YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 25:1-22

भजनसंग्रह 25:1-22 सरल नेपाली

हे परमप्रभु! म तपाईंलाई प्रार्थना चढाउँछु, हे मेरा परमेश्‍वर! म तपाईंमा भरोसा गर्छु। हारेर लाजमा पर्नदेखि मलाई बचाउनुहोस्, मेरा शत्रुहरू ममाथि नरमाऊन्। तपाईंलाई भरोसा गर्नेहरूले हार खाँदैनन्, तर तपाईंको विरोध गर्न हतारिनेहरू भने हार्नेछन्। हे परमप्रभु! मलाई तपाईंको बाटोमा हिँड्‍न सिकाउनुहोस्; तपाईंको बाटो मलाई चिनाउनुहोस्। तपाईंको सत्‍यताअनुसार जिउन मलाई सिकाउनुहोस् किनभने मलाई बचाउनुहुने तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ। म सदासर्वदा तपाईंमा भरोसा गर्नेछु। हे परमप्रभु! तपाईंले धेरै समय अघिदेखि देखाउनुभएको आफ्‍ना दया र अटुट प्रेम सम्‍झनुहोस्। मेरा जवानीका पापहरू र भुलहरू क्षमा गर्नुहोस्, तपाईंको अटुट प्रेम र भलाइमा मलाई सम्‍झनुहोस्, हे परमप्रभु! परमप्रभुले पापीहरूलाई हिँड्‍नुपर्ने ठीक बाटोबारे सिकाउनुहुन्‍छ किनभने उहाँ धर्मी र भलो हुनुहुन्‍छ। उहाँले नम्रहरूलाई ठीक बाटोमा डोर्‍याउनुहुन्‍छ र आफ्‍ना इच्‍छाबारे सिकाउनुहुन्‍छ। उहाँका करार मान्‍ने र आज्ञापालन गर्नेहरूलाई उहाँले विश्‍वासयोग्‍यता र प्रेमसाथ डोर्‍याउनुहुन्‍छ। आफ्‍ना प्रतिज्ञा पूरा गर्नुहोस्, हे परमप्रभु र मेरा पापहरू धेरै भए तापनि क्षमा गर्नुहोस्। परमप्रभुका डर मान्‍नेहरू जतिले आफू हिँड्‍ने बाटोबारे उहाँबाट सिक्‍नेछन्, सधैँ तिनीहरूको फलिफाप हुनेछ र तिनका सन्‍तानहरूले देशमा अधिकार गर्नेछन्। परमप्रभु उहाँका आज्ञा मान्‍नेहरूका मित्र हुनुहुन्‍छ र तिनीहरूसँग आफ्‍नो करार कायम गर्नुहुन्‍छ। सबै समय सहायताको लागि म परमप्रभुलाई हेर्दछु र उहाँले मलाई खतरादेखि बचाउनुहुन्‍छ। हे परमप्रभु! मतिर फर्कनुहोस् र मलाई दयामाया देखाउनुहोस् किनभने म एकलो र कमजोर छु। मेरा चिन्‍ता-फिक्री हटाइदिनुहोस्, र मेरा सबै कष्‍टदेखि मलाई बचाउनुहोस्। मेरा दु:ख र कष्‍टमाथि विचार्नुहोस् र मेरा सारा पाप क्षमा गर्नुहोस्। हेर्नुहोस्! मेरा कति शत्रुहरू छन् र तिनीहरूले मलाई कति घृणा गर्छन्। मेरो रक्षा गर्नुहोस् र मलाई बचाउनुहोस्, मेरो हार हुन नदिनुहोस्। सुरक्षाको लागि म तपाईंकहाँ शरण लिंदछु। मेरा भलाइ र इमानदारीले मलाई जोगाइराखून् किनभने म तपाईंमा भरोसा गर्दछु। हे परमेश्‍वर! आफ्‍ना प्रजा इस्राएलीहरूलाई तिनीहरूका सारा कष्‍टदेखि बचाउनुहोस्।

भजनसंग्रह 25 पढ्नुहोस्