जसरी शरीर एउटै भए तापनि अङ्गहरू धेरै हुन्छन्; तर सबै अङ्गहरू मिलेर एउटै शरीर बनिएको हुन्छ, ख्रीष्टको शरीरसँग पनि यस्तै हुन्छ। यहूदी होस् वा ग्रीक, सेवक होस् वा फुक्का, जोसुकै भए तापनि एउटै शरीर हुनलाई एउटै आत्माद्वारा हाम्रो बप्तिस्मा भयो, र हामी सबै जनालाई एउटै आत्मा पिउन दिइयो। किनकि शरीर एउटा अङ्गले बनेको होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ। अब यदि खुट्टाले “म हात होइनँ, यसकारण म शरीरको होइनँ” भन्यो भने के यो शरीरको अङ्ग हुँदैन र? अनि यदि कानले “म आँखा होइनँ, यसकारण म शरीरको अङ्ग होइनँ,” भन्यो भने के यो शरीरको अङ्ग हुँदैन र? यदि पूरा शरीर आँखा हुँदो हो त कहाँबाट सुन्ने? यदि पूरा शरीर कान हुँदो हो त कहाँबाट सुँघ्ने? तर वास्तवमा परमेश्वरले उहाँको इच्छाबमोजिम प्रत्येक अङ्गहरूलाई एक-एक गरेर मिलाएर शरीरमा राखिदिनुभएको छ। यदि तिनीहरू एउटै अङ्ग हुँदाहुन् त शरीर कहाँ हुनेथियो र? यसकारण अङ्गहरू धेरै छन्, तर शरीर एउटै छ। आँखाले हातलाई “मलाई तेरो आवश्यकता छैन” भन्न सक्दैन; अनि शिरले पनि खुट्टालाई “मलाई तेरो आवश्यकता छैन” भन्न सक्दैन। बरु शरीरका दुर्बल सोचेका अङ्गहरू नै झन् बढी आवश्यक हुन्छन्। हामीले अरूभन्दा कम महत्त्व ठानेका अङ्गहरूलाई नै बढी महत्त्व दिन्छौँ; र गोप्य अङ्गहरूलाई विशेष रूपमा भद्रतासाथ वास्ता गर्छौँ। हाम्रा देखिने अङ्गहरूलाई विशेष वास्ता चाहिँदैन। तर परमेश्वरले शरीरका अङ्गहरूलाई यसरी एकसाथ मिलाएर राखिदिनुभएको छ, कि कम महत्त्व भएका अङ्गहरूले बढी वास्ता पाऊन्, ताकि कुनै विभाजन नहून्, तर शरीरका अङ्गहरूले एक-अर्काको समान वास्ता गरून्। एउटा अङ्गमा पीडा भयो भने सबै अङ्गहरूले सँगै पीडा भोग्छन्; यदि एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरू त्योसँग रमाउँछन्। तिमीहरू ख्रीष्टका शरीर हौ, र हरेक जना त्यसका अङ्गहरू हौ। मण्डलीमा परमेश्वरले सबैभन्दा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि अचम्मका काम गर्नेहरू, र निको पार्ने वरदान भएकाहरू, अरूलाई सहायता गर्नेहरू, प्रशासन चलाउने वरदान पाएकाहरू र विभिन्न भाषामा बोल्नेहरू नियुक्त गर्नुभएको छ। के सबै जना प्रेरितहरू हुन्? के सबै जना अगमवक्ताहरू हुन्? के सबै जना शिक्षकहरू हुन्? के सबैले अचम्मका कामहरू गर्छन्? के सबैसँग निको पार्ने वरदानहरू छन्? के सबैले अज्ञात भाषाहरू बोल्छन्? के सबैले अर्थ खोल्न सक्छन्? तर उत्तम वरदानहरूको इच्छा गर।
1 कोरिन्थी 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 कोरिन्थी 12:12-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू