YouVersion लोगो
खोज आइकन

शमूएलको पहिलो पुस्तक 17:38-58

शमूएलको पहिलो पुस्तक 17:38-58 NERV

शाऊलले दाऊदलाई आफ्नै पोशाक पहिराइ दिए। शाऊलले काँसाको टोपी दाऊदको शिरमा अनि आफ्नो हातहतियर शरीरमा लगाइ दिए। दाऊदले तरवार भिरेर यताउता हिँड्ने चेष्टा गर्यो। यसरी शाऊलको पोशाकले दाऊदलाई साह्रै असजिलो बनायो। यस्तो पोशाकको अभ्यास दाऊदलाई थिएन। दाऊदले शाऊललाई भन्यो, “म यसरी लड्न सक्दिनँ मैले तिनीहरूको प्रयोग गरेको छैन।” यसर्थ दाऊदले सबै फूकाले। दाऊदले हातमा एउटा टेक्ने लौरो लियो र खोलाबाट चिल्लो पाँचवटा ढुङ्गा टिप्यो। गोठालाको झोलाभित्रको थैलीमा उक्त पाँचवटा ढुङ्गा हाल्यो र घुँयेत्रो हातमा बोक्यो। त्यसपछि त्यो पलिश्ती गोल्यतलाई हाँक दिन बढ्‌यो। पलिश्ती गोल्यत विस्तारै दाऊदकहाँ आयो। गोल्यतको सहायक अघि-अघि ढाल बोकेर हिंड्दै थियो। गोल्यतले दाऊदलाई हेर्यो र हाँस्यो। गोल्यतले सोच्यो यो सैनिक होइन, खालि सुन्दर र रातोवर्णको केटो हो। गोल्यतले दाऊदलाई भन्यो, “यो लौरो केको निम्ति हो? कुकुरलाई जस्तै मलाई खेद्न चाहन्छौ?” अनि गोल्यतले आफ्ना देवताहरूको नाउँ उच्चारण गरेर दाऊदलाई सराप्न थाल्यो। गोल्यतले दाऊदलाई भन्यो, “यता आइज, म तेरो मासु चराहरू र जंगली जनावरहरूलाई खुवाउँनेछु।” दाऊदले पलिश्ती गोल्यतलाई भन्यो, “तँ मकहाँ तरवार, बर्छा र भाला प्रयोग गर्न आइस्। तर म तँ कहाँ इस्राएलका सेनाहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुका नाउँ मात्र लिएर आएको छु। तैंले उहाँको विरूद्धमा नराम्रो वचन बोलीस्। आज परमप्रभुले मलाई तँमाथि विजय दिलाउनु हुन्छ! म तँलाई मार्छु। आज तेरो टाउको काटेर चरा र जंगली जनावरहरूलाई खुवाउँछु। हामी अन्य पलिश्तीहरूलाई पनि यसै गर्छौं। त्यसपछि संसारले नै बुझ्नेछ इस्राएलमा परमेश्वर हुनुहुन्छ भनेर। यहाँ जम्मा भएका सबै मानिसहरूले बुझ्ने छन् कि परमप्रभुलाई आफ्ना मानिसहरूलाई बचाउँनका निम्ति तरवार र भाला चांहिदैन भनेर। युद्ध परमप्रभुको हो अनि तिमी पलिश्तीहरूलाई हराउनमा परमप्रभुले हामीलाई सहायता गर्नुहुन्छ।” पलिश्ती गोल्यत दाऊदलाई आक्रमण गर्न सुरियो। र बिस्तारै दाऊद अघि बढ्न थाल्यो। त्यत्ति नै बेला दाऊद दौडिएर लड्न चाँडै अघि सर्यो। दाऊदले आफ्नो झोलाबाट एउटा ढुङ्गा निकाल्यो र घुँयेत्रोमा राखेर मच्चायो। घुँयेत्रोको ढुङ्गा गएर गोल्यतको आँखा बिच निधारमा लाग्यो। गोल्यत घोप्टो परेर भूईंमा लड्यो। यसरी दाऊदले पलिश्तीलाई घुँयेत्रोको ढुङ्गाले हिर्काएर हरायो। उसले ढुङ्गाले हिर्कायो अनि पलिश्ती गोल्यतलाई मार्यो। दाऊदसँग तरवार थिएन। यसर्थ ऊ दौडिएर पलिश्तीको छेउमा गयो। त्यसपछि दाऊदले गोल्यतकै म्यानबाट तरवार झिकेर गोल्यतको टाउको छिनायो। यसरी दाऊदले गोल्यतलाई मार्यो। जब अरू पलिश्तीले उनीहरूको वीर नै मरेको देखे अनि डरले भाग्न थाले। इस्राएल र यहूदाका सैनिकहरूले जयघोषणा गर्दै दगुर्दै पलिश्तीहरूलाई खेद्न थाले। इस्राएलीहरूले पलिश्तीहरूलाई खेद्दै-खेद्दै गातको सिमाना र एक्रोनको ढोकासम्म पुर्याए र धेरै संख्यामा पलिश्तीहरू मारे। पलिश्तीहरूको लाश गात र एक्रोनको शारेमसम्म सडकभरी छरपष्ट थियो। पलिश्तीहरूलाई खेद्दै सिमाना कटाए पछि इस्राएलीहरू फर्केर पलिश्तीहरूका छाउनीमा पसे र त्यहाँ धेरै सामानहरू फेला पारे। दाऊदले पलिश्तीको टाउको यरूशलेममा नै पुर्यायो। पलिश्तीको हात-हतियार पनि आफ्नै पालमा राख्यो। शाऊलले दाऊदलाई गोल्यतसँग लड्न गएको देखेका थिए। शाऊलले सेनाका सेनापति अबनेरसँग सोधे, “अबनेर, त्यस केटोको बाबु चाहिं को हुन्?” अबनेरले भने, “मेरो राजा, शपथ लिएर भन्दैछु, मलाई थाहा छैन।” राजा शाऊले भने, “त्यसको बाबुको चाहिंको रहेछ खोजी गर।” जब दाऊद गोल्यतलाई मारेर फर्के, अबनेरले उसलाई शाऊल कहाँ लग्यो। दाऊदको हातमा अझै पनि त्यस पलिश्तीको टाउको झुण्डिरहेको थियो। शाऊलले उसलाई सोधे, “युवक, तिम्रो बाबु को हुन्?” दाऊदले जवाफ दिए, “म तपाईं कै सेवक बेतलेहेमका यिशैको छोरा हुँ।”