YouVersion लोगो
खोज आइकन

१ राजाहरू 17:1-16

१ राजाहरू 17:1-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अब गिलादको तिश्‍बेका तिश्‍बी एलियाले आहाबलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर जसको सेवा म गर्दछु, उहाँको जीवित नाउँमा शपथ खाएर म भन्‍दछु, कि मेरो वचनविना आगामी केही वर्षहरूभरि न त शीत पर्नेछ न केही पानी पर्नेछ।” तब परमप्रभुको यो वचन एलियाकहाँ आयो: “यो ठाउँ छोड़ेर पूर्वतिर लाग्, र यर्दनको पूर्वतिर भएको करीतको खोल्‍सामा गएर लुकिबस्‌। तैंले खोलाको पानी पिउनू, र तँलाई त्‍यहाँ खुवाउनलाई मैले कागहरूलाई हुकुम गरेको छु।” यसैले परमप्रभुले भन्‍नुभएझैँ तिनले गरे। तिनी यर्दनको पूर्वतिर भएको करीत खोल्‍सामा गएर बसे। त्‍यहाँ कागहरूले तिनलाई बिहान रोटी र मासु र बेलुकी रोटी र मासु ल्‍याइदिए, र तिनले खोलाको पानी पिए। केही समयपछि देशमा पानी नपरेकोले त्‍यो खोलाको पानी सुक्‍यो। तब परमप्रभुको यो वचन तिनीकहाँ आयो: “अब झट्टै सीदोनका सारपतमा गएर त्‍यहाँ बस्‌। तँलाई खुवाउन मैले त्‍यस ठाउँमा एउटी विधवालाई आज्ञा गरेको छु।” यसैले तिनी सारपतमा गए। जब तिनी सारपतको मूल ढोकामा आइपुगे, तब तिनले एउटी विधवालाई दाउरा बटुलिरहेकी देखे। तिनले हपारेर त्‍यसलाई भने, “कृपा गरी एउटा लोहोटामा मलाई अलिकता पानी पिउनलाई ल्‍याइदेऊ।” त्‍यो विधवा पानी ल्‍याउनलाई जाँदाजाँदै तिनले फेरि हपारेर त्‍यसलाई भने, “कृपा गरी एक टुक्रा रोटी मलाई ल्‍याइदेऊ।” त्‍यस विधवाले जवाफ दिई “जीवित परमप्रभु तपाईंका परमेश्‍वरको नाउँमा शपथ खाएर म भन्‍छु, कि भाँड़ामा एक मुट्ठी पीठो र ढुङ्‌ग्रोमा अलिकता तेलबाहेक मसित केही रोटी छैन। म आफै र मेरो छोराको निम्‍ति खानेकुरा बनाएर खाई मर्नलाई घरमा केही झिँजामिजा लानलाई खोज्‍दैछु।” एलियाले त्‍यसलाई भने, “नडराऊ, घर गएर तिमीले भनेझैँ गर। तर पहिले तिमीसित जे छ त्‍यसको एउटा सानो रोटी बनाएर मकहाँ ल्‍याऊ, र त्‍यसपछि तिमी र तिम्रो छोराको निम्‍ति केही बनाऊ। किनकि परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘देशमा परमप्रभुले पानी नपठाउञ्‍जेल भाँड़ाको पीठो सिद्धिनेछैन र ढुङ्‌ग्रोको तेल रित्तिनेछैन’।” त्‍यो विधवा गएर एलियाले भनेझैँ गरी। यसैले एलियाको निम्‍ति र त्‍यो र त्‍यसका परिवारको निम्‍ति दिनहुँ खानेकुरा भयो। किनकि एलियाद्वारा परमप्रभुले भन्‍नुभएझैँ भाँड़ाको पीठो सिद्धिएन, र ढुङ्‌ग्रोको तेल पनि रित्तिएन।

शेयर गर्नुहोस्
१ राजाहरू 17 पढ्नुहोस्

१ राजाहरू 17:1-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

गिलादको तिश्बीबाटका तिश्बी एलियाले आहाबलाई भने, “मैले सेवा गरेका याहवेह, इस्राएलका जीवित परमेश्‍वरलाई साक्षी राखी भन्दछु, कि आउँदा केही वर्षहरूमा मैले नभनेसम्म न त शीत पर्नेछ, न त पानी पर्नेछ।” तब याहवेहको वचन एलियाकहाँ आयो: “यो ठाउँ छोडेर पूर्वपट्टि लाग्, र यर्दनको पूर्वपट्टि भएको करीतको खोल्सामा गएर लुकेर बस्। तैँले खोलाको पानी पिउनेछस्; र तँलाई खुवाउनलाई मैले कागहरूलाई हुकुम गरेको छु।” यसकारण याहवेहले भन्‍नुभएझैँ तिनले गरे। तिनी यर्दनको पूर्वपट्टिको करीतको खोल्सामा गएर बसे। कागहरूले तिनलाई बिहान रोटी र मासु ल्याइदिन्थे; अनि साँझमा पनि रोटी र मासु ल्याइदिन्थे; र तिनले त्यस खोलाको पानी पिउँथे। केही समयपछि देशमा पानी नपरेको कारणले त्यो खोला सुक्यो। तब याहवेहको वचन तिनीकहाँ आयो: “झट्टै सीदोनको सारपतमा जा र त्यहाँ बस्। तँलाई भोजन दिनू भनेर मैले त्यहाँ एउटी विधवालाई आज्ञा दिएको छु।” यसकारण तिनी सारपतमा गए। तिनी त्यस सहरको मूलढोकामा आइपुग्दा त्यहाँ एउटी विधवा दाउरा बटुल्दै थिइन्। तिनले उनलाई बोलाएर सोधे, “कृपया तिमीले मलाई एउटा लोहोटामा अलिकति पानी ल्याइदिन्छौ कि ताकि म पिउन पाऊँ?” ती विधवा पानी लिन जाँदै गर्दा तिनले उनलाई भने, “अनि दया गरी मलाई एक टुक्रा रोटी पनि ल्याइदेऊ।” तिनले जवाफ दिइन्, “जीवित याहवेह तपाईंका परमेश्‍वरलाई साक्षी राखेर भन्दछु, मसित एउटै रोटी पनि छैन। एउटा भाँडामा एक मुट्ठी पिठो र ढुङ्ग्रोमा अलिकति तेलबाहेक केही छैन। म आफैँ र मेरा छोराका निम्ति खानेकुरा बनाएर खाई मरौँला भनी घरमा लैजान केही दाउरा बटुल्दैछु।” एलियाले उनलाई भने, “नडराऊ, घर गएर तिमीले भनेझैँ गर। तर तिमीसित जे छ, पहिले त्यसबाट मेरा निम्ति एउटा रोटी पकाएर मकहाँ ल्याऊ; अनि त्यसपछि तिमी र तिम्रो छोराका निम्ति केही बनाऊ! किनकि याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘याहवेहले यस देशमा वर्षा नपठाउनुभएसम्म भाँडाको पिठो र ढुङ्ग्रोको तेल रित्तिनेछैन।’ ” अनि तिनी गइन्, र एलियाले तिनलाई भनेझैँ गरिन्। यसरी एलिया र ती स्त्रीका परिवारको निम्ति धेरै दिनका निम्ति भोजन भइरह्‍यो। किनकि एलियाद्वारा याहवेहले भन्‍नुभएझैँ भाँडोको पिठो रित्तिएन; न त ढुङ्ग्रोको तेल नै सकियो।

शेयर गर्नुहोस्
१ राजाहरू 17 पढ्नुहोस्

१ राजाहरू 17:1-16 पवित्र बाइबल (NERV)

