणा गर्नुपर्छ र मरणशीलले अमरता धारण गर्नुपर्छ। 54जब विनाशीले अविनाशी रूप र मरणशीलले अमरताको रूप धारण गर्नेछ, तब लेखिएको त्यो वचन पूरा हुनेछ: “मृत्यु विजयमा निलिएको छ।”#15:54 यशै 25:8
55“ए मृत्यु, तेरो विजय कहाँ छ?
ए मृत्यु, तेरो खील कहाँ छ?”#15:55 होशे 13:14
56मृत्युको खील पाप हो, र पापको शक्‍तिचाहिँ व्यवस्था हो। 57तर परमेश्‍वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा विजय दिनुहुन्छ।
58यसकारण मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरूहो, स्थिर रहो। तिमीहरूलाई कुनै पनि कुराले विचलित नपारोस्। प्रभुको काममा सधैं जोशिलो भएर लागिरहो; किनभने तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।

अहिले सेलेक्ट गरिएको:

1 कोरिन्थी 15: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्