YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:137-160

भजनसंग्रह 119:137-160 सरल नेपाली

परमप्रभु, तपाईं धर्मी हुनुहुन्‍छ, तपाईंका व्‍यवस्‍थाहरू न्‍यायपूर्ण छन्। तपाईंले दिनुभएका व्‍यवस्‍थाहरू सबै प्रकारले ठीक र धार्मिक छन्। मेरो रिस मभित्र आगोजस्‍तै जल्‍दछ किनभने मेरा शत्रुहरूले तपाईंका आज्ञाहरू मान्‍दैनन्। तपाईंको प्रतिज्ञा कति पक्‍का छ, म त्‍यसलाई कति प्रेम गर्दछु! म तुच्‍छ छु र हेलित छु। तर म तपाईंका शिक्षाहरूलाई हेला गर्दिनँ। तपाईंको धार्मिकता सदाकाल रहनेछ र तपाईंको व्‍यवस्‍था सधैँ सत्‍य छ। म कष्‍ट र चिन्‍ताले भरिएको छु, तर तपाईंका आज्ञाले मलाई रमाहट दिँदछ। तपाईंका अर्तीहरू सधैँ न्‍यायपूर्ण छन्, मलाई समझशक्ति दिनुहोस् र म जीवित रहनेछु। म आफ्‍नो पूरा हृदयले तपाईंलाई पुकार्दछु, परमप्रभु, मलाई उत्तर दिनुहोस् र म तपाईंका आज्ञाहरू मान्‍नेछु! म तपाईंलाई पुकार्दछु; मलाई बचाउनुहोस् र तपाईंका व्‍यवस्‍थाहरू पालन गर्नेछु। घाम झुल्‍कनुअघि म तपाईंलाई मद्दतको लागि बिन्‍ती गर्दछु। तपाईंको प्रतिज्ञामा म आशा गर्दछु। रातभरि म तपाईंका शिक्षाहरूमा ध्‍यान गर्न जागा रहन्‍छु। हे परमप्रभु! तपाईंको अनन्‍त प्रेमको कारणले मेरो बिन्‍ती सुन्‍नुहोस्। तपाईंको कृपा देखाउनुहोस् र मेरो जीवनको रक्षा गर्नुहोस्! तपाईंको व्‍यवस्‍था कहिल्‍यै नमान्‍ने र मलाई सताउने निठुरीहरू मेरो नजिक आउँदै छन्। तर तपाईं मेरो नजिक हुनुहुन्‍छ, परमप्रभु! तपाईंका सबै आज्ञाहरू सदा रहिरहनेछन्। उहिले नै मैले तपाईंका अर्तीहरूको शिक्षा पाएँ, तिनलाई तपाईंले अनन्‍तकालको लागि राख्‍नुभएको छ। मेरो दु:ख-कष्‍ट हेर्नुहोस् र मलाई बचाउनुहोस् किनभने मैले तपाईंको व्‍यवस्‍थालाई हेला गरेको छैनँ। मेरो मुद्दाको रक्षा गर्नुहोस् र मलाई छुटकारा दिनुहोस्, आफ्‍नो प्रतिज्ञाअनुसार मलाई बचाउनुहोस्। दुष्‍टहरू बचाइनेछैनन् किनभने तिनीहरूले तपाईंका व्‍यवस्‍थाहरू मान्‍दैनन्। हे परमप्रभु, तपाईंको माया ठूलो छ; तपाईंको कृपा देखाउनुहोस् र मलाई बचाउनुहोस्! मेरा धेरै शत्रु र सताउनेहरू छन्, तर मैले तपाईंका व्‍यवस्‍थाहरू मान्‍न छोडेको छैनँ। जब म ती विश्‍वासघातीहरूलाई हेर्दछु, म विरक्त हुँदछु किनभने तिनीहरू तपाईंका आज्ञाहरू मान्‍दैनन्। हेर्नुहोस्, म तपाईंका शिक्षाहरूलाई कति प्रेम गर्दछु, परमप्रभु! तपाईंको प्रेम कहिल्‍यै बदलिंदैन, यसकारण मलाई बचाउनुहोस्। तपाईंको व्‍यवस्‍था सत्‍य छ र तपाईंका सबै धार्मिक न्‍यायहरू अमर छन्।

भजनसंग्रह 119 पढ्नुहोस्