YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 18:1-15

भजनसंग्रह 18:1-15 सरल नेपाली

हे परमप्रभु! तपाईंलाई म कति प्रेम गर्छु। तपाईं मेरा रक्षक हुनुहुन्‍छ। परमप्रभु मेरो रक्षक हुनुहुन्‍छ; उहाँ मेरो बलियो किल्‍ला हुनुहुन्‍छ। मेरा परमेश्‍वर मेरो रक्षक हुनुहुन्‍छ, उहाँको साथमा म सुरक्षित हुन्‍छु। ढालझैँ उहाँले मलाई रक्षा गर्नुहुन्‍छ, उहाँले मेरो रक्षा गरेर मलाई कुशल राख्‍नुहुन्‍छ। म परमप्रभुलाई पुकार्दछु र उहाँले मलाई मेरा शत्रुहरूदेखि बचाउनुहुन्‍छ। परमप्रभुको प्रशंसा गर! मृत्‍युको खतराले मलाई चारैपट्टि घेरेको थियो, नाशका छालहरू ममाथि उर्लेर आउँदथे। मृत्‍युको खतरा मेरो चारैपट्टि थियो, चिहानले मलाई पर्खिराखेको थियो। विपत्तिमा मैले परमप्रभुलाई पुकारें, मैले मेरा परमेश्‍वरलाई सहायताको निम्‍ति बोलाएँ। आफ्‍नो मन्‍दिरमा उहाँले मेरो सोर सुन्‍नुभयो, मेरो सहायताको पुकार उहाँले सुन्‍नुभयो। त्‍यस बेला पृथ्‍वी काँप्‍यो र थर्कियो, पहाडका जगहरू हल्‍लिए र थरथर कामे किनभने परमेश्‍वर रिसाउनुभएको थियो। उहाँको नाकबाट धुवाँ निस्‍क्‍यो, उहाँको मुखबाट भस्‍म पार्ने ज्‍वाला र कोइलाको बल्‍दो आगो निस्‍क्‍यो। आकाश चिरेर पाउमा कालो बादल लिएर उहाँ आउनुभयो। उहाँ पखेटा भएको प्राणीमा सवार भएर वेगले उड्‍नुभयो, उहाँ बतासको पखेटामा सवार भएर आउनुभयो। उहाँ अँध्‍यारोमा लुक्‍नुभएको थियो, पानीले भरिएका बाक्‍ला बादलले उहाँलाई घेरेका थिए। उहाँको सामु बिजुली चम्‍केर कालो बादललाई चिर्दै असिना र आगाका ज्‍वालाहरू खसे। तब परमप्रभु आकाशबाट गर्जनुभयो र सबैभन्दा सर्वोच्‍च परमेश्‍वरको सोर सुनियो। उहाँले काँड हानेर आफ्‍ना शत्रुहरू छरपष्‍ट पार्नुभयो, बिजुली चम्‍काएर उहाँले तिनीहरूलाई धपाउनुभयो, हे परमप्रभु, जब तपाईंले आफ्‍ना शत्रुहरूलाई हकार्नुभयो, र रिसमा तिनीहरूमाथि गर्जनुभयो, तब सागरका तह र पृथ्‍वीका जगहरू देखा परे।

भजनसंग्रह 18 पढ्नुहोस्