YouVersion लोगो
खोज आइकन

मर्कूसको सुसमाचार 15:16-33

मर्कूसको सुसमाचार 15:16-33 NERV

पिलातसका सिपाहीहरूले येशूलाई महल भित्र (जसलाई प्रेटोरियम भनिन्छ) ल्याए। तिनीहरूले सबै रक्षकहरूलाई एकत्रित गरे। सिपाहीहरूले येशूलाई बैजनी रंगको लुगा लगाईदिए। अनि तिनीहरूले उहाँलाई लगाईदिनका निम्ति काँढाको मुकुट बनाए। त्यसपछि तिनीहरूले येशूलाई भने, “यहूदीहरूका राजा हामी तपाईंलाई सलाम गर्छौ!” तिनीहरूले उहाँलाई शिरमा कैयौं पटक लट्ठीले हिर्काए। तिनीहरूले उहाँमाथि थुके, अनि घुँडा टेकेर उनलाई दण्डवत् गरे। उहाँमाथि गिल्ला गरिसकेपछि तिनीहरूले उहाँको बैजनी लुगाफाटा उतारिदिए, अनि उहाँको आफ्नै लुगाफाटा लगाइदिए। तब तिनीहरूले येशूलाई क्रूसमा झुण्डयाउनलाई बाहिर ल्याए। कुरेनीका एकजना मानिस शहरतिर जाँदै थिए। उनी आलेक्जेण्डर र रूफसको बाबु शिमोन थिए। शिमोन आफ्नो खेतबाट फर्किरहेथ्यो। सिपाहीहरूले शिमोनलाई येशूको क्रूस बोक्न जबरजस्ती गरे। तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा पुर्याए। (गलगथाको अर्थ हुन्छः “खोपडीको स्थान”) गलगथामा सिपाहीहरूले येशूलाई दाखरस पिउन वाध्य गरे। यो दाखरस मूर्र मिसाइएको थियो। तर येशूले पिउनु भएन। तिनीहरूले उहाँलाई क्रूसमा काँटी ठोकेर टाँगि दिए। तब तिनीहरूले येशूका वस्त्रहरू भाग पारे तिनीहरू मध्ये कसले के पाउने हो भनी चिट्ठा गरे। तिनीहरूले येशूलाई क्रूसमा टाँग्दा बिहानी पखको नौ बजेको थियो। येशूको विरूद्धमा लगाइएको आरोपहरूको लिखित सुचना क्रूसमा थियो। सुचना पत्रमा भनिएको थियोः “यहूदीहरूका राजा।” तिनीहरूले दुइजना डाँकूहरूलाई पनि क्रूसमा टाँगेका थिए। तिनीहरू एकजना येशूको दाहिनेपट्टी र अर्को देब्रेपट्टि थिए। ओहोर-दोहोर गर्ने मानसहरू येशूलाई खिशी गर्थे। तिनीहरू टाउको हल्लाउँदै भन्दथे, “तपाई त्यही मानिस होइनौ जसले मन्दिर भत्काएर तीन दिन भित्रै बनाईदिन्छु भन्ने? अब क्रूसबाट तल ओर्लनुहोस् अनि आफैंलाई बचाउनु होस्।” यस्तै प्रकारले मुख्य पूजाहारीहरू र शास्त्रीहरूले येशूलाई गिज्याए। तिनीहरू एक अर्कामा भनिरहेका थिए, “उसले अरू मानिसहरूलाई बचायो। तर आफैंलाई बचाउँन सकेन। यदि ऊ ख्रीष्ट, इस्राएलको राजा हो भने, ऊ क्रूसबाट तल झरेर आओस् जसद्वारा हामी यसलाई देख्न सकौं अनि उसमा विश्वास गरौं।” ती जसलाई उहाँसँगै क्रुसमा झुण्ड्याईयो तिनीहरूले पनि उहाँको निन्दा गरे। मध्यान्हको बेला सारा देशमा अन्धकार भयो। अन्धाकार तीनबजे सम्म लगातार रहयो।