जब परमेश्वरले तिनीहरूलाई मार्नुभयो, तिनीहरूले उहाँको खोजी गरे, तिनीहरू फेरि यत्नसाथ उहाँतिर फर्के।
तिनीहरूलाई याद भयो कि परमेश्वर तिनीहरूको चट्टान,
र सर्वोच्च परमेश्वर तिनीहरूका उद्धार गर्ने हुनुहुँदोरहेछ।
तर त्यसपछि तिनीहरूले ओठले मात्र उहाँको खुशामद गरे,
र आफ्ना जिब्राले तिनीहरूले उहाँसित झूट बोले।
तिनीहरूका हृदय उहाँप्रति ईमानदार थिएनन्, उहाँको करारप्रति तिनीहरू विश्वस्त रहेनन्।
तापनि उहाँचाहिँ दयालु हुनुभएकोले उहाँले तिनीहरूका अपराध क्षमा गर्नुभयो,
र तिनीहरूलाई नष्ट पार्नुभएन। बारम्बार उहाँले आफ्नो क्रोध रोक्नुभयो,
र उहाँले आफ्नो सम्पूर्ण क्रोध उत्तेजित पार्नुभएन।
उहाँले यही सम्झनुभयो, कि तिनीहरू त शरीर मात्र हुन्, जो सासजस्तो निस्कन्छ र फर्किआउँदैन।
कति पल्ट तिनीहरू मरुभूमिमा उहाँको विरुद्ध विद्रोही भए,
र उजाड-स्थानमा उहाँलाई दु:खित तुल्याए।
तिनीहरूले घरीघरी उहाँको परीक्षा गरे,
र इस्राएलका परमपवित्रलाई क्रुद्ध तुल्याए
तिनीहरूले उहाँको शक्तिलाई स्मरण गरेनन्, त्यस दिनको पनि सम्झना गरेनन्, जुन दिन उहाँले मोल तिरेर तिनीहरूलाई तिनका अत्याचारीहरूबाट छुटकारा दिनुभयो,
जुन दिन उहाँले मिश्रदेशमा आफ्ना चिन्ह देखाउनुभयो,
र सोअनको मैदानमा आश्चर्यकर्महरू गर्नुभयो।
उहाँले तिनीहरूका नदीहरू रगतमा परिणत गरिदिनुभयो,
र तिनीहरूले नदीको पानी पिउन सकेनन्।
उहाँले तिनीहरूका बीचमा झीँगाहरू पठाउनुभयो, जसले तिनीहरूलाई टोके,
र भ्यागुताहरू, जसले तिनीहरूलाई उजाड पारे।
उहाँले तिनीहरूका फसल फटेंग्राहरूलाई दिनुभयो,
र तिनीहरूका परिश्रमको फल सलहलाई।
उहाँले तिनीहरूका अंगूरका बोटहरू असिनाले,
र तिनीहरूका अञ्जीरका बोटहरू तुसारोले नष्ट गरिदिनुभयो।
उहाँले तिनीहरूका गाईबस्तुको बथानलाई असिनाले,
र तिनीहरूका भेड़ाबाख्राको बगाललाई बिजुलीले प्रहार गर्नुभयो।
उहाँले तिनीहरूलाई आफ्नो प्रचण्ड, क्रोध, कोप, रीस र शत्रुता— अर्थात् विनाशकारी दूतहरूको एक दल पठाउनुभयो।
उहाँले आफ्नो क्रोधको एउटा मार्ग तयार गर्नुभयो,
र तिनीहरूलाई मृत्युबाट बचाउनुभएन, तर तिनीहरूका प्राण महामारीलाई सुम्पनुभयो।
उहाँले मिश्रदेशका सबै ज्येष्ठ सन्तानलाई, हामका पालमा जवानीको पहिलो फललाई मार्नुभयो।
तर उहाँले आफ्ना मानिसहरूलाई भेड़ाहरूलाई झैँ बाहिर निकालिल्याउनुभयो, र उहाँले तिनीहरूलाई भेड़ाको बगाललाई झैँ उजाड-स्थानको बीचबाट अगुवाइ गर्नुभयो।
उहाँले तिनीहरूलाई सुरक्षासाथ डोर्याउनुभयो, यसैले तिनीहरू डराएनन्। तर तिनीहरूका शत्रुहरूलाई चाहिँ समुद्रले निल्यो।
यसरी परमेश्वरले तिनीहरूलाई आफ्नो पवित्र भूमिको साँधमा ल्याउनुभयो, त्यही पहाडी देशमा, जो उहाँले आफ्नो दाहिने बाहुलीले जित्नुभएको थियो।
उहाँले जातिहरूलाई तिनीहरूका सामु लखेटिदिनुभयो, अनि उनीहरूका जमिन भाग-भाग गरी पैतृक-सम्पत्तिझैँ इस्राएलीहरूलाई दिनुभयो,
र कुल-कुललाई उनीहरूका पालमा बसाल्नुभयो।