YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 65:1-13

भजनसंग्रह 65:1-13 सरल नेपाली

हे परमेश्‍वर! हामीले तपाईंलाई सियोनमा प्रशंसा गर्नु र तपाईंसित गरेका प्रतिज्ञाहरू पूरा गर्नु उचित छ किनभने तपाईंले प्रार्थनाहरूका उत्तर दिनुहुन्‍छ। सबै ठाउँका मानिसहरू आफ्‍ना पापले गर्दा तपाईंकहाँ आउनेछन्। आफ्‍ना दोषले हाम्रो हार हुँदछ, तर तपाईंले ती माफ गरिदिनुहुन्‍छ। जसलाई तपाईंले चुन्‍नुहुन्‍छ र आफ्‍नो पवित्रस्‍थानमा बास गर्न ल्‍याउनुहुन्‍छ, तिनीहरू खुसी रहन्‍छन्। तपाईंको घरका असल कुराहरूले, तपाईंको पवित्र मन्‍दिरका आशिष्‌ले हामीलाई सुख सन्‍तोष दिन्‍छन्। हामीलाई विजय दिनुभएर तपाईंले जवाफ दिनुहुन्‍छ र हामीलाई बचाउन तपाईंले उदेकका कुराहरू गर्नुहुन्‍छ। सारा संसारका मानिसहरू र टाढा-टाढा समुद्रपारिका मानिसहरूले तपाईंमा भरोसा राख्‍छन्। आफ्नो शक्ति-सामर्थ्‍य देखाउनुभएर तपाईंले पर्वतहरूलाई ठाउँ-ठाउँमा बसाल्‍नुभयो। समुद्रका गर्जन र छालका आवाज तपाईंले शान्‍त गराउनुहुन्‍छ। मानिसहरू चिच्‍च्‍याएर कराएका पनि तपाईंले नै शान्‍त गराउनुहुन्‍छ। तपाईंले गर्नुभएका महान् कामहरू देखेर सारा संसार भय मान्‍दै उभिएको छ, तपाईंका कामले गर्दा पृथ्‍वीका एक कुनादेखि अर्को कुनासम्‍म आनन्‍दको सोर उठ्दछ। तपाईंले भूमिमाथि वर्षा पठाएर त्‍यसको वास्‍ता गर्नुहुन्‍छ, तपाईंले त्‍यसलाई धेरै मलिलो बनाउनुहुन्‍छ। तपाईंले खोला-नालाहरू पानीले भर्नुहुन्‍छ र पृथ्‍वीमा उब्‍जनी दिनुहुन्‍छ। तपाईंले यो काम यस प्रकारले गर्नुहुन्‍छ: तपाईंले जोतिराखेको खेतमा प्रशस्‍त पानीको वर्षा पठाएर त्‍यसलाई भिजाउनुहुदँछ, त्‍यसरी वर्षाले जमिन नरम पारेर कलिला बिरुवाहरू उमार्नुहुन्‍छ। तपाईंको कृपाले कति धेरै फसल पाइन्‍छ! तपाईं जहाँ जानुहुन्‍छ, त्‍यहाँ प्रशस्‍त अन्‍न उब्‍जन्‍छन्। गाई-वस्‍तुले चरन भरिएका हुन्‍छन्, पहाडी पाखाहरू रमाहटले पूर्ण हुन्‍छन्। मैदान भेडा-बाख्राले भरिएका हुन्‍छन्। बेसी गहुँले पूर्ण हुन्‍छ। सारा सृष्‍टिले आनन्‍दले गाउँछन् र स्‍वर मच्‍चाउँछन्।

भजनसंग्रह 65 पढ्नुहोस्