YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 21:1-14

यूहन्‍ना 21:1-14 NNRV

त्‍यसपछि चेलाहरूकहाँ तिबेरियास समुद्रको छेउमा येशूले फेरि आफूलाई प्रकट गर्नुभयो। उहाँले आफूलाई यसरी प्रकट गर्नुभयो: सिमोन पत्रुस, दिदुमस भन्‍ने थोमा, गालीलका काना नगरका नथानेल, जब्‍दियाका दुई छोराहरू र उहाँका चेलाहरूमध्‍ये अरू दुई जना एकसाथ थिए। सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदैछु।” तिनीहरूले उनलाई भने, “हामी पनि तिमीसँग आउँछौं।” तिनीहरू गएर डुङ्गामा चढ़े, तर त्‍यो रात तिनीहरूले केही पक्रेनन्‌। बिहान हुन लागेको थियो, येशू किनारमा खड़ा हुनुभयो। तर चेलाहरूले उहाँ येशू नै हुनुहुन्‍छ भनी चिनेनन्‌। येशूले तिनीहरूलाई भन्‍नुभयो, “बालक हो, तिमीहरूसँग केही माछा छ?” तिनीहरूले उहाँलाई उत्तर दिए, “छैन।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि भेट्टाउनेछौ।” तब तिनीहरूले जाल हाने, र माछाहरूको थुप्रोले गर्दा तिनीहरूले जाल तान्‍न सकेनन्‌। येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु पो हुनुहुँदोरहेछ।” “उहाँ प्रभु हुनुहुँदोरहेछ” भन्‍ने सुनेर सिमोन पत्रुसले आफ्‍नो बाहिरी वस्‍त्र कम्‍मरमा लपेटे, किनभने तिनले वस्‍त्र खोलेका थिए, र समुद्रमा हामफाले। अरू चेलाहरू डुङ्गामै बसी जाल तान्‍दै आए। तिनीहरू किनारदेखि टाढ़ा होइन, तर प्राय: सय मिटर जतिमा थिए। जब तिनीहरू किनारमा उत्रे, तब तिनीहरूले कोइलाको भुङ्‌ग्रोमा माछा राखिएका र रोटी देखे। येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले भर्खरै पक्रेका माछाबाट केही ल्‍याओ।” तब सिमोन पत्रुसले डुङ्गामा चढ़ेर एक सय त्रिपन्‍न वटा ठूला-ठूला माछाले भरिएको जाल पाखामा तानी ल्‍याए, तर यति धेरै भए तापनि जाल फाटेन। येशूले तिनीहरूलाई भन्‍नुभयो, “आएर खाओ।” चेलाहरूमध्‍ये कसैले पनि “तपाईं को हुनुहुन्‍छ?” भनी सोध्‍ने आँट गरेन, किनकि तिनीहरूले उहाँ प्रभु हुनुहुन्‍छ भनी जान्‍दथिए। येशू आउनुभयो र रोटी लिएर तिनीहरूलाई दिनुभयो, र त्‍यसै गरी माछा पनि दिनुभयो। मृतकबाट जीवित भइउठ्‌नुभएपछि येशू चेलाहरूकहाँ प्रकट हुनुभएको यो तेस्रो पल्‍ट थियो।

यूहन्‍ना 21:1-14 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति