YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 1:1-17

1 कोरिन्थी 1:1-17 NCV

पावल, परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित हुनलाई बोलाइएको र हाम्रो भाइ सोस्थेनसबाट, कोरिन्थमा भएका परमेश्‍वरको मण्डलीलाई, जो ख्रीष्‍ट येशूमा पवित्र पारिएका छन्, जो उहाँका पवित्र प्रजा हुनलाई बोलाइएका छन् र अरू हरेक ठाउँमा भएका तिनीहरू सबैसँग जसले हाम्रा प्रभु येशू ख्रीष्‍टको नाम पुकार्दछन्, जो हाम्रा र तिनीहरूका प्रभु हुनुहुन्छ: हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति! परमेश्‍वरको अनुग्रह ख्रीष्‍ट येशूमा तिमीहरूलाई दिइएको कारण म तिमीहरूका लागि परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछु। किनकि तिमीहरू उहाँमा हरेक प्रकारले धनी बनाइएका छौ—सबै प्रकारका वचनमा र सारा ज्ञानमा तिमीहरू उहाँमा धनी बनाइएका छौ। तिमीहरूका बीचमा ख्रीष्‍टबारे हाम्रो गवाही पक्‍का भएको छ। यसकारण हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुनलाई तिमीहरूले उत्सुकतासाथ प्रतीक्षा गरिरहँदा, तिमीहरूलाई कुनै आत्मिक वरदानको कमी हुनेछैन। उहाँले तिमीहरूलाई अन्त्यसम्म बलवान् बनाई राख्नुहुनेछ, ताकि तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्‍टको दिनमा निर्दोष ठहरिन सक। परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्‍टसँगको सङ्गतिमा तिमीहरूलाई बोलाउनुभएको छ। दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्‍टको नाममा आग्रहपूर्वक बिन्ती गर्दछु, तिमीहरू एक-अर्काका कुरामा सहमत होओ, र तिमीहरूका बीचमा कुनै फाटो नहोस्; तर तिमीहरू एउटै मन र एउटै विचारमा पूर्ण रूपमा एक होओ। मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, क्लोएका घरानाबाट कसैले मलाई खबर दिएको छ कि, तिमीहरूका बीचमा झैझगडा छ। मैले भन्‍न चाहेको कुरा यो हो, तिमीहरूमध्ये कसैले, “म पावलको हुँ” अर्कोले “म अपोल्‍लोसको हुँ” अनि अर्कोले, “म पत्रुसको हुँ” अझ अर्कोले चाहिँ, “म ख्रीष्‍टको हुँ” भन्छौ रे। के ख्रीष्‍ट विभाजित हुनुभएको छ र? के पावल तिमीहरूका लागि क्रूसमा टाँगिएको थियो र? के तिमीहरूले पावलको नाममा बप्‍तिस्मा लिएका थियौ र? म परमेश्‍वरलाई धन्यवाद दिन्छु, किनकि मैले तिमीहरूमध्ये क्रिस्पस र गायसलाई बाहेक अरू कसैलाई पनि बप्‍तिस्मा दिइनँ। यसकारण तिमीहरू कसैले पनि मेरो नाममा बप्‍तिस्मा लिएको हो भनी भन्‍न सक्दैनौ। हो, मैले स्तिफनसको परिवारलाई चाहिँ बप्‍तिस्मा दिएको हुँ, त्यसबाहेक अरू कसैलाई पनि मैले बप्‍तिस्मा दिएको मलाई थाहा छैन। किनकि ख्रीष्‍टले मलाई बप्‍तिस्मा दिनलाई होइन, तर सुसमाचार प्रचार गर्नलाई पठाउनुभएको हो, जुनचाहिँ मानवीय बुद्धिका शब्दहरूमा होइन, नत्रता ख्रीष्‍टको क्रूसको शक्ति व्यर्थ हुनेछ।

1 कोरिन्थी 1 पढ्नुहोस्