YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 78:1-20

भजनसंग्रह 78:1-20 सरल नेपाली

हे मेरा मानिसहरू हो! मेरो शिक्षा सुन, मेरा कुरामा ध्‍यान देओ। म बुद्धिका कुराहरू भनेर बितेका रहस्‍यहरूका भेद खोलिदिनेछु। हामीले सुनेका र जानेका कुराहरू हाम्रा पुर्खाहरूले भनेका कुराहरू बुझाउनेछु। ती कुराहरू हामी आफ्‍ना छोरा-छोरीहरूबाट लुकाउनेछैनौं, आउँदा पिँढीलाई ती कुरा भन्‍नेछौं। परमप्रभुका शक्ति र महान् कार्यहरू, उहाँका उदेकका कामबारे भन्‍नेछौं। उहाँले इस्राएलीहरूलाई व्‍यवस्‍था दिनुभयो र याकूबका सन्‍तानलाई व्‍यवस्‍था-विधि दिनुभयो। आफ्‍ना छोरा-छोरीहरूलाई उहाँका नियमहरू सिकाउन उहाँले हाम्रा पिता-पुर्खालाई शिक्षा दिनुभयो। त्‍यसरी आउँदो पुस्‍ताले तिनका बारेमा सिक्‍न सकून् र आफ्‍ना सन्‍तानलाई पनि ती सिकाउन सकून्! यसरी तिनीहरूले परमेश्‍वरमाथि भरोसा राख्‍नेछन् र उहाँका कामहरू भुल्‍नेछैनन् र सधैँ उहाँका आज्ञाहरू मान्‍नेछन्। आफ्‍ना पिता-पुर्खाहरूजस्‍ता तिनीहरू विद्रोही र आज्ञा नमान्‍नेहरू बन्‍नेछैनन्। ती पुर्खाहरूका परमेश्‍वरमाथि भरोसा कहिल्‍यै दरिलो थिएन, तिनीहरू उहाँप्रति विश्‍वासयोग्‍य रहेनन्। धनु-काँड लिएका एफ्राइमीहरू लडाइँका दिनमा भागे। तिनीहरूले परमेश्‍वरसँग बाँधेका आफ्‍ना करार राखेनन् र उहाँका नियमहरू पालन गर्न अस्‍वीकार गरे। उहाँले गर्नुभएको काम र आफूले देखेका उहाँका आश्‍चर्यकर्महरू तिनीहरूले भुले। तिनीहरूका पुर्खाहरूले हेर्दाहेर्दै परमेश्‍वरले मिश्रदेशको सोअनको मैदानमा आश्‍चर्यकर्महरू गर्नुभयो। उहाँले समुद्र फटाउनुभयो र त्‍यसको बीच भएर तिनीहरूलाई डोर्‍याउनुभयो। पानीलाई पर्खालजस्‍तो भएर खडा रहन लगाउनुभयो। दिउँसो बादलले र राती आगोको उज्‍यालोले तिनीहरूलाई बाटो देखाउनुभयो। उहाँले मरुभूमिमा चट्टान फुटाउनुभएर त्‍यसका गहिराइदेखि तिनीहरूलाई पिउने पानी दिनुभयो। उहाँले चट्टानदेखि एउटा खोला फुटाई निकाल्‍नुभयो र नदीझैँ पानी बहाउनुभयो। तर तिनीहरूले परमेश्‍वरका विरुद्धमा पाप गरिरहे र मरुभूमिमा सर्वोच्‍च परमेश्‍वरसँग विद्रोह गरे। आफूले भोजन मागेर तिनीहरूले जानी-जानी परमेश्‍वरको जाँच गरे। तिनीहरूले परमेश्‍वरका विरुद्धमा कुरा गर्दै यसो भने, “के परमेश्‍वरले मरुभूमिमा भोजन दिन सक्‍नुहुन्‍छ? यो कुरा साँचो हो कि उहाँले चट्टानलाई हिर्काउनुभयो र त्‍यहाँबाट पानीको मूल फुटेर निस्‍क्‍यो, तर के उहाँले हामीलाई रोटी र यी आफ्‍ना प्रजालाई मासु दिन सक्‍नुहोला र?”

भजनसंग्रह 78 पढ्नुहोस्