तब ती दाजुभाइहरू सौगात, दोब्बर पैसा साथै बेन्यामीनलाई पनि लिएर मिश्रतिर हिँडे। त्यहाँ तिनीहरू योसेफको सामु हाजिर भए। तिनीहरूसँग बेन्यामीनलाई देखेर योसेफले आफ्नो घरको मुख्य चाकरलाई भने, “यी मानिसहरूलाई मेरो घरमा लैजा। आज दिउँसो यिनीहरूले मसँग खानेछन्। एउटा पशु मारेर भोज तयार गर।” आज्ञा पाएअनुसार त्यस चाकरले गर्यो, त्यसले तिनीहरूलाई योसेफको घरमा लग्यो। घरमा लाँदा तिनीहरू डराए र सोच्न लागे, “पहिलोपल्ट पैसा हाम्रो धोक्रोमा परेर फर्केको हुनाले हामीलाई घरमा लैजाँदै छन्। अब तिनीहरूले अचानक हामीमाथि हमला गर्नेछन्, हाम्रा गधाहरू खोस्छन् र हामीलाई कमारा बनाउँछन्।” यसकारण घरको ढोकामा पुगेर तिनीहरूले मुख्य चाकरलाई भने, “हजुर, हामी अघि पनि एकपल्ट अन्न किन्नलाई यहाँ आएका थियौं। राती बास बस्नलाई पाल हाल्यौं र आफ्ना भारी खोल्यौं। हामी हरेकका धोक्राको मुखमा हामीले तिरेको पैसा बाँधिएको रहेछ। हामीले त्यो त्यति बेला मात्र देख्यौं। हामीले ती रकम फर्काइल्याएका छौं। अझ केही अन्न किन्न हामीले अरू रकम पनि ल्याएका छौं। कसैले त्यसरी हाम्रा धोक्रामा पैसा हालिदियो, हामी जान्दैनौं।” चाकरले भन्यो, “सुर्ता नगर। नडराओ। तिम्रा र तिम्रा बुबाको परमेश्वरले रकम तिमीहरूको धोक्रोमा हालिदिनुभयो होला। मैले त तिमीहरूको अन्नको दाम पाएको थिएँ। तब त्यसले शिमियोनलाई तिनीहरूकहाँ ल्यायो।” चाकरले ती दाजुभाइहरूलाई घरभित्र लग्यो। त्यसले तिनीहरूलाई खुट्टा धुन पानी दियो र तिनका गधाहरूलाई दाना-पानी दियो। मध्यदिनमा योसेफ आएपछि उनलाई टक्र्याउने सौगात तिनीहरूले तयार पारे। दिउँसो तिनीहरूले उनीसँग भोजन गर्नुपर्छ भनी तिनीहरूलाई भनिएको थियो। योसेफ घरमा आएपछि तिनीहरूले उनलाई आफ्नो सौगात टक्र्याए र भूइँमा निहुरेर प्रणाम गरे। उनले तिनीहरूको कुशलताको सोधपुछ गरे र भने, “तिमीहरूले आफ्ना बुढा बुबाको बारेमा मलाई भनेका थियौ, उनी कस्ता छन्? उनी जिउँदा र कुशलै छन्?” तिनीहरूले जवाफ दिए, “तपाईंका दास हाम्रा बुबा आजसम्म जिउँदा र कुशलै हुनुहुन्छ।” तब तिनीहरूले घुँडा टेकेर उनलाई ढोगे। आफ्ना भाइ बेन्यामीनलाई देखेर योसेफले भने, “योचाहिँ तिम्रो कान्छो भाइ हो, जसको बारेमा मलाई तिमीहरूले भनेका थियौ। छोरा, परमेश्वरले तँलाई आशीर्वाद दिऊन्।” तब अचानक उठेर योसेफ गए किनभने उनको हृदयमा भाइको लागि माया भरिएर आयो। उनको भक्कानो फुटेर आयो र उनी आफ्नो कोठामा गई रोए। उनी मुख धोएर बाहिर आए र आफूलाई सम्हालेर खाना ल्याउन आज्ञा दिए। योसेफले एउटा मेचमा खाए। उनका दाजुभाइहरूले अर्का मेचमा खाए। त्यहाँ खान मिश्रीहरूको निम्ति अलग्गै भोज लगाइएको थियो किनभने हिब्रूहरूसँग बसेर खानु तिनीहरूले आफ्नो अपमान ठान्थे। योसेफको सामु ती दाजुभाइहरूलाई तिनीहरूको उमेरअनुसार जेठोदेखि कान्छोसम्म क्रमश: बस्न लगाइएको थियो। आफूलाई दर्जाअनुसार मेचमा बस्न लगाइएको देखेर तिनीहरू छक्क परेर आपसमा हेराहेर गर्न लागे। तिनीहरूलाई योसेफको मेचबाट खान दिइयो र बेन्यामीनलाई अरूलाई भन्दा पाँच गुणा धेरै खाना दिइयो। यसरी तिनीहरूले योसेफसँग खाए, पिए र आनन्द मनाए।
उत्पत्ति 43 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 43:15-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू