हे परमेश्वर! तपाईंको धार्मिकताअनुसार न्याय गर्न राजालाई सिकाउनुहोस्, आफ्नो न्यायबारे उनलाई पनि सिकाउनुहोस्। तब उनले तपाईंका प्रजामाथि न्यायसँग राज्य गर्नेछन् र सताइएकाहरूमाथि धार्मिकताका साथ शासन गर्नेछन्। देशले फलिफापको आनन्द गरोस् र धार्मिकताको स्वाद चाखोस्। राजाले नियमसँग दरिद्रहरूको विचार गरून्, उहाँले अभावमा परेकाहरूलाई सहायता गरून् र तिनीहरूलाई सताउनेहरूको हार गराऊन्। जबसम्म घाम चम्किन्छ र जूनले ज्योति दिन्छ, तपाईंका प्रजाले तपाईंलाई पुजून्, आउने युग-युगसम्म तिनीहरूले तपाईंलाई पुजून्। राजा जमिनमा झर्ने झरी होऊन् र बारीमा पर्ने वर्षाझैँ होऊन्। उनको जीवनकालमा धार्मिकता फैलिओस्, जबसम्म जूनले ज्योति दिन्छ, देशमा फलिफाप होइरहोस्। यूफ्रेटिस नदीदेखि पृथ्वीको अन्तसम्म एक समुद्रदेखि अर्को समुद्रसम्म उनको राज्य फैलिनेछ। मरुभूमिका जातिहरूले उनको सामु दण्डवत् गर्नेछन्, उनका शत्रुहरू भूइँमा पस्रनेछन्। तर्शीश र टाढाका सामुद्रिक किनाराका राजाहरूले उनीकहाँ कर ल्याउनेछन्, शेबा र सेबाका राजाहरूले उनलाई भेटी चढाउनेछन्। सबै राजाहरू उनको अघि निहुरनेछन् सबै जातिहरूले उनको सेवा गर्नेछन्। उनलाई पुकार्ने दरिद्रहरूलाई उनले बचाउँछन्, उनले अभावमा परेकाहरू र हेला गरिएकाहरूको रक्षा गर्छन्। कमजोर र गरीबलाई उनले टिठ्याउँछन्, उनले अभावमा परेकाहरूको प्राण बचाउँछन्। उनले सतावट र हिँसादेखि तिनीहरूको रक्षा गर्छन्, उनको निम्ति तिनीहरूको जीवन बहुमूल्य छन्। राजा दीर्घायु होऊन्! शेबा देशका सुन उनले पाऊन्! सबै समय उनको निम्ति प्रार्थना चढाइयोस्, उनमाथि सधैँभरि परमेश्वरको आशीर्वाद रहोस्। देशमा प्रशस्त अन्न उब्जिओस्, डाँडाहरू अन्नबालीले भरिऊन्, ती लेबनानका डाँडाझैँ फलफूलले ढाकिएका होऊन्। घाँसले ढाकेका मैदानझैँ सहरहरू मानिसले भरिऊन्। कसैले कहिल्यै राजाको नाम नभुल, उनको कीर्ति सूर्यझैँ अटल रहोस्। सबै जाति-जातिहरूले उनमा परमेश्वरको आशिष् पाऊन् र तिनीहरूले राजालाई शुभकामना देऊन्।
भजनसंग्रह 72 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 72:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू