YouVersion लोगो
खोज आइकन

१ शमूएल 17:38-58

१ शमूएल 17:38-58 सरल नेपाली

तिनले आफ्‍नै कवच दाऊदलाई पहिरन दिए, काँसाको टोप दाऊदको टाउकोमा लाइदिए र एकसरो झिलम दिए। दाऊदले झिलममाथि शाऊलको तरवार बाँधे र हिँड्‍ने चेष्‍टा गरे तर सकेनन् किनभने तिनलाई ती कुराहरू पहिरने बानी थिएन। तिनले शाऊललाई भने, “म यी सबै लाएर लडाइँ गर्न सक्‍दिनँ। मलाई यस्‍तो बानी छैन।” तिनले कवच खोले। तिनले आफ्‍नो गोठालेलौरो लिए र खोलाबाट पाँच वटा चिल्‍ला-चिल्‍ला ढुङ्गाहरू टिपेर आफ्‍नो झोलामा हाले। आफ्‍नो घुँयेत्रो तयार गरी तिनी गोल्यतसित लड्‍न हिंडे। आफ्‍नो ढाल बोक्‍ने मानिसलाई अघि लाएर त्‍यो पलिश्‍ती दाऊदतिर बढ्यो। त्‍यो नजिक-नजिक आयो र दाऊदलाई राम्ररी हेरेपछि घृणा र तिरस्‍कारले भरियो किनभने तिनी राता-राता गाला भएका र हेर्नमा सुन्‍दर ठिटा थिए। त्‍यसले दाऊदलाई भन्‍यो, “त्‍यो लौरो केलाई लिइस्? मलाई तैँले कुकुर हो भन्‍ठानिस् र?” त्‍यसले दाऊदलाई त्‍यसका देवी-देवताका नाममा सरापहरू दिन लाग्‍यो। “आइज,” त्‍यसले दाऊदलाई चुनौती दियो, “र म तेरो मासु पशु-पंक्षीहरूलाई खान दिनेछु।” दाऊदले उत्तर दिए, “तँ मेरो विरुद्धमा तरवार, भाला र बर्छा लिएर आउँदै छस्; तर म तेरो विरुद्धमा सर्वशक्तिमान् परमप्रभु इस्राएली सेनाका परमेश्‍वरको नाममा आउँदै छु, जसलाई तैँले तुच्‍छ ठानेको छस्। आज नै परमप्रभुले तँलाई मेरो अधीनमा दिनुहुनेछ। म तँलाई जितेर तेरो टाउको ठुन्‍क्याउनेछु र पलिश्‍ती सिपाहीहरूका लाश पशु-पंक्षीहरूलाई खान दिनेछु। तब सारा संसारले थाहा पाउनेछ कि इस्राएलसित परमेश्‍वर हुनुहुन्‍छ र यहाँ भएका सबैले देख्‍नेछन् कि आफ्‍ना प्रजालाई बचाउन परमप्रभुलाई तरवार र भालाको जरुरत पर्दैन। उहाँ लडाइँमा विजयी हुनुहुन्‍छ र तिमीहरू सबैलाई हाम्रा अधिकारमा दिनुहुनेछ।” गोल्यत फेरि दाऊदतिर बढ्यो र त्‍योसँग लड्‍ने विचारले दाऊद झटपट गरी पलिश्‍तीहरूले लडाइँको निम्‍ति बाँधेको पङ्क्तितिर दगुरे। तिनले आफ्‍नो थैलीमा हात हालेर एउटा ढुङ्गा निकाले र गोल्यतलाई घुँयेत्रोले हाने। ढुङ्गा त्‍यसको निधारमा गाडियो र खप्‍पर फोरिदियो। गोल्यत भूइँमा घोप्‍टिएर ढल्‍यो। यसरी दाऊद आफ्‍नो घुँयेत्रो र ढुङ्गाले विजयी भए। तरवारबिना तिनले गोल्यतलाई हानेर मारे। तिनी त्‍योतिर दगुरिगए र त्‍यसमाथि उभिए र गोल्यतको तरवार म्‍यानबाट झिकी त्‍यसैले त्‍यसको टाउको ठुन्‍क्‍याएर त्‍यसको प्राण लिए। पलिश्‍तीहरूले आफ्‍नो वीर योद्धा मरेको देखेर भागे। इस्राएल र यहूदाका मानिसहरू कराउँदै तिनीहरूका पछि लागे र तिनीहरूलाई गात र एक्रोनको ढोकासम्‍म खेदेर लगे। शारैम जाने बाटोमा गात र एक्रोनसम्‍मै पलिश्‍तीहरू घाइते भएर जताततै लडे। जब इस्राएलीहरू पलिश्‍तीहरूलाई खेद्‌न छोडेर फर्किआए, तिनीहरूले तिनको छाउनी लुटे। गोल्यतको टाउको टिपेर दाऊदले यरूशलेममा लगे तर गोल्यतका हतियारहरूचाहिँ आफ्‍नै पालमा राखे। शाऊलले दाऊदलाई गोल्यतसित लड्‍न जाँदैगरेका देखेर आफ्‍ना सेनाका अध्‍यक्ष अबनेरलाई सोधे, “अबनेर, त्‍यो कसको छोरो हो?” अबनेरले जवाफ दिए, “राजन्, मलाई थाहा भएन।” “त्‍यसो भए गएर पत्ता लगाऊ”, शाऊलले आज्ञा गरे। यसकारण गोल्यतलाई मारेर छाउनीमा फर्केपछि अबनेरले दाऊदलाई शाऊलकहाँ लगे। गोल्यतको टाउको दाऊदका हातमा नै थियो। शाऊलले तिनलाई प्रश्‍न गरे, “ए केटा, तिमी कसका छोरा हौ?” “म तपाईंको सेवक बेथलेहेमको यिशैको छोरो हुँ।” दाऊदले उत्तर दिए।

१ शमूएल 17 पढ्नुहोस्