YouVersion लोगो
खोज आइकन

इतिहासको दोस्रो पुस्तक 20:1-9

इतिहासको दोस्रो पुस्तक 20:1-9 NERV

पछि मोआबी, अम्मोनी अनि केही मिनुई मानिसहरू यहोशापातसित युद्ध शुरू गर्न आए। केही मानिसहरू आए अनि यहोशापातलाई भने, “एदोमबाट एक विशाल सेना तपाईंको विरूद्ध आउँदैछ। तिनीहरू खारा समुद्रको पल्लो छेउबाट आउँदैछन्। तिनीहरू हसासोन-तामारमा आइसकेका छन्।” (हासासोन-तामारलाई एन-गदी पनि भनिन्छ।) यहोशापात भयभीत भए अनि के गर्नु पर्ने भनी तिनले परमप्रभुसित सोध्ने निश्चय गरे। तिनले यहूदाका हरेकलाई उपवासको निम्ति समयको घोषणा गरे। यहूदाका मानिसहरू परमप्रभुसित सहायताको याचना गर्न एक साथ भेला भए। तिनीहरू यहूदाका सबै शहरहरूबाट परमप्रभुलाई सहायता माग्न आए। यहोशापात नयाँ आँगनको सामुन्ने परमप्रभुको मन्दिरमा थिए। तिनी यहूदा अनि यरूशलेमका मानिसहरूको सभामा उभिए। तिनले भने, “हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्वर, तपाईं स्वर्गमा परमेश्वर हुनुहुन्छ। तपाईंले सबै राष्ट्रहरूका सबै देशहरूमाथि शासन गर्नु हुन्छ। तपाईंसित शक्ति अनि बल छन्। कुनै व्यक्ति तपाईंको विरूद्ध उठ्न सक्तैन। तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तपाईंले यो देशमा बस्ने मानिसहरूलाई छोडन बाध्य तुल्याउनु भयो। तपाईंले तपाईंका इस्राएली मानिसहरूका सामुन्ने यो काम गर्नु भयो। तपाईंले यो देश सदाको निम्ति अब्राहामका सन्तानहरूलाई दिनु भयो। अब्राहम तपाईंका मित्र थिए। अब्राहमका सन्तानहरू यो देशमा बस्थे अनि तिनीहरूले तपाईंको नाउँमा एउटा मन्दिर निर्माण गरे। तिनीहरूले भने, ‘यदि हामी माथि कष्ट आइपरे अर्थात तरवार, दण्ड, रोग वा अनिकाल, हामी यो मन्दिरको सामुन्ने अनि तपाईंको सामुन्ने उभिने छौं। तपाईंको नाउँ यो मन्दिरमा छ। हामी तपाईंलाई पुकार्ने छौं जब हामी कष्टमा पर्छौ। त्यसबेला तपाईंले हाम्रो बिन्ती सुनिदिनु हुनेछ अनि हामीलाई बचाउँनु हुनेछ।’