YouVersion लोगो
खोज आइकन

मत्ती 16:13-25

मत्ती 16:13-25 NNRV

येशू कैसरिया फिलिप्‍पीको मुलुकमा आउनुभएपछि, उहाँले आफ्‍ना चेलाहरूलाई सोध्‍नुभयो, “मानिसहरूले मानिसको पुत्रलाई को हो भनी भन्‍छन्‌?” तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्‍मा-दिने यूहन्‍ना, कसैले एलिया, र कसैले यर्मिया वा अगमवक्ताहरूमध्‍ये कुनै एक जना हुन्‌ भनी भन्‍छन्‌।” उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू के भन्‍छौ, म को हुँ?” सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्‍ट हुनुहुन्‍छ, जीवित परमेश्‍वरको पुत्र।” येशूले तिनलाई भन्‍नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्‍य हौ। किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्‍वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो। म तिमीलाई भन्‍दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्‍डली यस चट्टानमाथि स्‍थापित गर्नेछु, र नरकका ढोकाहरू त्‍यसमाथि विजयी हुनेछैनन्‌। म तिमीलाई स्‍वर्गको राज्‍यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्‍वीमा बाँध्‍नेछौ, सो स्‍वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्‍वीमा फुकाऔला, सो स्‍वर्गमा फुकाइनेछ।” उहाँ ख्रीष्‍ट हुनुहुन्‍छ भनी कसैलाई नभन्‍नू भनी येशूले चेलाहरूलाई कड़ा आज्ञा दिनुभयो। उहाँ कसरी यरूशलेममा जानुपर्छ, र धर्म-गुरु र मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूबाट धेरै कष्‍ट भोग्‍नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भइउठ्‌नुपर्छ भनी उहाँले त्‍यस बेलादेखि आफ्‍ना चेलाहरूलाई बताउन थाल्‍नुभयो। पत्रुसले उहाँलाई एकातिर लगेर हप्‍काउन लागे, “परमेश्‍वरले यसो नगरून्, प्रभु, तपाईंमाथि यस्‍तो कहिल्‍यै हुनेछैन।” तर फर्केर उहाँले पत्रुसलाई भन्‍नुभयो, “ए शैतान, मेरो सामुन्‍नेबाट हटिजा, तँ मेरो निम्‍ति बाधा होस्‌। किनभने तँ परमेश्‍वरका कुरामा होइन, तर मानिसहरूका कुराहरूमा ध्‍यान दिन्‍छस्‌।” तब येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “कोही मेरो पछि आउने इच्‍छा गर्दछ भने, उसले आफूलाई इन्‍कार गरोस्‌ र आफ्‍नो क्रूस उठाएर मेरो पछि लागोस्‌। किनकि जसले आफ्‍नो प्राण बचाउन चाहन्‍छ, उसले त्‍यो गुमाउनेछ, तर जसले आफ्‍नो प्राण मेरो निम्‍ति गुमाउँछ, त्‍यसले त्‍यो पाउनेछ।