दुष्ट मानिसका कारणले चिन्तित नहोओ, दुष्कर्म गर्नेहरूसँग डाहा नगर। तिनीहरू सुकिजाने घाँसजस्तै हराउनेछन्; तिनीहरू ओइली जाने झारपातझैँ मर्नेछन्। परमप्रभुमा भरोसा गर र भलाइ गर। देशमा कुशलसँग बास गर। परमप्रभुमा आफ्नो आनन्द खोज र उहाँले तिमीलाई तिम्रो मनले चाहेको कुरा दिनुहुनेछ। आफैंलाई परमप्रभुकहाँ सुम्पिदेऊ, उहाँमा भरोसा राख; उहाँले तिमीलाई सहायता गर्नुहुनेछ। उहाँले मध्यदिनको घामजस्तै तिम्रा धार्मिकतालाई चम्काउनुहुनेछ। धैर्य गर र परमप्रभुलाई काम गर्न देऊ, फलिफाप हुने मानिसका कारणले वा कोही आफ्ना दुष्ट युक्तिमा सफल भएमा चिन्ता नगर, त्यसको कारणले पनि चिन्तित नहोऊ। रिस र चिन्ता नगर, त्यसो गर्नाले कष्ट मात्र पाइन्छ। परमप्रभुमा भरोसा राख्नेहरूले देश आफ्ना हात पार्छन्, तर दुष्टचाहिँ धपाइनेछन्। दुष्टहरू चाँडै हराइजानेछन्; तिमीहरूले तिनीहरूलाई खोजौला तर भेट्टाउनेछैनौ। नम्रहरूले देशमाथि अधिकार गर्नेछन्, तिनीहरूलाई शान्ति र फलिफाप हुनेछ। दुष्ट मानिसले भलो मानिसको विरुद्धमा जाल रच्दछ र घृणाले उसलाई हेर्दछ। तर परमप्रभुले दुष्ट मानिसहरूको हाँसो उडाउनुहुन्छ किनभने तिनीहरूचाहिँ नाश हुनेछन् भनी उहाँले जान्नुहुन्छ। दरिद्र र अभावमा परेका मानिसहरू मार्नलाई र असल काम गर्नेहरूलाई नाश पार्नलाई दुष्टहरूले आफ्ना तरवारहरू निकाल्दछन् र धनु-काँड ताक्दछन्। तिनीहरू आफ्ना तरवारहरूले आफ्नै मुटु छेडिएर मर्नेछन्, तिनीहरूका धनु-काँड चकनाचुर हुनेछन्। भलो मानिससँग भएको थोरै थोक सबै दुष्टहरूले जम्मा गरेका धेरै धनभन्दा बढी हो किनभने परमप्रभुले दुष्टको बल खोस्नुहुनेछ; तर असल मानिसहरूलाई रक्षा गर्नुहुनेछ। परमप्रभुले आफ्ना आज्ञा मान्नेहरूको वास्ता राख्नुहुनेछ र देश सधैँभरि तिनीहरूको अधिकारमा रहनेछ। तिनीहरूले दिन र काल खराब हुँदा कष्ट पाउनेछैनन्, अनिकालको बेलामा तिनीहरूसँग पुग्दो चीजबीज रहनेछन्। तर दुष्टहरू मरिजानेछन्, जङ्गलका फूलहरूझैँ परमप्रभुका शत्रुहरू हराउनेछन् र धुवाँझैँ तिनीहरू बिलाएर जानेछन्। दुष्ट मानिसले ऋण लिएर कहिल्यै फिर्ता दिँदैन, तर भलो मान्छेले मुट्ठी खोलेर दान दिँदछ। परमप्रभुबाट आशिष् पाएकाहरूले देशमाथि अधिकार गर्नेछन्, तर सराप पाएकाहरू भने धपाइनेछन्। परमप्रभुले मानिसलाई ऊ जानुपर्ने बाटोमा डोर्याउनुहुन्छ र जसले उहाँलाई खुसी पार्दछ, उसलाई रक्षा गर्नुहुन्छ। तिनीहरू लडे भने पनि त्यत्तिकै लडिरहनेछैनन् किनभने परमप्रभुले तिनीहरूलाई मद्दत गरेर उठाउनुहुनेछ। म अब बुढो भएको छु, म धेरै दिन बाँचिसकें, तर कहिल्यै पनि कुनै भलो मानिसलाई परमप्रभुले फ्याँक्नुभएको वा तिनका सन्तानले भिख मागेको मैले देखेको छैनँ। भलो मानिसले सबै समय खुला हातले बाँड्छ र ऋण दिन्छ र तिनीहरूका सन्तान आशिषित हुनेछन्। खराबी गर्न छोड र भलाइ गर र तिम्रा सन्तानले सधैँभरि देशमा बास गर्नेछन् किनभने ठीक कुरालाई परमप्रभुले प्रेम गर्नुहुन्छ र आफ्ना विश्वासयोग्य प्रजालाई त्याग्नुहुन्न, उहाँले सधैँ तिनीहरूको रक्षा गर्नुहुन्छ र दुष्टका सन्तानचाहिँ भाग्नुपर्नेछ। धर्मी मानिसले देशमाथि अधिकार गर्नेछ र त्यहाँ सदा बास गर्नेछ। तर भलो मानिसले बुद्धिको कुरा बोल्छ, उसले न्यायको कुरा बोल्छ। उसले आफ्नो हृदयमा परमेश्वरको व्यवस्थालाई राख्दछ र कहिल्यै त्यसलाई छोड्दैन। दुष्ट मानिसले एउटा भलो मानिसलाई हेरिरहन्छ र उसलाई मार्ने चेष्टा गर्दछ। तर परमप्रभुले उसलाई शत्रुको हातमा छोडिदिनुहुन्न वा मुद्दा चलेको बेलामा उसलाई दोषी ठहराउनुहुन्न। तिमीले परमप्रभुमा आशा राख र उहाँका आज्ञा पालन गर। त्यस देशमाथि तिमीलाई अधिकार दिएर उहाँले तिम्रो आदर गर्नुहुनेछ र दुष्टहरू भागेको तिमीले देख्नेछौ। एकपल्ट म एक जना दुष्ट मानिसलाई चिन्दथें, जसले अरूलाई खुबै सताउँथ्यो, लेबनानको देवदारुजस्तै त्यो सबैभन्दा उच्च भएको थियो। तर पछि म त्यहाँबाट भएर जाँदा त्यो त्यहाँ थिएन, मैले त्यसलाई खोजें तर भेट्टाउन सकिनँ। भलो मानिसलाई हेर, धर्मी मानिसलाई ध्यानसित हेर, शान्तिप्रिय मानिसका आफ्ना साखा-सन्तान हुन्छन्। तर पापीहरू नाश भएर जान्छन्। अनि तिनका साखा-सन्तानको नाउँ-निशाना हराएर जान्छ। परमप्रभुले धर्मी मानिसलाई बचाउनुहुन्छ र आपत्को बेलामा तिनीहरूको रक्षा गर्नुहुन्छ। उहाँले तिनीहरूलाई सहायता गर्नुहुन्छ र तिनीहरूको उद्धार गर्नुहुन्छ। दुष्ट मानिसदेखि तिनीहरूलाई बचाउनुहुन्छ किनभने रक्षाको लागि तिनीहरू उहाँको शरण पर्छन्।
भजनसंग्रह 37 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 37:1-40
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू