YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 69:16-36

भजनसंग्रह 69:16-36 सरल नेपाली

तपाईंको अटुट प्रेमबाट पाइने भलाइमा, हे परमप्रभु, मलाई उत्तर दिनुहोस्, तपाईंको महान् प्रेममा मतिर फर्कनुहोस्! आफ्‍नो दासदेखि आफैंलाई नलुकाउनुहोस्, म ठूलो कष्‍टमा छु; मलाई अहिले उत्तर दिनुहोस्। मकहाँ आउनुहोस् र मलाई बचाउनुहोस्, मेरा शत्रुहरूदेखि मेरो रक्षा गर्नुहोस्। तपाईं जान्‍नुहुन्‍छ कि कसरी मेरो अपमान भएको छ, कसरी मेरो बदनाम र बेइज्‍जत भएको छ। तपाईंले मेरा सबै बैरीहरू देख्‍नुहुन्‍छ। अपमान भएर मेरो हृदय टुटेको छ र मेरो मनमा पीडा छ। मैले मायाको आशा गरेको थिएँ तर पाइनँ, सान्‍त्‍वनाको आशा राखेको थिएँ, त्‍यो पनि पाइनँ। म भोकाउँदा तिनीहरूले मलाई विष दिए, तिर्खाउँदा सिर्का पिउन दिए। तिनीहरूका भोजले तिनीहरूकै नाश गरोस्, तिनीहरूका पवित्र भोजले तिनीहरूको पतन होस्। तिनीहरूलाई अन्‍धा पार्नुहोस्। तिनीहरूका ढाड कुप्रिरहोस्। आफ्‍नो रिस तिनीहरूमाथि खन्‍याउनुहोस्, तपाईंको क्रोधले तिनीहरूलाई विह्वल पारोस्। तिनीहरूका तम्‍बुमा कोही पनि जिउँदो नछोडिओस् र तिनीहरूका पाल रित्तै होस्। जसलाई तपाईंले दण्‍ड दिनुभएको छ, तिनीहरूलाई उनीहरूले खेदो गर्छन्, जसलाई तपाईंले घाइते बनाउनुभएको छ, तिनीहरूका दु:खका बारेमा उनीहरूले कुरा गर्छन्। तिनीहरूका सबै पापको हिसाब राख्‍नुहोस्, तिनीहरूले तपाईंको उद्धारको केही भाग नपाऊन्। जीवितहरूको पुस्‍तकबाट तिनीहरूका नामहरू मेटिऊन्, तपाईंको प्रजासँग तिनीहरूको गन्‍ती नहोस्। तर म दु:खी र निराश छु, मलाई उठाउनुहोस्, हे परमेश्‍वर! मलाई बचाउनुहोस्! भजन गाएर म परमेश्‍वरको प्रशंसा गर्छु, उहाँलाई धन्‍यवाद चढाएर म उहाँको महान्‌ताबारे उच्‍च स्‍वरले भन्‍नेछु। त्‍यसो गरेकोले परमप्रभुलाई गाईवस्‍तु चढाएको भन्दा वा साँढे होमबलि गरेको भन्दा बढ्ता आनन्‍द दिनेछ। त्‍यो देख्‍दा सताइएकाहरू हर्षित हुनेछन् र परमेश्‍वरलाई पुज्‍नेहरूले उत्‍साह पाउनेछन्, अभावमा परेकाहरूका बिन्‍ती परमप्रभुले सुन्‍नुहुन्‍छ र कैदमा परेका आफ्‍ना प्रजालाई भुल्‍नुहुन्‍न। स्‍वर्ग, पृथ्‍वी, समुद्र र त्‍यहाँ भएका सारा सृष्‍टिले परमेश्‍वरको प्रशंसा गर। उहाँले यरूशलेमलाई बचाउनुहुनेछ, यहूदाका सहरहरू फेरि बनाउनुहुनेछ। उहाँका प्रजा त्‍यहाँ बास गर्नेछन् र त्‍यस ठाउँमाथि अधिकार गर्नेछन्। उहाँका दासका छोरा-नातिहरूले त्‍यस देशमा अधिकार गर्नेछन्, उहाँलाई प्रेम गर्नेहरू त्‍यहाँ बास गर्नेछन्।

भजनसंग्रह 69 पढ्नुहोस्