YouVersion लोगो
खोज आइकन

लूकाको सुसमाचार 2:36-52

लूकाको सुसमाचार 2:36-52 NERV

हन्ना, एकजना अगमवादिनी स्त्री पनि त्यहीं मन्दिरमा थिईन्। तिनी आशेर कुलको फनुएलकी छोरी थिईन। हन्ना धेरै बुढी भइसकेकी थिइन्। विवाह गरेर तिनले दाम्पत्य जीवन खालि सात वर्ष मात्र बिताइन। त्यसपछि तिनको लोग्ने मरेको थियो अनि तिनी विधवा भएकी थिइन् औ अहिले तिनी चौरासी वर्ष पुगेकी थिइन्। हन्ना सधैँ मन्दिरमा रहन्थिन्। उनी कहीं जाँदैन थिइन्। रात दिन उपावास र प्रार्थना गर्दै मन्दिरमा परमेश्वरको आराधाना गर्थिन्। ठीक समयमा तिनी त्यो बालकको आमा बाबुकहाँ आई पुगिन् औ परमेश्वरलाई धन्यवाद दिन थालिन्। ती जम्मै ज-जसले यरूशलेमको उद्धारको निम्ति अपेक्षा गरिरहेका थिए तिनीहरूसँग उनको विषयमा बात गरिन्। यूसुफ र मरियमले परमप्रभुको व्यवस्था अनुसार सबै काम सिद्धाए अनि तिनीहरू गालीलको आफ्नै शहर नासरतमा गए। सानो बालक दिनप्रति दिन बढ्दै गए। उनी बलियो हुँदै गए अनि ज्ञानले भरिए। परमेश्वरको अनुग्रह तिनको साथ थियो। निस्तार चाडको बेला प्रत्येक वर्ष नै येशूको आमा बाबु यरूशलेम जाने गर्थे। जब येशू बाह्र वर्ष को हुनुभयो, सधैँ झैं उहाँका माता पिता उहाँको साथमा त्यो भोजमा सामेल भए। जब भोज सिद्धियो तिनीहरू घर फर्किरहेका थिए। तर बालक येशू यरूशलेममा नै बस्नु भयो। उहाँको विषयमा आमा-बाबुलाई केही थाहा भएन। तिनीहरूले सोचे कि उहाँ अन्य यात्रीहरूसँग हुनुहुन्छ, यसकारण तिनीहरू दिनभरी हिंडीरहे। तब उहाँलाई आफ्नो साथी तथा आफन्तहरू माझ तिनीहरूले खोज्न लागे तर यूसुफ र मरियमले उहाँलाई तिनीहरू बीचमा नदेख्ता तिनीहरू उहाँलाई खोज्न यरूशलेम फर्के। तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा भेटे। येशू मन्दिरमा धार्मिक शिक्षकहरूसँग तिनीहरूका कुराहरू सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै बसिहनु भएको थियो। ज-जसले उहाँलाई सुने उहाँको समझ र उत्तरहरूमा छक्क परिरहेका थिए। जब उहाँका आमा-बाबुले उहाँलाई भेटे तिनीहरू आश्चर्य चकित भए। उहाँकी आमाले उहाँलाई भनिन्, “पुत्र, तिमीले हामीलाई किन यसो गर्यौ? तिम्रो बाबु अनि म तिमीलाई खोज्दा साह्रै चिन्तित थियौं।” तब येशूले तिनीहरूलाई भन्नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनु भएको? के तपाईंहरू जान्नु हुन्न कि मेरा पिताको कार्य जहाँ हुन्छ म त्यहीं रहनु पर्छ?” तर तिनीहरूले येशूले उनीहरूलाई दिनु भएको उत्तरको अर्थ बुझ्न सकेनन्। तब येशू तिनीहरूसँगै नासरत जानु भयो। उहाँले आफ्ना आमाबाबुले भनेका सबै कुराहरू मान्नु भयो। तर उहाँकी आमाले भने अझै त्यही कुराहरूनै मनमा राखिरहेकी थिइन्। येशू शारीरिक रूपमा र बुद्धिमा बढ्दै हुनुहुन्थ्यो अनि परमेश्वर र मानिसहरूबाट अनुग्रह पाइरहनु भएको थियो।