YouVersion लोगो
खोज आइकन

लूकाको सुसमाचार 10:25-42

लूकाको सुसमाचार 10:25-42 NERV

त्यसपछि एकजना व्यवस्थाका शास्त्री त्यहाँ खडा भए अनि तिनले येशूलाई जाँच्ने चेष्टा गरे। तिनले भने, “हे गुरुज्यु, मैले अनन्त जीवन पाउनलाई के गर्नुपर्छ?” येशूले तिनलाई भन्नुभयो, “व्यावस्थामा के लेखिएको छ? तिमीले त्यसमा के पढ्छौ?” त्यस मानिसले भन्यो, “‘तिमीले परमप्रभु तिम्रो परमेश्वरलाई आफ्नो सारा हृदय, सारा आत्मा सारा शक्ति अनि सारा मनबाट प्रेम गर्नु पर्छ। अनि तिमीले आफैंलाई जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ।’” येशूले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो उत्तर सही छ। त्यही गर अनि तिमीले अनन्त जीवन पाउनेछौ।” त्यस मानिसले उहाँको प्रश्नलाई सिद्ध गर्न चाहन्थ्यो। यसर्थ उसले येशूलाई भन्यो, “तर ती मानिसहरू को हुन् जसलाई मैले प्रेम गर्नु पर्छ?” यसको उत्तर येशूले भन्नुभयो, “एकजना मानिस यरूशलेमदेखि यरिको गइरहेको थियो। केही डाँकूहरूले तिनलाई घेरे। तिनीहरूले तिनको लुगा च्याते अनि कुटे। त्यसपछि त्यो मानिसलाई त्यहीं भूईँमा लडाएर छोडिराखे। त्यो मानिस प्रायः मरिसकेको थियो। “संयोगवश एकजना यहूदी पूजाहारी त्यही समय त्यो बाटोमा गइरहेका थिए। त्यो पूजाहारीले जब उसलाई देखे, तिनी त्यस मानिसलाई मद्दत गर्न रोकिएनन् तिनी हिंडिनै रहे। एकजना लेवी पनि त्यही बाटो आयो। उसले त्यस घाइते मानिसलाई देख्यो, तर उ अर्को पट्टि लाग्यो। “त्यसपछि एकजना सामरी त्यही बाटोमा आए। तिनी त्यो घाइते मानिसलाई देखे तिनलाई त्यो मानिसमाथि दया जाग्यो। सामरी त्यस मानिस भएकहाँ गए अनि जैतूनको तेल र दाखरस लगाएर उसको चोटहरूमा पट्टि बाँधिदिए। तब तिनले त्यो घाइते मानिसलाई गधामा चढाए अनि एउटा पौवामा लिएर गए। त्यस मानिसको स्याहार गरे। अर्को दिन, त्यो सामरीले दुइवटा चाँदीको सिक्का पौवाको मालिकलाई दिए। सामरीले भने, ‘यो मानिसको हेरचाह गरिदिनुहोस्। यदि यस मानिसमाथि अझै तिमीले खर्च गरे, म फर्केर आँउदा तिर्नेछु।’” त्यसपछि येशूले भन्नुभयो, “यी तीन जना मध्ये डाकूहरूले घाइते बनाएको मानिसलाई कसले प्रेम दर्शायो?” व्यवस्थाको शास्त्रीले उत्तर दिए, “त्यसैले जसले त्यो मानिसलाई मद्दत गरे।” येशूले तिनलाई भन्नुभयो, “तिमी पनि जाऊ अनि त्यसै गर।” जब येशू र उहाँका चेलाहरू जाँदै थिए, येशू एउटा शहर भित्र पस्नुभयो। मार्था नाउँ गरेकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा सत्कार गरिन्। मार्थाको एउटी मरियम नाउँ गरेकी बहिनी थिइन्। मरियम येशूको पाऊ नेर बसेर उहाँको वचन सुनिरहेकी थिई। तर उसको दिदी मार्थ चाँहि घरको काममा नै व्यस्त थिइन्। मार्थाले धेरै काम गर्नु पर्दा रिसाउँथी। मार्थाले गएर भनी, “हे प्रभु! मेरो बहिनीले मलाई एक्लै घर धन्धामा छोडेकोमा तपाईं व्याकुल हुनु हुन्न? दया गरी त्यसलाई भनिदिनोस् त्यसले मलाई मद्दत गरोस्।” अनि प्रभुले त्यसलाई भन्नुभयो, “मार्था, मार्था, तिमीले धेरै कुराको विषयमा चिन्ता र फिक्री गर्दी रहेछौ। एउटा कुरा चाँहि महत्वपूर्ण हुन्छ। मरियमले आफ्नो लागि कुन असल हो त्यो छानेकी छे अनि त्यो ऊबाट कहिल्यै खोसिनेछैन्।”