YouVersion लोगो
खोज आइकन

प्रेरितहरूका काम 13:42-52

प्रेरितहरूका काम 13:42-52 NERV

पावल र बर्णाबासले सभाघर छोडेर गइरहेको बेला मानिसहरूले फेरि अर्को विश्रामको दिनमा आउनुहोस् भने अनि यी कुराहरूबाट अझ अधिक भन्नु होस् भनी तिनीहरूलाई विन्ती गरे। सभा सिद्धिए पछि धेरै यहूदीहरूले अनि धेरै मानिसहरू जो यहूदी धर्ममा परिणत भएका थिए अनि सत्य परमेश्वरको आराधना गर्दै थिए, तिनीहरूको पछि गए। पावल अनि बर्णाबास तिनीहरूसित बोले अनि परमेश्वरको अनुग्रह पाईरहन उत्साह दिए। अर्को विश्रामको दिनमा, शहरका प्रायः जम्मै मानिसहरू प्रभुको वचन सुन्नलाई एकत्रित भए। जब यहूदीहरूले ती मानिसहरूलाई त्यहाँ देखे तिनीहरूमा खूबै डाह उत्पन्न भयो। तिनीहरूले नराम्रा शब्दहरू भने अनि पावलसँग तर्क-वितर्क गरे। तर पावल र बर्णाबासले निडर भएर बोले। “परमेश्वरको सन्देश पहिला तिमी यहूदीहरूलाई भन्न आवश्यक थियो। तर तिमीहरूले सुन्न अस्वीकार गर्यौ। तिमीहरू आफैंले आफूलाई अनन्त जीवनको निम्ति अयोग्य ठान्यौ अब हामी अन्य जातिहरू तर्फ फर्कनेछौं। यही नै परमप्रभुले हामीलाई गर्नु भनि आज्ञा गर्नु भएकोछ। परमप्रभुले भन्नुभयोः ‘मैले तिमीहरूलाई अन्य जातिको लागि ज्योति बनाएकोछु, ताकि तिमीहरूले मुक्तिको मार्ग सारा संसारमा देखाउन सक्छौ।’” जब गैर यहूदीहरूले पावलले त्यसो भनेको सुने तिनीहरू खुशी भए। तिनीहरूले प्रभुको सन्देशलाई सम्मान गरे। अनि कतिपय मानिसहरूले त्यो सन्देशमा विश्वास गरे। तिनीहरू त्यही मानिसहरू थिए जसलाई अनन्त जीवनको लागि छानिएका थिए। अनि प्रभुको सन्देशले सारा क्षेत्रभरि प्रचार पाइरहेथ्यो। तर यहूदीहरूले शहरका कतिपय मुख्य नारीहरू जो सत्य परमेश्वरको आराधना गरिरहेका थिए, अनि मुख्य पुरूषहरूलाई पावल र बर्णाबासको विरुद्ध उस्काए। ती मानिसहरूले पावल र बर्णाबासलाई सताउने काम शुरू गरे अनि तिनीहरूलाई शहरबाट बाहिर निकाले। यसैकारणले पावल र बर्णाबासले तिनीहरूको विरुद्ध आफ्ना खुट्टाका धुलाहरू टक्टकाए। त्यसपछि तिनीहरू आइकोनियम भन्ने शहरतर्फ लागे। तर एन्टिओकमा भएका चेलाहरू आनन्दित र पवित्र आत्माले परिपूर्ण थिए।

Video for प्रेरितहरूका काम 13:42-52