YouVersion लोगो
खोज आइकन

यूहन्नाको सुसमाचार 21:1-14

यूहन्नाको सुसमाचार 21:1-14 NERV

त्यसपछि, येशू फेरि आफ्ना चेलाहरू समक्ष देखा पर्नु भयो। त्यो तिबिरियास झीलको छेउमा भएको थियो। यो यसरी हुन गयो। केही चेलाहरू भेला भएका थिए। तिनीहरू शिमोन पत्रुस, थोमा (दिदुमस भनिने), गालीलको कानाका नथानेल, जबदीका दुइ छोराहरू र अन्य दुइजना उहाँका अन्य चेलाहरू त्यहाँ थिए। शिमोन पत्रुसले भन्यो, “म माछा पक्रन जान्छु।” अरू चेलाहरूले भने, “हामी तिमीसितै जानेछौं।” तब सबै चेलाहरू गए र डुङ्गामा चढे। त्यसरात तिनीहरूले केही पक्रन सकेनन्। अर्को मिरमिरे बिहानमा येशू किनारमा उभिनुभयो। तर चेलाहरूले येशू हुनुहुनथ्यो भनेर चिनेनन्। तब येशूले तिनीहरूलाई भन्नुभयो, “साथीहरू हो! तिमीहरूले कुनै माछा पक्रियौ?” चेलाहरू ले भने, “अहँ।” येशूले भन्नुभयो, “माछा मार्ने जाल फ्याँक तिमीहरूको डुङ्गाको दाहिनेपट्टि। तिमीहरू त्यहाँ केही माछाहरू पाउनेछौ।” तिनीहरूले त्यसै गरे। तिनीहरूले यति धेरै माछाहरू पक्रे कि तिनीहरूले डुङ्गातर्फ जाल तान्न पनि सकेनन्। येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, “ती मानिस प्रभु हुन्।” पत्रुसले “ती मानिस प्रभु हुन्” भनेको सुने र आफ्ना ओढ्ने बेरेर पानीमा हामफाले किनभने तिनले काम गर्नलाई लुगा खोलेका थिए। अन्य चेलाहरू डुङ्गामा चढेर किनारमा आए। तिनीहरूले माछाले भरिएको जाल ताने। तिनीहरू किनारदेखि टाढा थिएनन्। तिनीहरू लगभग सय मिटर भित्र थिए। जब तिनीहरू किनारमा पुगे, तिनीहरूले जलिरहेको तातो कोइला देखे। त्यहाँ आगोमा केही माछा अनि केही रोटीका टुक्रा थिए। येशूले भन्नुभयो, “तिमीहरूले भर्खरै पक्रेको केही माछाहरू ल्याऊ।” शिमोन पत्रुस डुङ्गातर्फ गए र किनार तिर जाल ताने। त्यो ठूला-ठूला माछाले भरिएको थियो। त्यहाँ जम्मा एक सय त्रिपन्नवटा माछाहरू थिए। माछाहरू एकदमै गह्रों थियो र पनि जाल फाटेन। येशूले तिनीहरूलाई भन्नुभयो, “आऊ अनि खाऊ।” कुनै पनि चेलाहरूले उहाँलाई सोध्ने आँट गरेनन्, “तपाईं को हुनुहुन्छ?” तिनीहरूलाई उहाँ प्रभु नै हुनुहुन्छ भनेर थाहा थियो। येशू जानु भयो अनि रोटी लिनुभयो। उहाँले रोटी लिएर तिनीहरूलाई दिनुभयो। येशूले माछा पनि लिएर तिनीहरूलाई दिनुभयो। यस्तो प्रकारले येशूले आफ्नो मृत्यूबाट पुनरूत्थान भएर चेलाहरूसित तेस्रोपल्ट देखा पर्नु भयो।

यूहन्नाको सुसमाचार 21:1-14 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति