अब गिलादको तिश्बेका तिश्बी एलियाले आहाबलाई भने, “जीवित परमप्रभु इस्राएलका परमेश्वर, जसको सेवा म गर्दछु, उहाँलाई साक्षी राखी म भन्दछु कि मेरो वचनबिना आगामी केही वर्षभरि न त शीत पर्नेछ न त केही पानी पर्नेछ।” तब परमप्रभुले एलियालाई भन्नुभयो, “यो ठाउँ छोडेर पूर्वपट्टि जा र यर्दन नदीको पूर्वमा भएको करीत खोलामा लुकेर बस्। त्यस खोलाले तँलाई पिउने पानी दिनेछ र मैले कागहरूलाई तँलाई त्यहाँ खाना पुर्याइदिने आज्ञा दिएको छु।” परमप्रभुको आज्ञापालन गरेर एलिया करीत खोलामा गए र त्यहाँ खोलाको छेउमा बास बस्न थाले। उनले खोलाको पानी पिउँथे र बिहान र बेलुका सधैँ कागहरूले उनलाई रोटी र मासु ल्याइदिन्थे। पानी नपरेको हुनाले केही समयपछि त्यो खोला सुक्यो। तब परमप्रभुले एलियालाई भन्नुभयो, “अब सीदोनको छेउमा भएको सारपत सहरमा जा र त्यहाँ बस्। त्यहाँ बास गर्ने एउटी विधवालाई मैले तँलाई खुवाउन आज्ञा गरेको छु।” एलिया सारपतमा गए। उनी सहरको ढोकानिर आइपुग्दा एउटी विधवालाई दाउरा बटुलिरहेकी देखे। उनले विधवालाई भने, “मलाई अलिकता पानी पिउनलाई ल्याइदेऊ।” विधवा पानी ल्याउन जाँदैगर्दा उनले फेरि तिनलाई कराएर भने, “मलाई केही रोटी पनि ल्याइदेऊ।” तर तिनले भनिन्, “जीवित परमप्रभु तपाईंका परमेश्वरलाई साक्षी राखी म साँच्चै भन्दछु, भाँडामा एक मुठ्ठी पीठो र ढुङ्ग्रोमा अलिकता तेलबाहेक मसित केही रोटी छैन। म दाउरा घरमा लगी मसित भएको धेर-थोर जे छ, त्यो आमा र छोराले खाऔं भनेर यहाँ केही दाउरा बटुल्न आएथें। त्यो हाम्रो अन्तिम गाँस हुनेछ र त्यसपछि हामी भोकै मर्नेछौं।” एलियाले तिनलाई भने, “फिक्री नगर। गएर आफ्नो भोजन बनाऊ। तर पहिले आफूसित जे छ, त्यसबाट एउटा सानो रोटी बनाएर मलाई ल्याइदेऊ र बाँकी रहेकाले आमा-छोराको लागि रोटी बनाऊ किनभने परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘म परमप्रभुले वर्षा पठाउने दिनसम्म भाँडोको पीठो र ढुङ्ग्राको तेल रित्तिनेछैन।” विधवाले गएर एलियाले भनेअनुसार गरिन् र तिनीहरू सबैले धेरै दिनसम्म पुग्दो भोजन पाए। एलियाद्वारा परमप्रभुले प्रतिज्ञा गर्नुभएअनुसार भाँडोको पीठो र ढुङ्ग्रोको तेल सकिएन।
१ राजा 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजा 17:1-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू