YouVersion लोगो
खोज आइकन

गन्तीको पुस्तक 22:22-35

गन्तीको पुस्तक 22:22-35 NERV

बिलाम गएको देखी परमेश्वर रिसाउनु भयो र उसलाई रोक्न परमप्रभुका स्वर्गदूत बाटोमा उभिए। बिलाम गधामा चढेका थिए अनि तिनका दुइजना सेवकहरू पनि तिनीसित थिए। जब गधाले परमप्रभुको स्वर्गदूतलाई हातमा तरवार लिएर बाटोमा उभिरहेको देख्यो त्यसले बाटो छाडेर खेततिर गयो। यसर्थ बिलामले त्यस गधालाई बाटोमा फर्काई ल्याउन हिर्कायो। त्यसपछि परमप्रभुका स्वर्गदूत दुवै पट्टि ढुङ्गाको पर्खाल भएको दुइवटा दाखको खेत बीच साँघुरो बाटोमा उभिए, जब गधाले परमप्रभुको स्वर्गदूतलाई देख्यो त्यो भित्तमा टाँसियो अनि बिलामको खुट्टा पनि चेप्टाइदियो। यसर्थ बिलामले फेरि त्यसलाई हिर्काए। त्यसपछि परमप्रभुको स्वर्गदूत अघि बढेर एउटा एकदमै साघुँरो गल्ली जहाँ पसेर दाहिने-देब्रे फर्कन नसकिने ठाँउमा उभिए। परमप्रभुको स्वर्गदूतलाई देखेर गधा थचक्क बस्यो। बिलाम रिसले चुर भएर त्यसलाई आफ्नो लौरोले बेस्सरी हिर्काए। त्यसपछि परमप्रभुले गधालाई मुख खोल्ने अनुमति दिनुभयो र त्यसले बिलामलाई भन्यो, “मैले तपाईंलाई के गरें ताकि तपाईंले मलाई यस प्रकारले तीन चोटि हिर्काउनु भयो?” तब बिलामले गधालाई भने, “तैंले मलाई मूर्ख बनाइस्। यदि मेरो हातमा तरवार हुँदो हो त म तँलाई अहिले नै मार्ने थिएँ।” गधाले बिलामलाई उत्तर दियो, “के म तपाईंले आफ्नो जीवन भरि आज सम्म चढेको गधा होइनँ? के मैले यस्तो अघि कहिले गरेको थिएँ?” बिलामले भने, “थिइनस्।” त्यसपछि परमप्रभुले बिलामको आँखा खोली दिनुभयो अनि तिनले परमप्रभुको स्वर्गदूतलाई नाङ्गो तरवार लिएर बाटोमा उभिरहेको देखे। तब तिनले आफ्नो शिर निहुर्याए। तब परमप्रभुको स्वर्गदूतले बिलामलाई भने, “किन तिमीले गधालाई तीन पल्ट हिर्कायौ हेर, म तिमीलाई रोक्नको निम्ति बाहिर आए किनभने तिम्रो यात्रा मेरो आज्ञाको विरूद्धमा छ। जब गधाले मलाई देख्यो, त्यो तीन पल्ट मबाट तर्कन खोज्यो। यदि यो मबाट नतर्केको भए यो निश्चय थियो कि म तिमीलाई मार्ने थिएँ, तर गधालाई जिउँदै छाडि दिने थिएँ।” तब बिलामले परमप्रभुका स्वर्गदूतलाई भने, “मैले पाप गरें कारण मैले जानिन कि तपाईं मलाई रोक्नको निम्ति बाटोमा उभिरहनु भएको थियो। तर यदि मेरो यात्रालाई केही नराम्रो ठान्नु हुन्छ भने म घर फर्कन्छु।” तब परमप्रभुको स्वर्गदूतले बिलामलाई भने, “तिमी यी मानिसहरूसित जाऊ, तर म जे भन्छु तिमी त्यो मात्र बोल। यसकारण बिलाम मोआबबाट आएका बूढा-प्रधानहरूसँग गए।”