भजनसंग्रह 18:1-15
भजनसंग्रह 18:1-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, मेरो शक्ति, म तपाईंलाई प्रेम गर्दछु। परमप्रभु मेरो चट्टान, मेरो किल्ला र मेरा उद्धारक हुनुहुन्छ। मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु। उहाँ मेरो ढाल, र मेरा शक्तिशाली उद्धारक हुनुहुन्छ, मेरो गढ़। म परमप्रभुलाई पुकार्छु, जो प्रशंसाको योग्य हुनुहुन्छ, अनि म मेरा शत्रुहरूबाट बचाइनेछु। मृत्युका डोरीहरूले मलाई घेरे, विनाशको बाढ़ीले मलाई व्याकुल बनायो। पातालका डोरीहरूले मलाई बेह्रे, मृत्युको पासोले मेरो सामना गर्यो। मेरो आपत्मा मैले परमप्रभुलाई पुकार गरें, र मदतको निम्ति मेरा परमेश्वरलाई हपारें। आफ्नो मन्दिरबाट उहाँले मेरो सोर सुन्नुभयो, मेरो पुकार उहाँको सामु, उहाँका कानमा पुग्यो। पृथ्वीमा कम्पन भयो, अनि भूकम्प गयो, पहाड़हरूका जगहरू हल्लिए। तिनीहरू थरथर कामे, किनभने उहाँ रिसाउनुभएको थियो। उहाँको नाकबाट धूवाँ निस्क्यो, र भस्मकारी अग्नि उहाँको मुखबाट निस्क्यो, जलिरहेको आगोको भुङ्ग्रो त्यसभित्र दन्क्यो। स्वर्गलाई फारेर उहाँ तल ओर्लनुभयो। अँध्यारो बादल उहाँका गोडामुनि थियो। उहाँ करूबहरूमाथि सवार भएर उड्नुभयो, र बतासका पखेटामा सवार भई माथि उड्नुभयो। अन्धकारलाई उहाँले आफ्नो ओढ्ने तुल्याउनुभयो, पानीले काला भइसकेका बाक्ला बादललाई उहाँले आफ्नो मण्डप तुल्याउनुभयो। उहाँका उपस्थितिको उज्ज्वलताबाट असिना र बिजुलीसहित बादलहरू अगि बढ़े। परमप्रभु स्वर्गबाट गर्जनुभयो, र सर्वोच्चको सोर गुञ्जायमान भयो। उहाँले आफ्ना काँड़हरू हान्नुभयो, र शत्रुहरूलाई तितरबितर पारिदिनुभयो, अनि चट्याङद्वारा तिनीहरू अस्तव्यस्त भए। हे परमप्रभु, तपाईंको हप्कीमा, र तपाईंको नाकबाट निस्केको श्वासको विस्फोटले समुद्रका तहहरू देखा परे, र पृथ्वीका जगहरू प्रकट भए।
भजनसंग्रह 18:1-15 पवित्र बाइबल (NERV)
उनले भने, “हे परमप्रभु, म तपाईंलाई प्रेम गर्छु! तपाईं मेरो शक्ति हुनुहुन्छ।” परमप्रभु मेरो चट्टान हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ। मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ। मेरो परमेश्वर, मेरो चट्टान हुनुहुन्छ म उहाँकहाँ सुरक्षाको लागि दगुरेर जान्छु। परमेश्वर मेरो ढाल हुनुहुन्छ उहाँको शक्तिले मलाई बचाउँछ। परमप्रभु उच्च पर्वतहरूमा मेरो सुरक्षास्थान हुनुहुन्छ। मैले सहायताको लागि परमप्रभुलाई बोलाएँ, अनि म मेरो शत्रुहरूबाट बाँचे। तर तिनीहरूले खिल्ली उडाए। मेरा शत्रुहरूले मलाई मार्ने प्रयास गरिरहेका थिए! मृत्युको डोरीले मलाई चारैतिर घेरेको थियो। म बाढीमा फँसेको थिएँ जसले मलाई मृत्युको मुखतिर लगिरहेथ्यो। चिहानको डोरीले मलाई चारैतिर घेरि राखेको थियो, मृत्युको पासो मेरो सम्मुख थियो। म पासोमा फसें, मैले सहयोगको लागि परमप्रभुलाई बोलाएँ। हो, मैले परमेश्वरलाई बोलाएँ। परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थयो उहाँले मेरो स्वर सुन्नभयो। उहाँले मेरो विलापमा गोहारेको सुन्नुभयो। पृथ्वी थर्कियो र काम्यो; पर्वतहरूको जग हल्लियो। किनभने