एलिया तिश्बी गिलाद शहरको अगमवक्ता थिए। एलियाले राजा आहाबलाई भने, “म इस्राएलका परमप्रभु परमेश्वरको सेवा गर्छु। साँच्चै नै परमप्रभु जीवित रहनु भए जस्तैं, म प्रतिज्ञा गर्छु आउँदो केही बर्ष न ता पानी पर्छ न शीत नै पर्छ। जब म आदेश दिन्छु तब मात्र पानी पर्नेछ।” तब परमप्रभुले एलियालाई भन्नुभयो, “यो ठाउँ छोड अनि पूर्वतिर लाग। केरीतको साँघुरो घाँटी छेउ लुक। यो घाटी यर्दन नदीको पूर्वमा छ। तिमी त्यस नदीको पानी पिउन सक्छौ। मैले कागहरूलाई त्यस ठाउँमा तिम्रो लागि खाद्य ल्याउने आदेश दिएको छु।” यसकारण एलियाले त्यसै गरे जस्तो परमप्रभुले उनलाई गर्नु भन्नुभएको थियो। उनी यर्दन नदीको पूर्व तिर करीत खोलामा बस्न गए। कागहरूले एलियाका निम्ति प्रत्येक साँझ र विहान मासु र रोटी ल्याए। एलियाले त्यस नदीबाट पानी पिउथ्ये। पानी नपरेकोले गर्दा धेरै समय पछि नाला सुख्खा भयो। तब परमप्रभुले एलियालाई भन्नुभयो, “सीदोनमा सारपत जाऊ। त्यहीं बस। त्यस ठाउँमा एउटी आइमाई छ जसको पति मरेको छ। मैले उसलाई तिम्रो लागि खाद्य दिनु भनी आदेश दिएको छु।” यसकारण एलिया सारपत गए। उनी शहरको फाटकमा पुगे अनि त्यहाँ एक जना स्त्रीलाई देखे। उसको पति मरेको थियो। आइमाई आगोको निम्ति दाउरा जम्मा गर्दै थिई। एलियाले उसलाई भने, “के तिमी मेरो निम्ति एउटा लोटामा अलि कति पानी ल्याउन सक्छौ म पिउन सकुँ?” जब स्त्री पानी लिन जान लागेकी थिईन, एलियाले भने, “कृपया, मेरो निम्ति केही रोटी पनि ल्याऊ।” स्त्रीले भनिन्, “जीवित परमप्रभु तपाईंको परमेश्वर समक्ष मैले शपथ गरिभन्छु म सित रोटी छैन। म सित भाडाँमा अलिकति पीठो मात्र छ। अनि म सित ढुंग्रोमा अलिकति अंडीरको तेल छ। म यस ठाउँमा आगोको निम्ति केही दाउराका टुक्रा जम्मा गर्न आएकी हुँ। म यसलाई घर लिएर जानेछु अनि हाम्रो निम्ति भोजन पकाउने छु। मेरो छोरा र म यसलाई खाने छौं अनि त्यसपछि भोकले मर्नेछौं।” एलियाले स्त्रीलाई भने, “फिक्री नगर। घर जाऊ अनि तिमीले भने जस्तैं गरेर तिम्रो भोजन पकाऊ। तर पहिला तिमीसँग भएको पीठोबाट सानो रोटी बनाऊ। त्यो रोटी मेरो निम्ति ल्याऊ। त्यसपछि आफ्नो अनि छोराका लागि पकाऊ। परमप्रभु इस्राएलका परमेश्वर भन्नु हुन्छ, ‘त्यो भाँडोको पिठो कहिले रित्तो हुनेछैन। ढुंग्रोको तेल कहिले कमि हुने छैन। परमप्रभुले बर्षा नपठाएको दिनसम्म यो चलि रहने छ।’” यसकारण स्त्री आफ्नो घर गइन्। एलियाले उनलाई जे गर्नु भनेका थिए तिनले त्यसै गरिन्। एलिया, स्त्री र उनको छोराको लागि धेरै दिनको खाद्य थियो। पीठोको भाँडो अनि तेलको ढुंग्रो कहिले रित्तो भएन। यो यस्तो भयो जस्तो परमप्रभुले हुन्छ भन्नुभएको थियो। परमप्रभुले एलिया मार्फत बोल्नु भएको थियो।

