उत्पत्तिको पुस्तक 43:15-34

उत्पत्तिको पुस्तक 43:15-34 NERV

यसर्थ ती दाज्यू-भाइहरूले शासकलाई दिनको निम्ति उपहार लगे। तिनीहरूले पहिलो पाली लगेको भन्दा दोबर रकम पनि लिएर गए। यस पल्ट बिन्यामीन आफ्नो दाज्यूहरूसँग मिश्र देश गए। मिश्र देशमा यूसुफले तिनीहरूसँग बिन्यामीनलाई देखे। यूसुफले आफ्ना नोकरलाई भने, “ती मानिसहरूलाई मेरो घरमा लिएर जाऊ। एउटा पशु मार अनि पकाऊ, यिनीहरू आज दिउँसो मसित भोजन खानेछन्।” उसलाई जे भनिएको थियो नोकरले त्यही गर्यो। उनले ती मानिसहरूलाई यूसुफको घरमा ल्यायो। जब ती दाज्यू-भाइहरूलाई यूसुफको घरमा लगियो तिनीहरू डराए। तिनीहरूले भने, “अस्तिको पाली हाम्रो बोराहरूमा पैसा हालेर फर्काइएको थियो त्यसैकारण हामीलाई यहाँ ल्याइयो। त्यो तिनीहरूले हाम्रो बिरूद्धमा अस्त्र बनाउने छन्। अनि तिनीहरू हाम्रो गधाहरू चोरेर लगी हामीलाई कमारा बनाउनेछन्।” यसर्थ ती दाज्यू-भाइहरू यूसुफको घरको नोकरहरूको मुखियाकहाँ गए। तिनीहरूले भने, “महाशय, म प्रतिज्ञा गर्छु यो सत्य हो, अस्तिको पाली हामी अन्न किन्न आयौं। तर जब हामीहरूले रात बिताउनु पर्ने ठाउँमा आई पुग्यौं, हामीले आफ्नो बोरा खोल्यौं तब बोराको मुखमा नै हामीहरूले तिरेको पुरै रकम पायौं। अहिले हामीले यहाँ ल्याएका छौं। अनि अहिले फेरि पनि अन्न किन्नको निम्ति अरू रकम ल्याएका छौं। हामी जान्दैनौ कसले त्यो रकम हाम्रो बोरामा राख्यो।” तब नोकरले उत्तर दियो, “तिमीहरू शान्तिसित बस। नडराऊ। तिमीहरूका परमेश्वर, तिमीहरूको बाबुका परमेश्वरले नै तिमीहरूको निम्ति बोरामा धन राखिदिएको हुनसक्छ। तिमीहरूले तिरेको रकम मैले पाएकै हुँ।” त्यसपछि त्यस नोकरले तिनीहरू भएको ठाउँमा शिमोनलाई ल्यायो। तब उनले तिनीहरूलाई यूसुफको घरमा ल्याए अनि पानी दिए। तिनीहरूले तिनको खुट्टा धोए। उसले तिनीहरूको गधाहरूलाई पनी खुवायो। यूसुफले पनि मध्य दिनको भोजन तिनीहरूसित खानेछन् भनी सुनेकोले त्यसपछि तिनीहरूले यूसुफलाई दिइने उपहार तयार राखे। यूसुफ घरमा आए अनि दाज्यू-भाइहरूले तिनीहरूसित ल्याएको उपहारहरू तिनलाई दिए। त्यसपछि तिनीहरू तिनको अगाडी भूइँमा निहुरिए। यूसुफले तिनीहरूलाई आफ्नो भलोकुशल सोधपूछ गरे। यूसुफले भने, “तिमीहरूले आफ्नो बूढो बाबुको बारेमा बताएका थियौ, तिनी अझै जीवित अनि स्वस्थ हुनुहुन्छ?” ती दाज्यू-भाइहरूले जवाफ दिए, “ज्यू हजुर, उहाँ जीवित हुनु हुन्छ।” अनि तिनीहरू फेरि यूसुफअघि निहुरिए। त्यसपछि यूसुफले आफ्नो भाइ बिन्यामीनलाई देखे। (बिन्यामीन र यूसुफकी एउटै आमा हुन्।) यूसुफले भने, “तिमीहरूले मलाई बताएको कान्छो भाइ यही हो?” त्यसपछि यूसुफले बिन्यामीनलाई भने, “हे बाबू, परमेश्वरले तिमीलाई आशीर्वाद दिनु हुनेछ।” तब यूसुफ हतारिएर कोठा छोडे किनभने तिनी आफ्ना दाज्यू-भाइहरूको मनोभावले व्याकुल भएका थिए अनि रून चाहन्थे। तिनी आफ्नो कोठाभित्र पसे अनि रोए। त्यसपछि यूसुफ मुख धोएर बाहिर आए। तिनले आफौंलाई वशमा राखेर भने, “अहिले भोजन गर्ने समय हो।” यूसुफले एक्लै एउटा टेबलमासँगै भोजन खाए। उनका भाइहरूले अर्को एउटा टेबलमा भोजन खाए। मिश्र देशबासीहरूले अर्को टेबलमासँगै भोजन खाए। तिनीहरूको विश्वास थियो हिब्रु मानिसहरूसँगै बसेर खानु राम्रो होइन। यूसुफका दाज्यूभाइहरू तिनकै टेबल अघि बसेका थिए। तिनीहरू जेठादेखि कान्छासम्म उमेर अनुसार लहरै बसेका थिए। के भइरहेको छ सबै दाज्यूभाइहरूले एका-अर्कामा आश्चर्यमानी हेरिरहेका थिए। नोकरहरूले यूसुफको टेबलबाट भोजन ल्याएर तिनीहरूलाई दिन्थे। तर ती नोकरहरूले बिन्यामीनलाई अरू दाज्यूभाइहरूलाई भन्दा पाँच गुणा वेशी दिन्थे। ती दाज्यूभाइहरू नअघाउञ्जेलसम्म यूसुफसँगै खाए।