थुमाले सातौँ मोहर खोल्नुहुँदा आधा घण्टासम्म चकमन्न भयो। त्यसपछि मैले परमेश्वरको अगाडि उभिरहने सात जना स्वर्गदूत देखें। उनीहरूलाई सातवटा तुरही दिइएका थिए। सुनको धुपौरो बोकेको अर्को एक जना स्वर्गदूत आएर वेदीनेर उभिए। परमेश्वरका भक्तजनका प्रार्थनासँग सिंहासन अघिको सुनको वेदीमा चढाउन उनलाई धेरै सुगन्धित धूप दिइएको थियो। परमेश्वरको अगाडि खडा रहेका स्वर्गदूतका हातबाट जलिरहेका धूपको धुवाँ परमेश्वरका भक्तजनहरूका बिन्ती-प्रार्थनाहरूसँग उँभो उठिरहेको थियो। यसपछि ती स्वर्गदूतले धुपौरो लिएर त्यसमा वेदीको आगो भरे र पृथ्वीमा फ्याँकिदिए अनि गड्याङ्-गुडुङको आवाज आयो। बिजुली चम्क्यो र भूइँचालो गयो। त्यसपछि ती सातवटा तुरही हुने सात जना स्वर्गदूत तुरही फुक्न तयार भए। पहिलो स्वर्गदूतले तुरही फुके अनि रगतसित मिसिएको असिना र आगो पृथ्वीमा बर्सियो। यसले गर्दा पृथ्वीको तेस्रो भाग, रूखहरूको तेस्रो भाग र सबै हरिया घाँसको तेस्रो भाग डढ्यो। यसपछि दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके र आगो लागेको पर्वतजस्तो देखिने केही कुरा समुद्रमा फालियो अनि समुद्रको तेस्रो भाग रगतै भयो। समुद्रको तेस्रो भागका सबै जीवित प्राणीहरू मरे र जहाजहरूको तेस्रो भाग पनि नष्ट भयो। यसपछि तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके र आकाशबाट राँकोजस्तो जलिरहेको एउटा ठूलो तारा खस्यो। त्योचाहिँ नदीहरूको तेस्रो भाग र पानीको मुहानहरूमा खस्यो। त्यो ताराको नाउँ “तिक्तता” भनियो र त्यसले पानीको तेस्रो भाग सबै तीतो बनायो र त्यो तीतो पानी खाएर धेरै मानिसहरू मरे। त्यसपछि चौथो स्वर्गदूतले आफ्नो तुरही फुके अनि घाम, जून र ताराहरूको तीन भागको एक भागमाथि प्रहार पर्यो र तिनीहरूको एक तिहाइ ज्योति हरायो। यसरी दिन र रातको एक तिहाइ भाग अँध्यारो रहन्थ्यो। त्यसपछि मैले हेरें र आकाशमा उडिरहेको एउटा ठूलो गरुडले यसो भनेको मैले सुनें, “हाय! कस्तो डरको कुरा! किनभने बाँकी रहेका तीन स्वर्गदूतले आफ्ना-आफ्ना तुरही फुकेको आवाज निस्कँदा पृथ्वीमा मानिसहरूलाई कस्तो विपद् आइपर्ने हो?”
प्रकाश 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 8:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू