हे परमेश्वर! तपाईंको अटुट प्रेमको कारण मलाई दया गर्नुहोस्, तपाईंको महान् दयाको कारण मेरा पाप मेटाइदिनुहोस्! मेरो सारा दुष्टतालाई धुनुहोस् र मेरा पापदेखि मलाई शुद्ध पार्नुहोस्! म मेरा दोषहरू मान्दछु, म सधैँ आफ्ना पापहरू थाहा पाउँछु। मैले तपाईंको विरुद्धमा; तपाईंको विरुद्धमा मात्रै; पाप गरेको छु र जे कुरा तपाईंले खराब मान्नुहुन्छ, ती गरेको छु। यसैले तपाईंले मेरो न्याय गर्नुभएको ठीक छ र मलाई दोषी ठहराउनुभएको उचित ठान्दछु। गर्भमा मेरो रचना भएको दिनदेखि म दुष्ट रहेको छु, त्यही दिनदेखि म पापी भएको छु। तपाईंले सत्यता र इमानदार चाहनुहुन्छ, आफ्नो बुद्धिले मेरो मन भरिदिनुहोस्। मेरो पाप हटाइदिनुहोस् र म शुद्ध हुनेछु, मलाई धुनुहोस् र हिउँभन्दा सेतो हुनेछु। हर्ष र आनन्दका आवाजहरू म सुन्न पाऊँ र तपाईंले मलाई चुर-चुर पार्नुभएको भए पनि म फेरि हर्षित हुनेछु। मेरा पापदेखि आफ्ना आँखा बन्द गर्नुहोस् र ममा भएका सबै खराब कुराहरू मेटाउनुहोस्। हे परमेश्वर! मभित्र एउटा शुद्ध हृदय सृजना गर्नुहोस् र एउटा नयाँ र भक्तिको आत्मा ममा बसाल्नुहोस्। आफ्नो उपस्थितिदेखि मलाई नधपाउनुहोस्, मबाट तपाईंको पवित्र आत्मा नहटाउनुहोस्। तपाईंको मुक्तिबाट पाइने आनन्द मलाई फेरि दिनुहोस् र मलाई तपाईंको आज्ञा मान्ने इच्छा दिनुहोस्। तब म पापीहरूलाई तपाईंका आज्ञा सिकाउनेछु र तिनीहरू तपाईंतर्फ फर्कनेछन्। मेरो प्राण जोगाउनुहोस्, हे परमेश्वर, मलाई बचाउनुहोस् र म खुसीसाथ तपाईंको धार्मिकताबारे उच्च सोरले भन्नेछु। परमप्रभु! मलाई बोल्न सहायता गर्नुहोस् र म तपाईंको प्रशंसा गर्नेछु। तपाईं बलिदान चाहनुहुन्न, नत्र त म सो चढाउनेथिएँ, होमबलिसँग तपाईं खुसी हुनुहुन्न। चुर्ण आत्मा नै मेरो बलिदान हो, हे परमेश्वर। नम्र र पश्चात्तापी हृदयलाई तपाईं इन्कार गर्नुहुन्न। हे परमेश्वर! सियोनमाथि दयालु हुनुहोस् र त्यसलाई मद्दत गर्नुहोस्, यरूशलेमका पर्खालहरू फेरि बनाउनुहोस्। तब उचित बलिदानहरूसँग तपाईं खुसी हुनुहुनेछ र होमबलिहरूसँग सन्तुष्ट हुनुहुनेछ र तपाईंको वेदीमा साँढे बलि चढाइनेछन्।
भजनसंग्रह 51 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 51:1-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू