YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 9:1-12

भजनसंग्रह 9:1-12 सरल नेपाली

हे परमप्रभु! म आफ्‍नै सारा हृदयले तपाईंको प्रशंसा गर्नेछु, तपाईंका सारा उदेकका कामबारे म भन्‍नेछु। तपाईंको कारण म आनन्‍दले गाउनेछु, हे सर्वशक्तिमान् परमेश्‍वर! म तपाईंको प्रशंसाको गीत गाउनेछु। तपाईं देखा पर्नुहुँदा मेरा बैरीहरू भाग्‍दछन्, तिनीहरू भूइँमा लड्छन् र मर्छन्। धर्म र इमानदारीसाथ तपाईंले न्‍याय गर्नुहुन्‍छ, तपाईंले मेरो पक्षमा न्‍याय गर्नुभएको छ। तपाईंले अविश्‍वासीहरूलाई दोषी ठहराउनुभएको छ, तपाईंले दुष्‍टहरूलाई नाश पार्नुभएको छ। अब कसैले तिनीहरूलाई याद गर्दैनन्। सदाको लागि हाम्रा बैरीहरू नाश भएका छन्। तपाईंले तिनीहरूका सहरहरू नाश पार्नुभएको छ, सबैले तिनीहरूलाई पूर्णरूपमा बिर्सिसकेका छन्। तर परमप्रभु सदाको लागि राजा हुनुहुन्‍छ, उहाँले न्‍याय गर्न आफ्‍नो सिंहासन तयार पार्नुभएको छ। उहाँले धर्मसित संसारमाथि राज्‍य गर्नुहुन्‍छ, उहाँले न्‍यायसँग जातिहरूको न्‍याय गर्नुहुन्‍छ। सताइएकाहरूले परमप्रभुमा शरण पाउँदछन्, कष्‍टका समयमा उहाँमा रक्षा पाउँछन्। हे परमप्रभु! तपाईंलाई चिन्‍नेहरूले तपाईंमा भरोसा राख्‍छन्, तपाईंमा शरण लिनेहरूलाई तपाईंले छोड्‍नुहुन्‍न। सियोनमा राज्‍य गर्नुहुने परमप्रभुको प्रशंसा गाओ, सबै जातिहरूलाई उहाँको कामबारे भन। परमेश्‍वरले कष्‍टमा परेकाहरूलाई याद गर्नुहुन्‍छ, उहाँले तिनीहरूको पुकार भुल्‍नुहुन्‍न र तिनीहरूलाई कष्‍ट दिनेहरूलाई उहाँले दण्‍ड दिनुहुन्‍छ।

भजनसंग्रह 9 पढ्नुहोस्