YouVersion लोगो
खोज आइकन

राजाहरूक पहिल पुस्तक 17:1-16

राजाहरूक पहिल पुस्तक 17:1-16 NERV

एलिया तिश्बी गिलाद शहरको अगमवक्ता थिए। एलियाले राजा आहाबलाई भने, “म इस्राएलका परमप्रभु परमेश्वरको सेवा गर्छु। साँच्चै नै परमप्रभु जीवित रहनु भए जस्तैं, म प्रतिज्ञा गर्छु आउँदो केही बर्ष न ता पानी पर्छ न शीत नै पर्छ। जब म आदेश दिन्छु तब मात्र पानी पर्नेछ।” तब परमप्रभुले एलियालाई भन्नुभयो, “यो ठाउँ छोड अनि पूर्वतिर लाग। केरीतको साँघुरो घाँटी छेउ लुक। यो घाटी यर्दन नदीको पूर्वमा छ। तिमी त्यस नदीको पानी पिउन सक्छौ। मैले कागहरूलाई त्यस ठाउँमा तिम्रो लागि खाद्य ल्याउने आदेश दिएको छु।” यसकारण एलियाले त्यसै गरे जस्तो परमप्रभुले उनलाई गर्नु भन्नुभएको थियो। उनी यर्दन नदीको पूर्व तिर करीत खोलामा बस्न गए। कागहरूले एलियाका निम्ति प्रत्येक साँझ र विहान मासु र रोटी ल्याए। एलियाले त्यस नदीबाट पानी पिउथ्ये। पानी नपरेकोले गर्दा धेरै समय पछि नाला सुख्खा भयो। तब परमप्रभुले एलियालाई भन्नुभयो, “सीदोनमा सारपत जाऊ। त्यहीं बस। त्यस ठाउँमा एउटी आइमाई छ जसको पति मरेको छ। मैले उसलाई तिम्रो लागि खाद्य दिनु भनी आदेश दिएको छु।” यसकारण एलिया सारपत गए। उनी शहरको फाटकमा पुगे अनि त्यहाँ एक जना स्त्रीलाई देखे। उसको पति मरेको थियो। आइमाई आगोको निम्ति दाउरा जम्मा गर्दै थिई। एलियाले उसलाई भने, “के तिमी मेरो निम्ति एउटा लोटामा अलि कति पानी ल्याउन सक्छौ म पिउन सकुँ?” जब स्त्री पानी लिन जान लागेकी थिईन, एलियाले भने, “कृपया, मेरो निम्ति केही रोटी पनि ल्याऊ।” स्त्रीले भनिन्, “जीवित परमप्रभु तपाईंको परमेश्वर समक्ष मैले शपथ गरिभन्छु म सित रोटी छैन। म सित भाडाँमा अलिकति पीठो मात्र छ। अनि म सित ढुंग्रोमा अलिकति अंडीरको तेल छ। म यस ठाउँमा आगोको निम्ति केही दाउराका टुक्रा जम्मा गर्न आएकी हुँ। म यसलाई घर लिएर जानेछु अनि हाम्रो निम्ति भोजन पकाउने छु। मेरो छोरा र म यसलाई खाने छौं अनि त्यसपछि भोकले मर्नेछौं।” एलियाले स्त्रीलाई भने, “फिक्री नगर। घर जाऊ अनि तिमीले भने जस्तैं गरेर तिम्रो भोजन पकाऊ। तर पहिला तिमीसँग भएको पीठोबाट सानो रोटी बनाऊ। त्यो रोटी मेरो निम्ति ल्याऊ। त्यसपछि आफ्नो अनि छोराका लागि पकाऊ। परमप्रभु इस्राएलका परमेश्वर भन्नु हुन्छ, ‘त्यो भाँडोको पिठो कहिले रित्तो हुनेछैन। ढुंग्रोको तेल कहिले कमि हुने छैन। परमप्रभुले बर्षा नपठाएको दिनसम्म यो चलि रहने छ।’” यसकारण स्त्री आफ्नो घर गइन्। एलियाले उनलाई जे गर्नु भनेका थिए तिनले त्यसै गरिन्। एलिया, स्त्री र उनको छोराको लागि धेरै दिनको खाद्य थियो। पीठोको भाँडो अनि तेलको ढुंग्रो कहिले रित्तो भएन। यो यस्तो भयो जस्तो परमप्रभुले हुन्छ भन्नुभएको थियो। परमप्रभुले एलिया मार्फत बोल्नु भएको थियो।