शेयर गर्नुहोस्
१ राजाहरू 17 पढ्नुहोस्

१ राजाहरू 17:1-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अब गिलादको तिश्‍बेका तिश्‍बी एलियाले आहाबलाई भने, “जीवित परमप्रभु इस्राएलका परमेश्‍वर, जसको सेवा म गर्दछु, उहाँलाई साक्षी राखी म भन्‍दछु कि मेरो वचनबिना आगामी केही वर्षभरि न त शीत पर्नेछ न त केही पानी पर्नेछ।” तब परमप्रभुले एलियालाई भन्‍नुभयो, “यो ठाउँ छोडेर पूर्वपट्टि जा र यर्दन नदीको पूर्वमा भएको करीत खोलामा लुकेर बस्। त्‍यस खोलाले तँलाई पिउने पानी दिनेछ र मैले कागहरूलाई तँलाई त्‍यहाँ खाना पुर्‍याइदिने आज्ञा दिएको छु।” परमप्रभुको आज्ञापालन गरेर एलिया करीत खोलामा गए र त्‍यहाँ खोलाको छेउमा बास बस्‍न थाले। उनले खोलाको पानी पिउँथे र बिहान र बेलुका सधैँ कागहरूले उनलाई रोटी र मासु ल्‍याइदिन्‍थे। पानी नपरेको हुनाले केही समयपछि त्‍यो खोला सुक्‍यो। तब परमप्रभुले एलियालाई भन्‍नुभयो, “अब सीदोनको छेउमा भएको सारपत सहरमा जा र त्‍यहाँ बस्। त्‍यहाँ बास गर्ने एउटी विधवालाई मैले तँलाई खुवाउन आज्ञा गरेको छु।” एलिया सारपतमा गए। उनी सहरको ढोकानिर आइपुग्‍दा एउटी विधवालाई दाउरा बटुलिरहेकी देखे। उनले विधवालाई भने, “मलाई अलिकता पानी पिउनलाई ल्‍याइदेऊ।” विधवा पानी ल्‍याउन जाँदैगर्दा उनले फेरि तिनलाई कराएर भने, “मलाई केही रोटी पनि ल्‍याइदेऊ।” तर तिनले भनिन्, “जीवित परमप्रभु तपाईंका परमेश्‍वरलाई साक्षी राखी म साँच्‍चै भन्‍दछु, भाँडामा एक मुठ्ठी पीठो र ढुङ्ग्रोमा अलिकता तेलबाहेक मसित केही रोटी छैन। म दाउरा घरमा लगी मसित भएको धेर-थोर जे छ, त्‍यो आमा र छोराले खाऔं भनेर यहाँ केही दाउरा बटुल्‍न आएथें। त्‍यो हाम्रो अन्‍तिम गाँस हुनेछ र त्‍यसपछि हामी भोकै मर्नेछौं।” एलियाले तिनलाई भने, “फिक्री नगर। गएर आफ्‍नो भोजन बनाऊ। तर पहिले आफूसित जे छ, त्‍यसबाट एउटा सानो रोटी बनाएर मलाई ल्‍याइदेऊ र बाँकी रहेकाले आमा-छोराको लागि रोटी बनाऊ किनभने परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘म परमप्रभुले वर्षा पठाउने दिनसम्‍म भाँडोको पीठो र ढुङ्ग्राको तेल रित्तिनेछैन।” विधवाले गएर एलियाले भनेअनुसार गरिन् र तिनीहरू सबैले धेरै दिनसम्‍म पुग्‍दो भोजन पाए। एलियाद्वारा परमप्रभुले प्रतिज्ञा गर्नुभएअनुसार भाँडोको पीठो र ढुङ्ग्रोको तेल सकिएन।

शेयर गर्नुहोस्
१ राजाहरू 17 पढ्नुहोस्