हे परमेश्वर, राजालाई तपाईंको न्यायले युक्त पार्नुहोस्, र राजपुत्रलाई तपाईंको धार्मिकताले। उनले तपाईंको प्रजालाई धार्मिकतासाथ न्याय गर्नेछन्, तपाईंका पीडित जनहरूलाई न्यायसाथ इन्साफ गर्नेछन्। डाँड़ाहरूले मानिसहरूका निम्ति समृद्धि ल्याउनेछन्, र पहाड़हरूले धार्मिकताको फल ल्याउनेछन्। उनले मानिसहरूमध्येका पीडितलाई रक्षा गर्नेछन्, र दरिद्रका छोराछोरीहरूलाई बचाउनेछन्, उनले अत्याचारीलाई दमन गर्नेछन्। घाम र जून रहुञ्जेल सारा पुस्ताभरि उनी बाँचिरहनेछन्। उनी काटिएको चउरमा परेको वर्षाझैँ हुनेछन्, पृथ्वीलाई सिँचाइ गर्ने झरीझैँ। उनको राज्यकालमा धर्मीहरूको फलिफाप हुनेछ, र जून रहुञ्जेल उन्नति प्रशस्त हुनेछ। उनले एउटा समुद्रदेखि अर्को समुद्रसम्म, र यूफ्रेटिस नदीदेखि पृथ्वीको सीमान्तसम्मै राज्य गर्नेछन्। मरुभूमिका जातिहरू उनको सामने झुक्नेछन्, र उनका शत्रुहरूले धूलो चाट्नेछन्। तर्शीश र टाढ़ाका सामुद्रिक किनारका राजाहरूले उनीकहाँ कर ल्याउनेछन्, शेबा र सेबाका राजाहरूले उनलाई भेटी चढ़ाउनेछन्। सबै राजाहरू उनको अगाडि घोप्टो पर्नेछन्, र सबै जातिहरूले उनको सेवा गर्नेछन्। किनकि दरिद्रहरूलाई, जसले पुकारा गर्छन्, र सहायता नपाएका गरीबहरूलाई उनले उद्धार गर्नेछन्। कमजोर र दरिद्रलाई उनले टिठ्याउनेछन्, र दरिद्रहरूको प्राण बचाउनेछन्। अत्याचार र हिंसाबाट उनले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछन्, किनकि उनको दृष्टिमा तिनीहरूको रगत बहुमूल्य छ। उनी दीर्घायु होऊन्, शेबाको सुन उनलाई भेटीस्वरूप दिइओस्। उनको निम्ति मानिसहरू निरन्तर प्रार्थना गरून्, दिनभरि तिनीहरूले उनलाई धन्यका भनून्। देशभरि अन्न भरिपूर्ण होस्, डाँड़ाका टाकुराहरूमा त्यो लहलह होस्। त्यसको फल लेबनानझैँ फस्टाओस्, त्यो जमिनको घाँसझैँ मौलाओस्। उनको नाउँ सदा रहिरहोस्, उनको कीर्ति सूर्यझैँ निरन्तर रहोस्। सबै जाति-जातिहरूले उनीद्वारा आशिष् पाउनेछन्, र तिनीहरूले उनलाई धन्यका भन्नेछन्।
भजनसंग्रह 72 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 72
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 72:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू