YouVersion लोगो
खोज आइकन

उत्पत्तिको पुस्तक 2:4-17

उत्पत्तिको पुस्तक 2:4-17 NERV

आकाश र पृथ्वीको इतिहास यही हो। परमेश्वरले पृथ्वी र आकाश सृष्टि गर्दा भएका घटनाहरूको कुरा यही नै हो। पृथ्वीमा उद्भिदहरूको उम्रनु अघिका कुरा यही हुन्। भूमिहरूमा केही पनि उम्रेको थिएन, किनभने परमप्रभुले पृथ्वीमा यतिञ्जेल पानीसम्म वर्षाउनुँ भएको थिएन। त्यहाँ उद्भिदहरू हेरचाह गर्नलाई कुनै व्यक्ति पनि थिएन। पृथ्वीबाट पानी निस्कियो अनि मैदानमा फैलियो। तब त्यसपछि परमप्रभु परमेश्वरले भूँईबाट माटो उठाउनु भयो अनि मानिस सृष्टि गर्नु भयो। परमप्रभुले मानिसको नाकबाट सास हालिदिनु भयो र यसलाई जिउँदो बनाउनु भयो। परमप्रभु परमेश्वरले अदन नाउँ भएको ठाउँमा पूर्वपट्टि एउटा बगैंचा बनाउनु भयो र उहाँले सृष्टि गर्नु भएको मानिसलाई त्यहाँ राख्नु भयो। परमेश्वरले भूमिबाट राम्रा-राम्रा रुखहरू अनि खान योग्य फलहरू लाग्ने रुखहरू उमार्नु भयो। उहाँले बगैंचाको बीचमा जीवनको रुख अनि असल र खराबको ज्ञान दिन योग्य रुख पनि रोप्नु भयो। बगैंचा भिजाउनलाई अदनबाट एउटा नदी बग्यो र पछि त्यो नदी चारवटा शाखाहरूमा विभाजन भयो। ती शाखाहरूमध्ये पहिलो शाखा नदीको नाउँ पीशोन हो। यो त्यही नदी हो जुन हवीलाको सम्पूर्ण भूमिमा बग्छ र त्यहाँ सुन पाइन्छ। यस प्रदेशको सुन राम्रो दर्जाको छ। धूप गोमेद र पत्थर पनि पाइन्छन्। दोस्रो नदीको नाउँ गीहोन हो र कूश देशको सम्पूर्ण भूमिमा बग्ने नदी पनि यही हो। तेस्रो शाखा नदीको नाउँ हिद्‌देकेल हो र यो नदी अश्शूरको पूर्वतिर बग्छ। चौथो शाखा नदीको नाउँ यूफ्रेटिस हो। तब परमप्रभु परमेश्वरले मानिसलाई लानु भयो अनि बगैंचा खन-जोत अनि हेरचाह गर्न उसलाई राख्नु भयो। परमप्रभु परमेश्वरले त्यस मानिसलाई आज्ञा दिनु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमीले कुनै चिन्ता बिना यस बगैंचाको कुनै पनि रुखबाट फलहरू खान सक्छौ। तर तिमीले त्यस रुखको कुनै फल खानु हुँदैन जसले असल र खराबको ज्ञान दिन्छ, किनभने जुन दिन तिमी त्यस रुखको फल खान्छौ निश्चयनै त्यस दिन तिमी आफैं मर्नेछौ।”