परमप्रभु क्रोधित हुनुहुन्थ्यो! परमेश्वरको नाकको प्वालबाट धुवाँ आयो। परमेश्वरको मुखबाट जल्दै गरेको ज्वाला अनि जल्दै गरेका झिल्काहरू उहाँबाट उडेर निस्कियो। परमप्रभुले आकाश च्याति दिनु भयो, अनि उहाँ तल ओर्लनु भयो! उहाँ बाक्लो, कालो बादलमा उभिनु भयो। परमप्रभु करूब स्वर्गदूतमाथि चढेर आकाश वारिपारि उडनुभयो। उहाँमाथि बतासमा उडिरहनु भएको थियो। परमप्रभु कालो बादलमा लुक्नु भएको थियो जसले उहाँलाई पालले जस्तो घेरेको थियो उहाँ बाक्लो बज्र स्वरूप बादलमा लुक्नु भएको थियो। त्यसपछि, परमेश्वरको तेजिलो चमकले त्यो कालो बादलहरू फटाई दिनुभयो। त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू बर्षिए! परमप्रभु स्वर्गबाट गर्जनु भयो। सर्वोच्च परमेश्वरले उहाँको स्वर सुनिने बनाउनु भयो। त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू बर्षिए। परमप्रभुले आफ्नो काँड हिर्काउनु भयो र शत्रुहरूलाई छरपस्ट पारीदिनु भयो। परमप्रभुले धेरै बज्रहरू फ्याँक्नु भयो अनि मानिसहरू अलमल्ल भएर छरिए। परमप्रभु, तपाईंले आफ्नो आदेश दिनु भयो अनि शक्तिशाली हावा बहन थाल्यो। पानी पछाडी गयो अनि हामीले समुद्रको पिंध देख्न सक्छौं। हामीले पृथ्वीको पिंध देख्न सक्यौं।
भजनसंग्रह 18:1-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमप्रभु! तपाईंलाई म कति प्रेम गर्छु। तपाईं मेरा रक्षक हुनुहुन्छ। परमप्रभु मेरो रक्षक हुनुहुन्छ; उहाँ मेरो बलियो किल्ला हुनुहुन्छ। मेरा परमेश्वर मेरो रक्षक हुनुहुन्छ, उहाँको साथमा म सुरक्षित हुन्छु। ढालझैँ उहाँले मलाई रक्षा गर्नुहुन्छ, उहाँले मेरो रक्षा गरेर मलाई कुशल राख्नुहुन्छ। म परमप्रभुलाई पुकार्दछु र उहाँले मलाई मेरा शत्रुहरूदेखि बचाउनुहुन्छ। परमप्रभुको प्रशंसा गर! मृत्युको खतराले मलाई चारैपट्टि घेरेको थियो, नाशका छालहरू ममाथि उर्लेर आउँदथे। मृत्युको खतरा मेरो चारैपट्टि थियो, चिहानले मलाई पर्खिराखेको थियो। विपत्तिमा मैले परमप्रभुलाई पुकारें, मैले मेरा परमेश्वरलाई सहायताको निम्ति बोलाएँ। आफ्नो मन्दिरमा उहाँले मेरो सोर सुन्नुभयो, मेरो सहायताको पुकार उहाँले सुन्नुभयो। त्यस बेला पृथ्वी काँप्यो र थर्कियो, पहाडका जगहरू हल्लिए र थरथर कामे किनभने परमेश्वर रिसाउनुभएको थियो। उहाँको नाकबाट धुवाँ निस्क्यो, उहाँको मुखबाट भस्म पार्ने ज्वाला र कोइलाको बल्दो आगो निस्क्यो। आकाश चिरेर पाउमा कालो बादल लिएर उहाँ आउनुभयो। उहाँ पखेटा भएको प्राणीमा सवार भएर वेगले उड्नुभयो, उहाँ बतासको पखेटामा सवार भएर आउनुभयो। उहाँ अँध्यारोमा लुक्नुभएको थियो, पानीले भरिएका बाक्ला बादलले उहाँलाई घेरेका थिए। उहाँको सामु बिजुली चम्केर कालो बादललाई चिर्दै असिना र आगाका ज्वालाहरू खसे। तब परमप्रभु आकाशबाट गर्जनुभयो र सबैभन्दा सर्वोच्च परमेश्वरको सोर सुनियो। उहाँले काँड हानेर आफ्ना शत्रुहरू छरपष्ट पार्नुभयो, बिजुली चम्काएर उहाँले तिनीहरूलाई धपाउनुभयो, हे परमप्रभु, जब तपाईंले आफ्ना शत्रुहरूलाई हकार्नुभयो, र रिसमा तिनीहरूमाथि गर्जनुभयो, तब सागरका तह र पृथ्वीका जगहरू देखा परे।