एक जना धर्म-गुरुले आएर येशूलाई फसाउने युक्ति गर्दै भने, “हे गुरु, अजम्मरी जीवन पाउन मैले के गर्नुपर्छ?” येशूले तिनलाई जवाफ दिनुभयो, “यसको बारेमा व्यवस्थाले के भन्छ? त्यसमा तिमीले के पढेका छौ?” उनले भने, “तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो पूरै हृदय, पूरै प्राण, पूरै शक्ति र पूरै मनले प्रेम गर अनि आफ्नो छिमेकीलाई आफैंलाई जस्तै प्रेम गर।” येशूले भन्नुभयो, “तिमीले ठीक भन्यौ। त्यसै गर अनि तिमी बाँच्नेछौ।” तर ती धर्म-गुरुले आफैंलाई ठीक देखाउनलाई भने, “त्यसो भए मेरो छिमेकीचाहिँ को हो त?” येशूले उनलाई जवाफ दिनुभयो, “कुनै एक जना मानिस यरूशलेमबाट यरीहो सहरतिर ओर्लंदै थियो। बाटोमा त्यसलाई डाकुहरूले समातेर नाङ्गो पारेर पिटे र अधमरो बनाएर छाडिदिए। केही बेरपछि एक जना पूजाहारी त्यतैबाट भएर उँधो झरे। तर त्यस घाइते मान्छेलाई देखेर उनी पर-परैबाट गए। त्यसै गरी लेवी कुलका एक जना पूजाहारी पनि त्यतैबाट आए। उनी पनि घाइते मान्छेलाई देखेर परैबाट तर्केर गए। एक जना सामरी पनि त्यतैबाट आए। त्यस घाइते मान्छेलाई देख्दा उनको हृदय दयाले भरिएर आयो र उनी त्यसकहाँ गए। उनले त्यसको घाउमा जैतुनको तेल र अङ्गुरको मद्य लगाइदिए अनि पट्टी बाँधिदिए। त्यसपछि उनले घाइते मान्छेलाई आफ्नो गधामा चढाएर एउटा सानो पाटीमा पुर्याए अनि रातभरि आफैंले त्यसको स्याहार-सुसार गरे। भोलिपल्ट जाने बेलामा उनले पाटीको मालिकलाई चाँदीका दुई सिक्का दिँदै भने, ‘यिनको राम्ररी हेरचाहा गरिदिनोस्। यिनका लागि अरू बढी खर्च लाग्यो भने म फर्केर आउँदा तपाईंलाई दिनेछु’।” यो दृष्टान्तको कथा भन्नुभएपछि येशूले धर्म-गुरुलाई सोध्नुभयो, “यी तीन जनामध्ये कुनचाहिँले डाकुको हातमा पर्ने मानिसलाई छिमेकीको जस्तै व्यवहार गर्यो होला?” तिनले भने, “दया गर्ने मानिसले!” येशूले भन्नुभयो, “जाऊ, तिमी पनि त्यस्तै गर।” येशू र उहाँका चेलाहरू जाँदै गर्नुहुँदा एउटा गाउँमा पुग्नुभयो। त्यहाँ मार्था नाम भएकी स्त्रीले उहाँहरूलाई आफ्नो घरमा स्वागत सत्कार गरिन्। तिनकी मरियम नाम गरेकी एउटी बहिनी थिइन्। उनी प्रभु येशूको पाउनेर बसेर उहाँको शिक्षा सुन्न लागिन्। मार्थाचाहिँ सेवा-सत्कार गर्ने काममा अल्झिरहिन्। आफूले मात्र धेरै काम गर्नुपरेकोले उनले येशूकहाँ आएर भनिन्, “हे प्रभु, भएभरको सबै काम मैले नै गर्नुपर्छ। बहिनीचाहिँ केही पनि गर्दिन। के तपाईं देख्नुहुन्न? त्यसलाई आएर मलाई काम गर्न सघाउन भनिदिनुहोस्।” प्रभु येशूले तिनलाई भन्नुभयो, “ए मार्था, तिमी धेरै कुराको चिन्ता र फिक्री गर्छ्यौ। तर चाहिने कुरो एउटै छ, त्यही नै मरियमले रोजेकी छिन्। यो उनीबाट खोसिनेछैन।”
लूका 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 10:25-42
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू