YouVersion लोगो
खोज आइकन

मत्तीको सुसमाचार 16:13-25

मत्तीको सुसमाचार 16:13-25 NERV

जब येशू सिजरिया फिलिप्पीका इलाकामा पुग्नुभयो। उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “म मानिसको पुत्र हुँ। मानिसहरू मलाई को हो भन्छन्?” चेलाहरूले जवाफ दिए, “कसैले तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हुन् भन्दछन्। कसैले तपाईंलाई एलिया हुन् भन्दछन्। अनि कसैले तपाईंलाई यर्मिया अथवा कुनै अगमवक्ताहरू मध्ये एकजना ठान्छन्।” तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू चाहिं मलाई को हो भन्छौ?” शिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।” येशूले भन्नुभयो, “तिमी धन्य हौ, हे योनाको छोरो शिमोन। कुनै पनि मानव जातिले तिमीलाई यो सिकाएको होइन। स्वर्गमा भएका मेरा पिताले तिमीलाई प्रकाश गरिदिनुभएको हो। यसैले म भन्दछु, तिमी पत्रुस हौ। अनि म मेरो मण्डली यो चट्टानमाथि बनाउनेछु। मेरो मण्डलीलाई हराउन मृत्युको शक्तिहरू सामर्थ हुनेछैनन्। म स्वर्गका साँच्चोहरू (चाबी) तिमीहरूलाई दिनेछु। जब तिमी यो पृथ्वीमा न्यायका लागि बोल्नेछौ तब त्यो न्याय परमेश्वरको न्याय हुनेछ। जब तिमीले यो पृथ्वीमा कसैलाई क्षमा दिनेछौ तब त्यो क्षमा परमेश्वरको क्षमा हुनेछ।” त्यसपछि येशूले आफ्ना चेलाहरूलाई कसैलाई पनि उहाँ ख्रीष्ट हुनुहुन्छ भनि नभन्नु भनी चेताउनी दिनुभयो। त्यसै बेलादेखि येशूले आफ्ना चेलाहरूलाई आफू यरूशलेम जान पर्नेछ भनेर प्रष्ट पार्न थाल्नुभयो। अनि यहूदीहरूका अग्रज प्रमुखहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाका शास्त्रीहरूले उहाँलाई धेरै यातना दिनेछन्। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो कि उहाँलाई मारिनु नै पर्नेछ। अनि उहाँ तेस्रो दिनमा मृत्युबाट बौरी उठ्नु हुनेछ। येशूलाई एक्लै एकातिर लगेर टिका टिप्पणी गर्न लागे। पत्रुसले भने, “परमेश्वरले तपाईंलाई यस्ता कुराबाट बचाउँनु हुनेछ, हे परमप्रभु तपाईं माथि यस्ता कुराहरू आउने छैनन्।” तब येशूले पत्रुसतिर फर्केर भन्नुभयो, “तिमी म देखि टाढो जाऊ, शैतान! मेरो पक्षमा छैनौ। परमेश्वरले सोच्नु भएको जस्तो तिमीले सोच्दैनौ। तिमी मानिसहरूले सोचे जस्तैसोच्छौ।” त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहान्छ भने उसले आफूलाई चाहिएको चीजहरू प्रति अस्वीकार गर्नु पर्छ। उसलाई प्रदान गरीएको क्रूस उसले स्वीकार गर्नै पर्छ अनि त्यसपछि मलाई उसले पछ्याउनु पर्छ। जसले आफ्नो जीवन बचाउन चाहन्छ उसले त्यो गुमाउँछ अनि जसले मेरो निम्ति जीवन गुमाउँछ उसले यसको रक्षागर्छ।