भजनसंग्रह 25
25
अगुवाइ र रक्षाको निम्ति प्रार्थना
1हे परमप्रभु! म तपाईंलाई प्रार्थना चढाउँछु,
2हे मेरा परमेश्वर! म तपाईंमा भरोसा गर्छु।
हारेर लाजमा पर्नदेखि मलाई बचाउनुहोस्,
मेरा शत्रुहरू ममाथि नरमाऊन्।
3तपाईंलाई भरोसा गर्नेहरूले हार खाँदैनन्,
तर तपाईंको विरोध गर्न हतारिनेहरू भने हार्नेछन्।
4हे परमप्रभु! मलाई तपाईंको बाटोमा हिँड्न सिकाउनुहोस्;
तपाईंको बाटो मलाई चिनाउनुहोस्।
5तपाईंको सत्यताअनुसार जिउन मलाई सिकाउनुहोस्
किनभने मलाई बचाउनुहुने तपाईं मेरा परमेश्वर हुनुहुन्छ।
म सदासर्वदा तपाईंमा भरोसा गर्नेछु।
6हे परमप्रभु! तपाईंले धेरै समय अघिदेखि देखाउनुभएको
आफ्ना दया र अटुट प्रेम सम्झनुहोस्।
7मेरा जवानीका पापहरू र भुलहरू क्षमा गर्नुहोस्,
तपाईंको अटुट प्रेम र भलाइमा
मलाई सम्झनुहोस्, हे परमप्रभु!
8परमप्रभुले पापीहरूलाई हिँड्नुपर्ने ठीक बाटोबारे सिकाउनुहुन्छ
किनभने उहाँ धर्मी र भलो हुनुहुन्छ।
9उहाँले नम्रहरूलाई ठीक बाटोमा डोर्याउनुहुन्छ
र आफ्ना इच्छाबारे सिकाउनुहुन्छ।
10उहाँका करार मान्ने र आज्ञापालन गर्नेहरूलाई
उहाँले विश्वासयोग्यता र प्रेमसाथ डोर्याउनुहुन्छ।
11आफ्ना प्रतिज्ञा पूरा गर्नुहोस्, हे परमप्रभु
र मेरा पापहरू धेरै भए तापनि क्षमा गर्नुहोस्।
12परमप्रभुका डर मान्नेहरू जतिले
आफू हिँड्ने बाटोबारे उहाँबाट सिक्नेछन्,
13सधैँ तिनीहरूको फलिफाप हुनेछ
र तिनका सन्तानहरूले देशमा अधिकार गर्नेछन्।
14परमप्रभु उहाँका आज्ञा मान्नेहरूका मित्र हुनुहुन्छ
र तिनीहरूसँग आफ्नो करार कायम गर्नुहुन्छ।
15सबै समय सहायताको लागि म परमप्रभुलाई हेर्दछु
र उहाँले मलाई खतरादेखि बचाउनुहुन्छ।
16हे परमप्रभु! मतिर फर्कनुहोस् र मलाई दयामाया देखाउनुहोस्
किनभने म एकलो र कमजोर छु।
17मेरा चिन्ता-फिक्री हटाइदिनुहोस्,
र मेरा सबै कष्टदेखि मलाई बचाउनुहोस्।
18मेरा दु:ख र कष्टमाथि विचार्नुहोस्
र मेरा सारा पाप क्षमा गर्नुहोस्।
19हेर्नुहोस्! मेरा कति शत्रुहरू छन्
र तिनीहरूले मलाई कति घृणा गर्छन्।
20मेरो रक्षा गर्नुहोस् र मलाई बचाउनुहोस्,
मेरो हार हुन नदिनुहोस्।
सुरक्षाको लागि म तपाईंकहाँ शरण लिंदछु।
21मेरा भलाइ र इमानदारीले मलाई जोगाइराखून्
किनभने म तपाईंमा भरोसा गर्दछु।
22हे परमेश्वर! आफ्ना प्रजा इस्राएलीहरूलाई
तिनीहरूका सारा कष्टदेखि बचाउनुहोस्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 25: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.