YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 78:34-55

भजनसंग्रह 78:34-55 सरल नेपाली

उहाँले तिनीहरूमध्‍ये कतिलाई मार्नुभएपछि अरूहरू उहाँतिर फर्कन्‍थे, तिनीहरूले पश्‍चात्ताप गरेर भक्तिसित उहाँलाई प्रार्थना गर्थे। तिनीहरूले याद गर्थे, “परमेश्‍वर हाम्रा रक्षक हुनुहुन्‍छ र सर्वशक्तिमान् प्रभुले हाम्रो मद्दत गर्नुभयो।” तर तिनीहरूका शब्‍दहरू सबै झूटा थिए, तिनीहरूले भनेका कुनै कुरा सत्‍य थिएन। तिनीहरूको उहाँमाथि भक्ति थिएन, उहाँसँग गरेका करारप्रति तिनीहरू विश्‍वासयोग्‍य रहेनन्। तर परमेश्‍वरले आफ्‍ना प्रजालाई दयामाया गर्नुभयो, तिनीहरूका पाप उहाँले माफ गर्नुभयो र तिनीहरूलाई नाश पार्नुभएन। धेरै चोटि उहाँले आफ्‍नो क्रोधलाई रोक्‍नुभयो र रिस थाम्‍नुभयो। तिनीहरू हावाजस्‍तो बहिजाने र मरिजाने मानिस मात्र हुन् भनी उहाँले याद गर्नुभयो। मरुभूमिमा कतिपल्‍ट तिनीहरूले उहाँसँग विद्रोह गरे, कतिपल्‍ट उहाँलाई दु:खित पारे। घरीघरी तिनीहरूले परमेश्‍वरको परीक्षा गरे र इस्राएलका पवित्र परमेश्‍वरलाई कष्‍टमा पारे। तिनीहरूले उहाँको महान् शक्ति र उहाँले तिनीहरूलाई आफ्‍ना शत्रुहरूदेखि बचाउनुभएको दिनलाई भुले। मिश्रदेशमा सोअनको मैदानमा उहाँले गर्नुभएको पराक्रम र उदेकका कामहरू तिनीहरूले भुले। उहाँले नदीलाई रगतमा बदल्‍नुभयो र मिश्रीहरूले पिउने पानी पाएनन्। उहाँले तिनीहरूका बीचमा सताउन झिँगाहरू र जमिन नष्‍ट पार्नलाई भ्‍यागुताहरू पठाउनुभयो। उहाँले तिनीहरूका अन्‍नबाली खाएर खेतबारी नाश गर्नलाई सलहहरू पठाउनुभयो। उहाँले तिनीहरूका दाखका बोटहरू असिनाले र नेभाराका रूखहरू तुसारोले नाश पार्नुभयो। उहाँले तिनीहरूका गाई-वस्‍तुहरू असिनाले र तिनीहरूका भेडा-बाख्राहरू चट्याङले मार्नुभयो। उहाँले मृत्‍युका दूतझैँ गरी आफ्‍नो रिस र डरलाग्‍दो क्रोध खनाएर तिनीहरूलाई ठूलो कष्‍टमा पार्नुभयो। उहाँले आफ्‍नो रिस थाम्‍नुभएन वा तिनीहरूको ज्‍यान बचाउनुभएन, तर महामारीले तिनीहरूलाई मार्नुभयो। उहाँले सबै मिश्री परिवारहरूका जेठा छोराहरूलाई मार्नुभयो। त्‍यसपछि एउटा गोठालाले झैँ उहाँले आफ्‍ना प्रजालाई डोर्‍याउनुभयो र मरुभूमिमा तिनीहरूको अगुवाइ गर्नुभयो। उहाँले तिनीहरूलाई कुशलसाथ डोर्‍याउनुभयो र तिनीहरू डराएनन्, तर तिनीहरूका शत्रुमाथि समुद्र बगेर ओर्लिआयो। उहाँले तिनीहरूलाई आफ्‍नो पवित्र देशमा, आफैंले विजय गर्नुभएका पहाडहरूमा ल्‍याउनुभयो। आफ्‍नो प्रजा अघि बढ्दा उहाँले त्‍यहाँका बासिन्‍दाहरूलाई धपाउनुभयो; उहाँले तिनीहरूका जमिन इस्राएली कुलहरूका बीचमा बाँडिदिनुभयो र तिनीहरूका घरहरू आफ्‍ना प्रजालाई दिनुभयो।

भजनसंग्रह 78 पढ्नुहोस्